कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विरासत जोगाउने र भत्काउने होड

रुपन्देहीमा केन्द्रीय नेताको भिडन्त, उम्मेदवार टुंगो नलाग्दै घरदैलो

रुपन्देही, पाल्पा, अर्घाखाँची — केन्द्रीय राजनीतिमा उच्च पहुँच राख्ने नेताहरूको बाहुल्य रहेको रूपन्देहीमा उम्मेदवार टुंगो नलागे पनि चुनावी गतिविधि बढ्न थालेका छन् । दैनिक पार्टी प्रवेश र प्रचारात्मक कार्यक्रम चलिरहेका छन् । उम्मेदवार तय नभए पनि सम्भावित उम्मेदवार उद्घाटन, शिलान्यास, छलफल र घरदैलोमा कुदिरहेका छन् । ‘हेभिवेट’ उम्मेदवारलाई विरासत जोगाउने र भत्काउने चिन्ता छ ।

विरासत जोगाउने र भत्काउने होड

रूपन्देहीमा एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराई प्रतिनिधिसभाको उम्मेदवार बन्ने निश्चितजस्तै छ । पौडेल रूपन्देहीको निर्वाचन क्षेत्र नं. २, विश्वकर्मा क्षेत्र नं. १ र भट्टराई क्षेत्र नं. ५ बाट एकल सिफारिस भएका छन् । भट्टराई डेढवर्षे राष्ट्रियसभाको कार्यकाल छोडेर प्रतिनिधिसभा निर्वाचन लड्न इच्छुक भएकाले पार्टीले सर्वसम्मत सिफारिस गरेको हो ।

एमाले नेता घनश्याम भुसाल क्षेत्र नं. ३ बाट सिफारिस भएका छन् । त्यस्तै कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण क्षेत्र नं. ३ बाट चुनाव लड्दै छन् । उनको पनि एकल सिफारिस छ । कांग्रेसका अर्का प्रभावशाली नेता भरत शाह क्षेत्र नं. ५ बाट सर्वसम्मत सिफारिस भएका छन् । राप्रपाका प्रभावशाली नेता दीपक बोहरा क्षेत्र नं. ३ बाट र लोसपाका नेता सर्वेन्द्रनाथ शुक्ल क्षेत्र नं ४ बाट प्रतिनिधिसभाको चुनाव लड्दै छन् ।

गठबन्धन बनेपछि एमाले नेतालाई चुनौती थपिएको छ । एमालेले राप्रपासँग तालमेलको प्रयास गरिरहेको छ । तर, टुंगो लागेको छैन । २०६४ यता प्रतिनिधिसभाका सबै निर्वाचन जित्दै आएका एमाले उपाध्यक्ष पौडेल पनि गठबन्धनको जोखिममा छन् । तर, उनीसँग चुनावमा प्रतिस्पर्धा गर्न गठबन्धनबाट कोही तयार छैनन् । नेकपा एकीकृत समाजवादीले गठबन्धनबाट प्रदेश सचिव राजु गुरुङलाई उम्मेदवार बनाउन खोजेको छ । तर, कांग्रेसले अहिलेसम्म उक्त क्षेत्र लिने वा छोड्ने भन्ने निर्णय लिन सकेको छैन ।

विकासमा अब्बल देखिएका पौडेल झण्डै एक महिनादेखि नै घरदैलो र भेटघाटमा व्यस्त छन् । ‘प्रतिस्पर्धी को आउँछ भन्नेमा धेरै चिन्ता र चासो छैन,’ पौडेलले भने, ‘यहाँको विकासका एजेण्डा र आवश्यकता जनताबाटै बुझ्ने प्रयासमा लागेको छु, मेरो अर्जुनदृष्टि भनेकै रूपन्देहीको विकास र समृद्ध आर्थिक सहर हो ।’ त्यसका लागि आफू निरन्तर लागेकाले चुनाव प्राविधिक पाटो मात्र भएको उनले बताए । पौडेलसँग चुनावी प्रतिस्पर्धाका लागि गठबन्धनबाट कांग्रेसले पाएमा चुन्नप्रसाद पौडेल र युवराज गिरीमध्ये एकले प्रतिस्पर्धा गर्नेछन् ।

