कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

वर्षाले रोल्पाको सहिद मार्ग अवरुद्ध

काशीराम डाँगी

रोल्पा — मंगलबार बेलुकीदेखि लगातार परेको वर्षाले सहिद मार्गअन्तर्गत होलेरी-नुवागाउँ सडक खण्डमा क्षति पुर्‍याएको छ । भाङ्गोबारी नजिकैको सडक क्षेत्रमा पहिरो खसेपछि आवागमन अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार रातभरिको वर्षाले सडकमाथिबाट पहिरो खसेको छ । रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले सहिद मार्ग आयोजना कार्यालयलाई सडक खुलाउन आग्रह गरिएको बताए । दाङको घोराहीदेखि रोल्पा हुँदै उक्त सडक रुकुमसम्म पुगेको छ । सडकमार्फत दैनिक सयौं यातायातका साधन आवतजावत गर्छन् ।

दसैंको अवसरमा आवतजावत गर्न सडक अवरुद्ध भएपछि समस्या भएको हो । मंगलबार बेलुकादेखि रोल्पामा भारी वर्षा भइरहेको छ । अत्यधिक वर्षाले क्षति पुर्‍याउन सक्ने भन्दै जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले नागरिकलाई सचेत हुन र आपत्कालीन अवस्थामा जुट्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

वर्षाले सहिद मार्गकै घोराही दुई खोली-होलेरी खण्डमा पनि पहिरो खसेको छ । यस्तै घर्तिगाउँ-दुइखोली-थवाङ खण्डमा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०७९ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?