कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

पाल्पाको छहरामा तरबार ठोक्काउँदै निकालियो सराय नाच

माधव अर्याल

पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, छहरास्थित ब्रम्हादेवी मन्दिर तिलकथानमा तरबार ठोक्काउँदै सराय नाच निकालिएको छ । यहाँ जिल्लाकै पहिलो पटक सराय निकाल्ने चलन छ । घटस्थापनादेखि महानवमीसम्म ब्रम्हादेवीमा दुर्गा पूजा गरेर कुविन्डो काटेर पुजा बिसर्जन गर्ने चलन रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टिकाराम पोखरेलले बताए ।

पाल्पाको छहरामा तरबार ठोक्काउँदै निकालियो सराय नाच

नवमीका दिनमा पूजा गरेपछि यहाँको दुर्गा पुजा नै सकिने उनले बताए । मगर जातीको पुजारी राखेर नौ दिनसम्म मन्दिरमा दुर्गा पूजा हुन्छ । सराय नाच नाच्ने त्यसपछि दुर्गा बिसर्जन गर्ने प्रचलन रहेको उनले बताए । सराय नाच्न छिमेकी रैनादेवी छहराको अमलाबास, छहरा, धजाबाँध्ने, जौखर्क लगायतका स्थानबाट तिलकथान ब्रम्हादेवी मन्दिरमा पुग्ने गर्छन् ।

स्थानीयले देवीका मन्दिर र कोतघरमा राखिएका खुँडा, भाला, तरबार प्रदर्शन गर्दै 'वाख्यै वाख्यै हो' भन्दै सराय नाच नाच्छन् । बाजाको तालमा स्थानीय युवाहरू सराय नाचेपछि देवी मन्दिरमा पूजा स्थगन गरिन्छ । युवा पुस्ताको आकर्षण बढाउन पनि सराय नाच्ने परम्परालाई कामय गरेको अध्यक्ष पोखरेलले बताए ।

स्थानीयका अनुसार पछिल्लो समय सराय नाच लोप हुने अवस्थामा पुगेको छ । युवाको बसोवास गाउँमा कमैमात्र छ । कतिपयले यसलाई चासो पनि दिँदैनन् । जसले गर्दा सराय खेल्नेको पनि कमी हुन्छ । स्थानीय कमल रायमाझीका अनुसार युवाकै सक्रियतामा बाजाको तालमा सराय नाच देखाइएको हो । छहराकै भैरवमन्दिरमा द्वादशीमा सराय निकाल्ने चलन छ ।

भुवनपोखरीको रैनादेवीकी पाँच बहिनीमध्ये छहराको ब्रम्हादेवी एक भएको स्थानीय लक्ष्मण बरालले बताए । भुवनपोखरीको रैनादेवी, सोमादीको मछिन्दादेवी, छहराको ब्रम्हादेवी, मुझुङको कालिकादेवी र भैरवस्थानको भैरवदेवीलाई दिदीबहिनी भन्ने स्थानीयको प्रचलन छ । भुवनपोखरीमा भने मंसिरमा हुने न्वागीमा रमाइलो गर्ने प्रचलन छ ।

पहिले सांस्कृतिक पर्वका रुपमा सरायलाई लिने चलन थियो । पछिल्लो समयमा युवा गाउँमा नहुने, बसाइसराइँका कारण मानिसहरुको गाउँमा बसोबास कम भएकाले पनि तरबार र खुँडा नचाउने व्यक्ति नहुँदा समस्या छ । जसले गर्दा सराय लोप हुने अवस्थामा पुगेको हो । जिल्लाका अन्य स्थानमा पूर्णिमाको दिन सराय नाच्ने प्रचलन छ । मुझुङको कालिकादेवी, बन्दीपोखराको लिपिन्देवीमा भने पूर्णिमामा सराय नाच नाच्ने चलन छ ।

जिल्लाकै कोतघरहरुमा खुँडा, तरबार नचाउने चलन छ । कतिपय मगर बस्तीका कोतघरमा भने मगरी संस्कृतिको ठूलो नाच नाच्ने, देवीलाई सम्झने गरिन्छ । केही कोतघरमा भने बली दिएर राँगो, खसी, कुखुरा लगायतको टाउको नचाउने, तरबार ठोक्काएर रमाइलो गर्ने पनि प्रचलन रहेको छ ।

तस्बिरहरु : माधव अर्याल र छहराबाट भुवन रायमाझीको सहयोग

प्रकाशित : आश्विन १९, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?