यो क्षेत्रमा कांग्रेसको संगठन राम्रै भए पनि केन्द्रीय तहको नेतृत्व अभावमा पौडेलसँग प्रतिस्पर्धीको अभाव छ । स्थानीय तह निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसले ३५ हजार, एमालेले ३३ हजार, राप्रपाले ४ हजार, माओवादीले ३ हजार, नेकपा एसले १ हजार ४ सय मत ल्याएका छन् । वडामा प्राप्त मत अनुसार गठबन्धनको झण्डै ४० हजार र एमाले–राप्रपा तालमेल भएमा ३७ हजार मत छ । माओवादीले पूर्वसभासद विनोद पहाडीको नाम सिफारिस गरेको छ ।

रूपन्देहीको क्षेत्र नं. ३ अहिलेको अर्को चर्चाको क्षेत्र हो । यहाँ गठबन्धनबाट कांग्रेसका नेता एवं गृहमन्त्री खाँण चुनाव लड्दै छन् । उनी पनि निरन्तर घरदैलोमै छन् । एमालेले घनश्याम भुसाल र तिलोत्तमाका पूर्वनगर प्रमुख वासुदेव घिमिरेलाई अघि सारेको छ । एमाले–राप्रपा तालमेल भएमा दीपक बोहराको चर्चा पनि छ । तर, बोहरा आफैंले भने क्षेत्र नं. १ रोजिरहेका छन् । एमाले–राप्रपा तालमेल नभएको अवस्थामा खाँणका लागि सहज हुने राजनीतिक वृत्तमा विश्लेषण छ । क्षेत्र नं. ३ बाट सिफारिस भए पनि एमालेका भुसाललाई सकेसम्म टिकट नै नदिने प्रयास एमालेभित्रै चलिरहेको छ । विगतका चुनावमा खाँण, पौडेल र बोहराले अघोषित तालमेल गर्ने गरेको चर्चा पनि हुने गरेको छ । अहिले पनि त्यही हुन सक्ने सम्भावनाको राजनीतिक वृत्तमा चर्चा छ ।

कांग्रेस कार्यकर्ताले खाँणलाई पौडेलकै क्षेत्रबाट पनि सिफारिस गरेका छन् । तर, उनको चासो क्षेत्र नं. ३ मै रहेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए । ‘क्षेत्र नं. ३ मा कांग्रेस बलियो छ,’ उनले भने, ‘त्यसैले उहाँले पनि यही क्षेत्रमै केन्द्रित भएर कार्यक्रम गरिरहनु भएको छ ।’ बोहरा यसअघि क्षेत्र नं. ३ बाटै लडेर भुसालसँग पराजित भए पनि यसपटक खाँणले उठ्ने तयारी गरेपछि बोहराको चासो क्षेत्र नं. १ मा देखिन्छ । तर, क्षेत्र नं. १ एमालेले नछोड्ने निश्चित भएको छ । क्षेत्र नं. ३ मा राप्रपाको संगठन पनि राम्रो छ । बोहरा पनि स्थानीय स्तरमा राम्रो छवि भएका नेता मानिन्छन् ।

कांग्रेसका एक नेताले अहिले पनि तीन नेताबीच कुनै नै कुनै रूपमा ‘कुराकानी’ भएको हुन सक्ने बताउँछन् । ‘यो सधैंको चर्चा हो, अहिले पनि हुन सक्छ,’ उनले भने, ‘कुराकानी भइरहेको छ भन्ने गाईगुई चलेकै छ ।’ स्थानीय तह निर्वाचनमा राप्रपाले यो क्षेत्रबाट १३ हजार बढी मत ल्याएको छ । यो क्षेत्रमा कांग्रेसको ३४ हजार, एमालेको २९ हजार, जसपाको ६ हजार, माओवादीको ३ हजार, लोसपाको २ हजार र एकीकृत समाजवादीको १ हजार मत छ । एमाले–राप्रपाको ४२ हजार मत र गठबन्धनको ४४ हजार मत छ । त्यस्तो अवस्थामा लोसपा निर्णायक शक्ति बन्नेछ ।

एमाले सचिव विश्वकर्मा क्षेत्र नं. १ बाट चुनाव लड्ने तयारीमा छन् । उनी पनि क्षेत्रमा घरदैलो र भेटघाटमै व्यस्त छन् । अहिलेसम्म उनी क्षेत्र नं. १ बाटै लड्ने निश्चित जस्तै रहेको एमाले जिल्ला सचिव यज्ञ गैरेले बताए । एमाले–राप्रपा तालमेल भएमा गठबन्धनबाट माओवादीलाई त्यो क्षेत्र दिने गरी कांग्रेसले तयारी गरिरहेको छ । यो क्षेत्रमा पनि राप्रपाको संगठन राम्रो छ ।

