कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंमा टिकट नपाउँदा कर्णालीका यात्रु अलपत्र

रुपा गहतराज

नेपालगन्ज — डोल्पाका चन्द्रखर बुढा दुई हप्तादेखि नेपालगन्ज विमानस्थलको होटलमा बसिरहेका छन् । उपचारका लागि काठमाडौं गएका उनी नेपालगन्ज हुँदै डोल्पा जान आएका हुन् । तर‚ अहिलेसम्म टिकट  पाएका छैनन् । दैनिक टिकटका लागि हारगुहार गरे पनि आफूले टिकट पाउन नसकेको उनले बताए ।

दसैंमा टिकट नपाउँदा कर्णालीका यात्रु अलपत्र

‘न त हाम्रा नेता छन् । न हामीले भनेको कसैले मान्छन्‚’ उनले भने, ‘उपचार खर्च र होटल खर्चमै पैसा सकियो; अझै घर जाने ठेगान छैन ।’ बुढा दसैं मान्न घर जाँदैछन्। जहाजको टिकट नपाएपछि उनी विमानस्थल नजिकैको होटलमा बसिरहेका छन् ।

दुई वर्षको छोरोलाई लिएर एक हप्तादेखि होटलमा बसिरहेकी डोल्पाकी अन्जु बुढालाई छोराले घर जाउँ भनेर सताइरहेको छ । उपचारका लागि काठमाडौं गएकी अन्जुको पनि उस्तै अवस्था छ । उनले अझैसम्म घर जाने टिकट पाएकी छैनन् । ‘यति सानो छोरो छ । जति हारगुहार गरे पनि सिट छैन भन्दै फर्काउँछन्‚’ उनले भनिन्, ‘वर्षदिनको चाडबाड दसैंमा घर जान पाएका छैनौँ ।’

विमानस्थल नजिकै होटल सञ्चालन गरिरहेका विष्णुबहादुर रोकायले चाडबाडमा समेत टिकट नपाउँदा कर्णालीवासीले समस्या झेल्नुपरेको बताए । टिकटका लागि कुर्दाकुर्दै यात्रुको होटल खर्चसमेत सकिन लागेको उनले बताए ।

‘पावर भएका व्यक्तिले टिकट पाउँछन् । भनसुन गर्नेको मात्र कुरा सुन्छन्,’ होटल सञ्चालक रोकायले भने, ‘होटललाई फाइदा भयो भनेर मात्र सोच्नुभएन । यात्रुको बिजोग भइसक्यो ।’ रोकायले नियमित उडान नहुँदा धेरै जना अलपत्र परेकाले सरकारले सहज रुपमा उडानको व्यवस्था मिलाउनुपर्ने बताए ।

कर्णालीका मान्छेले चाडबाडमा दु:ख पाएपछि नेपालगन्ज विमानस्थलमै एक–एकवटा जहाज राख्नुपर्ने नियम बनाइएको थियो । तर‚ यो नियम हटाइएपछि एयरलायन्सहरूले मनोमानी गर्दै आएका छन् ।

हुम्लाका दागि टिकट नपाएका दीपक भण्डारी विमानस्थल बाहिरै बसिरहेका छन् । विमानस्थलभित्र प्रवेश गर्न नदिएपछि बाहिर बसेर टिकटका लागि पर्खिरहेको उनले बताए । ‘हामीलाई भित्र पस्न दिँदैनन्; बाहिर टिकट बिक्री गर्दैनन्‚’ उनले भने, ‘हामी १५ दिनदेखि अलपत्र परिरहेका छौं । हिजो काठमाडौंबाट आएका जनप्रतिनिधिलाई आजै उडाइयो ।’

सर्वसाधारणलाई टिकट छैन भन्ने गरेको समिट एयरलायन्सले सोमबार १८ जनालाई हुम्ला उडाएको उनले सुनाए । उनका अनुसार हुम्ला जानका लागि ४० जना यात्रु नेपालगन्जमा अलपत्र अवस्थामा छन् ।

नेपालगन्ज विमानस्थलबाट कर्णालीका विभिन्न जिल्लामा समिट, तारा र सीता एयरले जहाज पठाउने गरेका छन् । समिट र सीताका चार-चारवटा र ताराका तीनवटा विमान छन् ।

अरू बेला नेपालगन्जमै बस्ने यी एयरका जहाज यतिबेला पर्यटक बोक्न पोखरातिर छन् । अहिले हप्तामा दुईवटा विमान आएर उडान गरिरहेका छन् । पोखरा–जोमसोङतिर पर्यटक बोक्नु नै उनीहरूको प्राथमिकताको विषय बनेको छ । समिटका चारवटामध्ये एउटा जहाज नेपालगन्जमै बसिरहेको छ । अहिले समिटले कर्णालीमा हप्तामा दैनिक ५ वटा उडान गरिरहेको छ ।सीता एयरका चारवटै विमान यहा छैनन् । सीताको तीनवटा विमान बिग्रिएको छ । एउटा चालु अवस्थामा भए पनि नेपालगन्जमा छैन ।

नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालले भएका तीनवटै जहाजको नेपालगन्जमा बेस नहुँदा यात्रुले चाडबाडमा सास्ती बेहोर्नुपरेको बताए ।

कर्णालीमा पर्यटक जाने सिजनमा नेपालगन्जमा थुप्रिने जहाज दसैंको बेलामा अन्यत्र गएपछि कर्णालीका मानिस आक्रोशित छन् । टिकट नपाएर अलपत्र भएका यात्रुहरूले विमानस्थलमा प्रवेश गरी सोमबार काउन्टर चेक गर्न नदिएपछि प्रहरीले उनीहरूलाई विमानस्थलमा प्रवेश गर्नसमेत दिएको छैन ।

प्रकाशित : आश्विन १७, २०७९ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?