बजार सुनसान

कमल पन्थी

बर्दिया — कपडादेखि दैनिक उपभोग्य सामान खरिद गर्नेको भीड लाग्ने बर्दियाका विभिन्न बजार अहिले सुनसान छन् । दसैंको व्यापारले भ्याइनभ्याइ हुने व्यापारी पनि फुर्सदिला बनेका छन् । 

गुलरियाका फेन्सी व्यवसायी मैयुन अहम्मदले गत वर्षहरूको तुलनामा यस वर्षको दसैं बढी सुनसान भएको बताए । ‘अहिले त निकै भीडभाड हुने बेला हो,’ उनले भने, ‘तर, दिनमा दुई/चार जना ग्राहक पनि आउँदैनन् ।’ बारबर्दियास्थित जयनगरका मोबाइल व्यवसायी सुनील चापागाईंले पनि दसैंमा कारोबार निकै कम भएको बताए ।

सदरमुकामसँगै ग्रामीण क्षेत्रका दसैं बजारमा किनमेल गर्नेको संख्या पनि घट्दै गएको छ । किराना पसलमा पनि सामान खरिद गर्ने घटिसकेको व्यवसायी बताउँछन् ।

सीमावर्ती क्षेत्रमा हालै सञ्चालनमा आएको लौकाही बजारमा जिल्लाका सयौं मानिस किनमेलका लागि जाने गरेपछि यहाँका बजार सुनसान भएको हो । अवैध नाकाबाट घरायसी सामानका नाममा सयौं मानिस किनमेलमा गएपछि यसलाई रोक्न स्थानीय प्रशासनसँग आग्रह गरेको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए ।

बारबर्दिया–४ का गोपाल थारूले १ सय मूल्यमा पाइने सामान यहाँ ५ सय लिएपछि बाध्य भएर भारतीय सीमावर्ती बजार जाने गरेको सुनाए । ‘यहाँका व्यापारीले महँगोमा सामान बिक्री गरेकाले सस्तोमा सामान किन्न लौकाही र बलैगाउँ बजार पुग्ने गरेका छौं,’ उनले भने ।

सीमावर्ती लौकाहीसँग जोडिएको नेपाली भू–भाग गणेशपुरमा छोटी भन्सार नहुँदा यहाँका ग्राहकले सहजै भारतबाट सामान ल्याउने गरेका छन् ।

प्रकाशित : आश्विन १६, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?