स्थानीय तह निर्वाचनमा क्षेत्र नं. १ मा कांग्रेसले ३३ हजार, एमालेले ३० हजार, राप्रपाले १४ हजार, जसपाले ७ हजार, माओवादीले ४ हजार, समाजवादीले १ हजार मत पाएका छन् । लोसपाको ३ सय मत छ । स्थानीय तहमा प्राप्त मत अनुसार गठबन्धनको ४५ हजार मत छ । एमाले–राप्रपा तालमेल हुँदा ४५ हजार नै हुन्छ । त्यसैले पनि राप्रपाले यही क्षेत्रमा दाबी गरिरहेको छ । राप्रपाका सहायक महामन्त्री ताहिर अलीले तालमेल भए पनि नभए पनि रूपन्देहीको क्षेत्र नं. १ बाटै लड्ने निर्णयमा बोहरा पुगेको बताए । ‘हाम्रो रोजाइ क्षेत्र नं. १ नै हो, त्यही अनुसार एमालेसँग दावी पनि गरिरहेका छौं,’ उनले भने, ‘झण्डै २० हजार हाम्रो मात्र मत रहेकाले हामीलाई त्यही नै सहज हुन्छ ।’ क्षेत्र नं. १ बाट कांग्रेसले पार्टीका पूर्वजिल्ला सभापति अब्दुल रज्जाकलाई सिफारिस गरेको छ ।

क्षेत्र नं. ५ मा एमालेबाट एकल सिफारिसमा परेका भट्टराई पनि पछिल्लो एक महिना क्षेत्रको दौडधुपमै छन् । पार्टी प्रवेशदेखि घरदैलो कार्यक्रममा व्यस्त भट्टराईलाई कांग्रेसकै अर्का प्रभावशाली नेता भरत शाहले टक्कर दिंदै छन् । भट्टराई एमालेबाट र शाह कांग्रेसबाट सर्वसम्मत उम्मेदवार हुन् । स्थानीय तहको मत अनुसार यो क्षेत्रमा एमाले बलियो देखिएको छ । क्षेत्र नं. ४ मा कांग्रेसले प्रमोद यादवलाई सर्वसम्मत निर्णय गरेको छ । अन्य पार्टीले यस क्षेत्रमा उम्मेदवार टुंगो लगाएका छैनन् ।

उम्मेदवार सिफारिस भएजति काठमाडौं

टिकट निश्चित नहुँदा पाल्पामा चुनावी गतिविधि सुस्ताएको छ । मुख्य राजनीतिक दलका नेता र आकांक्षी उम्मेदवार टिकटका लागि काठमाडौं पुगेका छन् । त्यसले पनि पाल्पामा निर्वाचन गतिविधिले तीव्रता पाउन नसकेको हो । ‘उम्मेदवार सिफारिसका बेलामा धेरै नै चहलपहल भयो,’ नेपाली कांग्रेसकी जिल्ला सचिव सुनिता अधिकारीले भनिन्, ‘टिकट सुनिश्चित नभएर पनि नेताहरूले चुनावी गतिविधिलाई धेरै ध्यान दिएका छैनन् ।’ टिकट सुनिश्चित गर्न नेताहरू काठमाडौं पुगेका छन् ।

आकांक्षीको नाम दलहरूले प्रदेश हुँदै केन्द्रमा सिफारिस गरेपछि अधिकांश आकांक्षी काठमाडौंतर्फ लागेका हुन् । नेता नै नभएपछि जिल्लामा हुने चुनावी गतिविधि र चहलपहलमा कमी आएको हुन सक्ने नेकपा एकीकृत समाजवादीका सचिवालय सचिव जगन्नाथ नेपालले बताए । उनका अनुसार एकल सिफारिस भएका उम्मेदवारहरू माहोल बुझ्न टोल, क्षेत्र, पालिकामा पुगेका छन् । चार प्रदेशसभा र दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा एमालेले प्रतिनिधिसभा क्षेत्र नं. २ र क्षेत्र २ को ‘क’ प्रदेशसभामा एकल उम्मेदवार सिफारिस गरेको छ । माओवादी केन्द्रले क्षेत्र नं. २ ‘क’ मा र नेपाली कांग्रेसले क्षेत्र १ ‘क’ मा एकल उम्मेदवार सिफारिस गरे पनि निर्वाचनको गतिविधि भने बढेको छैन ।

