बबईमा जलस्तर खतरा चिह्नमाथि, सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह- लुम्बिनी - कान्तिपुर समाचार

बबईमा जलस्तर खतरा चिह्नमाथि, सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

कमल पन्थी

बर्दिया — मंगलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा जलस्तर खतराको चिह्नमाथि पुगेको छ । बबई नदीमा जलस्तर ६ दशमलव १० मिटरमाथि बगिरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बबई नदीमा खतराको चिह्नमाथि बग्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए । त्यस क्षेत्रमा सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको उनले जनाए ।

मनसुन पुन: सक्रिय भएपछि लगातारको पानीका कारण बाढी आउने जोखिम बढ्दै गएको छ । पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेकोले जिल्लाबाट बग्ने खोला, नाला र नदी भरिन थालेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले भीषण वर्षा हुने अनुमान गरेपछि तटीय क्षेत्रका सर्वसाधारणलाई सजक रहन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए । तटीय क्षेत्रका पालिकास्थित वडाध्यक्षसँग सम्पर्क राखि सतर्कता रहन र आवश्यक परे प्रशासनको सहयोग लिन आग्रह गरेको प्रजिअ बाँस्तोलाले जनाए ।

०७१ र ०७४ साल साउनको अन्तिम साता आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएकोले यसपाला यस्तो अवस्था नआउन स्थानीय प्रशासनले आग्रह गरेको हो । ०७१ र ०७४ सालमा आएको बाढीले ४० जनाको मृत्यु भएको थियो । त्यस समय जिल्लाको ९० प्रतिशत भूभाग डुबानमा परेको थियो । बाढी र कटान सबैभन्दा बढी जोखिम गुलरिया, राजापुर, मधुवन, ठाकुरबाबा र राजापुर नगरपालिका जोखिममा छ ।

कर्णाली नदीमा जलस्तर भने बढेको छैन । हरेक एक घण्टामा बबई नदीस्थित चेपाङस्थित जलमापन केन्द्रले बाढीको अवस्थाबारे जानकारी जिल्ला प्रशासन कार्यालयमा दिन भनिएको छ ।

प्रकाशित : आश्विन १९, २०७९ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्

बाढीपहिरोले बेंसीसहर-चामे सडक अवरुद्ध

आश गुरुङ

लमजुङ — वर्षाका कारण बाढीपहिरोले बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ । यो सडक मनाङ जाने एकमात्र सडक हो । विजयादशमीको दिन बुधबार बिहान बेंसीसहर नगरपालिका ६, खरखरेमा पहिरो खसेकोमा यसलाई हटाइएको छ ।

अपराह्नतिर मर्स्याङ्दी गाउँपालिका ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो ।

अर्खलेबेंसीदेखि जगतसम्मको बाटो ठाउँठाउँमा पहिरो गएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेंसीसहर–चामे सडकको मनाङ खण्डमा पनि बाढीपहिरोले सडक क्षतविक्षत बनाएको छ । मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका ३, खोत्रोमा बाढीले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । बाढीपहिरोले बाटो बगाउने, पहिरो आउने र बगाउने गर्नाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु बिकका अनुसार बुधबार अपराह्न सवा ४ बजेतिर बेंसीसहर–चामे सडक खण्डको मर्स्याङ्दी गाउँपालिका ४ मा पर्ने अर्खले र जगतबीचको २ ठाउँमा माथिबाट पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मर्स्याङ्दी गाउँपालिकाको उत्तरी क्षेत्र साथै हिमाली जिल्ला मनाङको सिंगो बासिन्दाले सास्ती खेप्नु परेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । ‘पानी परिरहेको छ । राति भएकाले पनि सडक खुलाउन सकिरहेको छैन’ उनले भने । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले सडक खुलाउनको लागि प्रहरी सहित डोजर लगिएकोमा अबिरल वर्षाका कारण बाटो खुलाउन नसकिएको बताए । ‘पानी रोकिनेबित्तिकै सडक खुलाइनेछ,’ उनले भने ।

अबिरल वर्षाका कारण ग्रामीण भेगका सडकमा पनि क्षति पुगेको छ । यसअघि वर्षाका कारण बाढीपहिरो भएर असहज बनेको सडक तथा गोरेटोहरु फेरि बगाउन थालेका प्रहरीले जनाएको छ । दसैंका बेला केही सडकलाई सुधार तथा मर्मत गरिए पनि ती सडकहरु फेरि बगाउन थालेका छन् ।

प्रकाशित : आश्विन १९, २०७९ २०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×