नेपाल-भारत सीमामा अभिलेख दर्ता गराएर आउजाउ- लुम्बिनी - कान्तिपुर समाचार

नेपाल-भारत सीमामा अभिलेख दर्ता गराएर आउजाउ

कमल पन्थी

बर्दिया — के तपाईं भारत जाँदै हुनुहुन्छ ? त्यसो हो भने, अब नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरी बलको सुरक्षा पोष्टमा नाम, ठेगाना, मोबाइल फोन नम्बर, जाने कारण र फर्कने समय टिपाउनु पर्नेछ । 

बढैयाताल गाउँपालिकास्थित फुटाहा सुरक्षा पोष्टमा दैनिक हजार बढी मानिस सिमावर्ती बजार बलैगाउँमा प्रवेश गर्नुअगावै नाम दर्ता गरी आउजाउ गर्ने गरेका छन् । सीमापारि बजार पुग्दा घना जंगल भएका कारण कुनै अप्रिय घटना नहोस् भन्दै नेपाली नागरिकको बायोडाटा लिने गरिएको छ । विगतमा जुनसुकै बाटो प्रयोग गरी जंगलको बाटो जाँदा केही अप्रिय घटना भएपछि यहाँ एउटै नाका प्रयोग गर्न लगाइएको सशस्त्र प्रहरी उपरिक्षक जहरसिंह बुढामगरले बताए । यस बाटो हुँदै बिहानैदेखि सयौं मानिस किनमेल गर्न जाँदा उनीहरुको सुरक्षालाई ध्यानमा दिई यो नियम लागू गरिएको सप्रउ बुढामगरले जनाए ।

बीओपी फुटाहाले बिहान ६ देखि बेलुकी मानिसलाई भारत प्रवेश गर्न दिने गरेको छ । भारतको सीमावर्ती मुर्तिहामा भने आउजाउ गर्ने सवारी साधन अभिलेख र मानिसको संख्या टिपेर राख्ने गरेको छ ।

अहिले यो नियम बर्दियासँग जोडिएको परम्परागत नाकामा लागू गरिएको छ । भारत आउजाउ गर्ने मानिसको नाम, ठेगाना, मोबाइल नम्बरदेखि सबै अभिलेख राखेर पठाउने गरिएको छ । यसैगरि भारतसँग जोडिएको आठ वटा नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ । चाडपर्वमात्र होइन यो नियम निरन्तर जारी राख्न सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले बिओपीलाई निर्देशन दिएको छ ।

प्रकाशित : आश्विन १७, २०७९ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्

भर्चुअलबाट ‘पच्यु खेगी’

अमेरिकाबाट दीक्षान्त लिन नेपाल
तेस्रो मुलुक पुनर्वास भएपछि अहिले आफ्नो संस्कार, संस्कृति, भाषा र पहिचान खोज्दै
आश गुरुङ

लमजुङ — भुटान सरकारले देश छोड्न बाध्य पारेपछि सन् १९९० मा भारत हुँदै झापा माइधार आएर बसेकाहरूमध्ये अधिकांश अहिले तेस्रो मुलुकमा छन् । पुनर्वासमा धेरैले अमेरिका रोजे । तत्कालीन भुटानी राजा जाब्रुङ नावाङ नाम्ग्याल र तत्कालीन गोर्खा (नेपाल) का राजा राम शाहबीच सन् १६२४ मा ४१ नेपाली परिवार भुटान लैजाने सम्झौता भयो ।

भुटानको दक्षिणी भूभागमा नेपालीभाषीको बसोबास सुरु भयो । तीन पुस्ता अघिसम्म भारतको बाटो भएर नेपाली भुटान पुगे । भुटान पुगेका गुरुङलाई पुरोहितको अभाव भयो । आफ्नो संस्कार गर्न पाएनन् ।

पुनर्वासमा अमेरिका गएका नरबहादुर गुरुङका अनुसार भुटानबाट लखेटिएपछि झापा माइखोला किनारको शिविरमा बसे । भुटानमा हुँदा ब्राह्मणबाट कर्मकाण्ड गरिरहेका उनीहरू शिविरमा आएपछि तिब्बतीयन लामाबाट कर्मकाण्ड गर्न बाध्य भए । सन् २००७ मा तेस्रो मुलुक पुनर्वास हुँदा अमेरिका पुगेका गुरुङलाई आफ्नो पुरोहितबाट संस्कार गर्न नपाउने समस्या दोहोरिरह्यो । समाजमा झै–झगडा हुन थाल्यो ।

उनीहरूले सन् २०१७ मा आएर युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका नामक संस्था खोले । अध्यक्ष प्रदीप कोने गुरुङ (पुर्ख्यौली कास्की ताङतिङ) को नेतृत्वमा उनीहरू नेपाल आए । कास्कीको ताङतिङ, सिक्लेसदेखि लमजुङको भुजुङ, घलेगाउँसम्म पुगे । गुरुङ समुदायको संस्कार गर्दा चाहिने पुरोहितबारे खोजी गरे । अनुसन्धान गरे । अध्यक्ष गुरुङका अनुसार अमेरिकामा पुगेपछि सुरुमा पच्यु खेगी (गुरुङ पुरोहित) सिक्ने योजना बन्यो । सिक्न इच्छुकलाई नेपालमै पठाउने छलफल भयो ।

विश्वभर कोभिड संक्रमण फैलियो । उनीहरू नेपाल आउन सकेनन् । इन्टरनेटको पहुँच भएका नेपालका सहरमा गुरुको खोजी सुरु भयो । स्याङ्जाको वालिङ घर भई बुटवल बेलबास बादेलपोखरी बस्ने झलबहादुर गुरुङ र नुनबहादुर गुरुङसँग सम्पर्क भयो । त्यसपछि उनीहरूले ‘जुम आईडी’ बनाएर पच्यु खेगी सिक्न र सिकाउने कार्य सुरु भयो ।

सोसाइटीका उपाध्यक्षसमेत रहेका नरबहादुरका अनुसार ३ वर्ष ‘भर्चुअल’ माध्यमबाट पच्यु खेगी सिकियो । ‘हामी ७ जनाले सिक्यौं । नेपालबाट गुरुहरूले सिकाउनुहुन्थ्यो । हस्तलिखित पाण्डुलिपि हामीलाई पठाएपछि हेरेर पढ्यौं,’ उनले भने, ‘सुरुमा न भाषा जानिन्छ, न लवज जानियो । न अक्षर फुटाउनै आयो, गाह्रो भयो,’ उनले भने, ‘पछि सिक्दै जाँदा सजिलो भयो । हामीले सिक्यौं ।’

भर्चुअल माध्यमबाट पच्यु खेगी सिकेकामध्ये ५ जनासहित सोसाइटीका १५ जना अहिले नेपाल आएका छन् । पोखरामा बिहीबार एक कार्यक्रम गरी साढे ३ वर्ष पच्यु खेगी सिकेका उनीहरूलाई गुरुङ साहित्यिक मञ्च नेपालको व्यवस्थापनमा दीक्षित गराइए । उनीहरूका गुरुमध्ये नुनबहादुर गुरुङले दीक्षित गराएका हुन् । उनले शपथ खुवाए । फेटा र रुबा (मन्त्रेको धागो) लगाइदिए । नुनबहादुरले भने, ‘अबदेखि पच्यु खेगी पढेका सातै जनालाई समाजमा आफ्नो संस्कार गर्ने छुट छ । सातै जना योग्य भइसके ।’

नेपालबाट बिहान ६ बजे पढाउन सुरु हुँदा अमेरिकामा साँझको ७ बज्थ्यो । दैनिक ३ घण्टा प्रशिक्षण हुन्थ्यो । प्रशिक्षणबाट उनीहरूले विवाह, ग्रहशान्ति, वास्तु पूजा, पास्नी पूजा, पुटपुटे (छेवर), न्वारन, छोरीचेलीलाई गुन्युचोली दिने, ल्होसारमा स्वागत तथा बिदाइमा प्रयोग हुने सबैखाले पाठ र गर्नुपर्ने कार्य सिकेका छन् । ८४ पूजाको बाँकी छ । मृत्यु संस्कारको पाठ पनि सिकेका छन् । समुदायमा कसैको मृत्यु हुँदा क्ल्हेब्रें (घ्याब्रे) प्रयोग हुन्छ । घ्याब्रे पनि गुरुङ पुरोहित नै हो । मृत कार्यमा पच्युले घ्याब्रेसँग मिलेर काम गर्नुपर्छ । पुरोहित सिकेकामध्ये सबैभन्दा पाको ५९ वर्षीय दलबहादुर ल्हेगें गुरुङले भने, ‘बुढ्यौलीमा पच्यु खेगी सिकियो । हाम्रो संस्कार हामी नै गर्ने भएका छौं । यसमै खुसी छौं ।’ आफ्नै संस्कार आफ्नै रीतिरिवाजमार्फत गर्ने भएपछि यसअघि हुने झै–झगडा अब रोकिने उनले दाबी गरे ।

पच्यु खेगी सिकेका ५० वर्षीय सन्तलाल क्रोम्छें गुरुङका अनुसार उनीहरूलाई गुरुङ भाषा आउँदैन । पच्युको पाठ गुरुङ भाषा र चों क्योए (पौराणिक भाषा) मा छ । पच्यु खेगी सिकेसँगै संस्कारसँग मात्रै नभएर भाषासँग पनि नजिक गराएको उनले दाबी गरे । तनहुँको मिर्लुङकोट बिलाउने पुर्ख्यौली भएका उनले भाषा र संस्कार संस्कृतिसँग नजिक हुन पाएकामा गर्व महसुस भएको बताए ।

नरबहादुर प्ल्हें गुरुङ (पुर्ख्यौली कास्की घान्द्रुक हाल आयोवा डिमोइन्स अमेरिका), दलबहादुर ल्हेगें गुरुङ (पुर्ख्यौली धनकुटा पाख्रीबास हाल मिसौरी स्यानलुइस), सन्तलाल क्रोम्छैं गुरुङ (पुर्ख्यौली तनहुँ मिर्लुङकोट हाल नेबस्का ओमाह), भीम प्हच्यु गुरुङ (पुर्ख्यौली कास्की हाल पेन्सिलभेनिया मेकानिसक्बर्ग), पदमबहादुर ल्हेगें गुरुङ (टेनिस नेस्बिल), गोपाल प्हच्यु गुरुङ र दल पच्यु गुरुङले पच्यु खेगी सिकेका छन् । गोपाल र दल आएनन् । पोखरामा आयोजित दीक्षान्तमा ५ जना सहभागी भए ।

नरबहादुरका अनुसार उनीहरू बाजेको पालामा भुटान गएका हुन् । भुटानी राजा जिग्मे सिग्मे वाङचुक र उनका दरबारिया दागो छिरिङले सन् १९८८ मा ‘एक राष्ट्र–एक प्रजा’ नीति ल्यायो । नेपाली भाषा बोल्न र संस्कृति अँगाल्न प्रतिबन्ध लगायो । १९५८ मा भूमिकर तिरेको प्रमाण खोजियो । करिब ८० प्रतिशतले ल्याउन सकेनन् । उनीहरू गैरभुटानी कहलिए । सरकारले उनीहरूलाई भुटान छोड्न उर्दी जारी गर्‍यो । उनीहरूलाई बाटो खर्च दिएर देश छोड्ने कागजमा हस्ताक्षर गराए । सबै सेवाबाट वञ्चित गराए ।

उनीहरूले १९९० मा शान्तिपूर्ण आन्दोलन गरे । सरकारले माग पूरा हुन्छ भनी आश्वासन दिए । तर, भोलिपल्ट सेना प्रयोग गरेर ज्यादती गरे । उनीहरू भारतका विभिन्न ठाउँमा आए । त्यहाँ बस्न नदिएपछि झापाको माइधार (माई खोलाको किनार) मा आएर बसे । पछि मोरङ र झापामा गरी ७ ठाउँमा उनीहरूको शिविर बन्यो । भएको घरखेत छोडेर आएका उनीहरूसँग नेपाली भाषाबाहेक केही बाँकी रहेन ।

भुटानमा हिन्दु संस्कार अँगालेका उनीहरू शिविरमा आएपछि बौद्धमार्गी बने । गुरुङ, मगर, तामाङ, राई र लिम्बूमध्ये गुरुङ, मगर र तामाङलाई १९९४ मा भुटान सरकारले आफ्नै देशमा बस्न दिने हल्ला चलायो । बौद्ध धर्मावलम्बीलाई फर्काउने हल्ला चलेपछि एकाएक बौद्ध धर्मावलम्बी बने । तिब्बतीयन लामा सिके । जन्मदेखि मृत्यु संस्कार तिब्बतीयन लामाबाटै गराए । ब्राह्मणले गर्ने हिन्दु संस्कार र बौद्ध संस्कार मिसियो । एउटै समुदायले फरक–फरक संस्कार अँगालेपछि झगडा भयो । ‘२/४ दिनसम्म लास नउठेको र ढोकैमा रहेको घटनाहरू छन्,’ नरबहादुरले भने, ‘हामी हाम्रो संस्कारमा छैनौं भन्ने त्यहींबाट थाहा भयो । गर्न के नै सकिन्छ र, त्यतिबेला हामी शिविरमा थियौं ।’

भुटानी शरणार्थी तेस्रो मुलुक पुनर्वास भएपछि अहिले आफ्नो संस्कार, संस्कृति, भाषा र पहिचान खोज्दै पुर्ख्यौली फर्किन थालेका छन् । आफ्नो संस्कार पछ्याउँदै पच्यु खेगी सिकेका उनीहरूले ७ सय नयाँ शब्द सिकेका छन् । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. गणेश गुरुङले संस्कार भावना र पहिचानसँग गाँसिएको बताए । ‘भाषा र संस्कृतिले हामीलाई जोडेको छ । सात समुद्रपारि र हामी यसै कारण एक छौं,’ उनले भने । उनले इतिहास हार्नेको पनि लेखिनुपर्ने बताए ।

प्रकाशित : आश्विन १७, २०७९ ११:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×