आगामी निर्वाचनमा प्रतिनिधि र प्रदेशसभामा १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ पुरुष गरी २ लाख ३ हजार १ सय १८ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । पाल्पामा १ सय १८ मतदान केन्द्र र २ सय ४६ मतदान स्थल कायम भएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताए । स्थानीय तहको निर्वाचनमा भएका मतदान केन्द्रहरूमा हेरफेरसमेत भएको उनले बताए । तानसेनमा दुई मतदान स्थल बढेका छन् । रैनादेवी छहरा गाउँपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिकामा एक/एक स्थल घटाइएको छ । ‘समग्रमा यसअघिको निर्वाचनभन्दा एक केन्द्र घटेको छ,’ उनले भने ।

विरासत फर्काउने कसरतमा कांग्रेस

गठबन्धनमा आबद्ध सबै दल अर्घाखाँचीको प्रतिनिधिसभाको क्षेत्र कांग्रेसलाई दिन तयार भएपछि कांग्रेस विरासत फर्काउने प्रयासमा लागेको छ । कांग्रेसले अर्घाखाँचीका तत्कालीन दुई निर्वाचन क्षेत्रबाट २०४८ र ०५१ मा जितेको थियो । २०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र नं. २ मात्र जितेको थियो । त्यसयता निरन्तर कम्युनिस्टले जित्दै आएका छन् । गठबन्धनमा आबद्ध कम्युनिस्टको सहयोगमा चुनाव जित्ने कांग्रेसको दाउ छ । प्रतिनिधिसभा कांग्रेसलाई दिएर माओवादी र जनमोर्चाले प्रदेश सभा लिने चर्चा छ ।

२०४८ र ०५१ मा क्षेत्र १ बाट कांग्रेसका रेवतीप्रसाद भुसाल र २ बाट ढुण्डिराज शास्त्रीले जितेका थिए । २०५६ को चुनावमा एमाले–जनमोर्चाले गठबन्धन गरेर क्षेत्र नं. १ मा जनमोर्चाका डिलाराम आचार्य र २ मा एमालेका डिल्लीराज खनालले जितेका थिए । कांग्रेसले यसपटक २०६४ को संविधान सभामा विजयी पुष्पा भुसाललाई नै सिफारिस गरेको छ । उनीसँगै डा. रामबहादुर वीसी, रेवतीप्रसाद भुसाल, लेखनाथ पोखरेल र डा. मुक्तिराम श्रेष्ठ पनि सिफारिस भएका छन् । ‘आउँदो चुनावलाई संगठन निर्माण गर्ने अवसरका रूपमा लिनुपर्छ,’ भुसालले भनिन्, ‘साथमा कम्युनिस्ट पार्टीहरूको सहयोगमा कांग्रेसलाई २८ वर्षअघिकै अवस्थामा फर्काउनु पर्छ ।’ टिकट कसले ल्याउने गौण र चुनाव जित्ने मुख्य एजेण्डा कांग्रेसले बनाउनु पर्ने उनको सुझाव छ ।

चार दलको सहयोग भए पनि कांग्रेसलाई लगातार तीनपटक चुनाव जितेर उपप्रधानमन्त्री भइसकेका एमाले सचिव टोपबहादुर रायमाझीसित भिड्नुपर्नेछ । दुईपटक आफ्नै पार्टीको बलमा र २०७४ मा एमाले र राजमोको वाम–गठबन्धनको सहयोगमा भारी मतान्तरले रायमाझीले चुनाव जितेका थिए । अहिले उनी आफैं एमाले बनेर चुनाव लड्दै छन् । तर, अघिल्लो चुनावमा सहकार्य गरेका जनमोर्चा र माओवादी कांग्रेस गठबन्धनमा छन् । रायमाझी जिल्लामा लोकप्रिय र विकासवादी नेताका रूपमा परिचित छन् । स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनले एमालेसँगै पराजित ब्यहोरेको छ । त्यसले पनि कांग्रेसलाई चुनाव जित्न सहज छैन ।

‘एमालेको बलियो संगठन, स्थानीय तहको मतपरिणाम र माओवादी, राजमोलगायतका पार्टीबाट थपिएको मतदाता संख्याकै कारण गठबन्धनलाई चुनाव जित्छौं,’ एमाले जिल्ला अध्यक्ष पीताम्बर भुसालले भने, ‘एमाले नेतृत्वले गरेका काम, एमालेप्रति जनलहर छ ।’

एमालेले भुमिकास्थानबाट चुनावी अभियान सुरु गरेको छ । पाँच दलीय गठबन्धनले छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘स्थानीय तहमा अन्तर्घातकै कारण सोचेजस्तो परिणाम आउन सकेन,’ कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले भने, ‘जो उम्मेदवार आए पनि कांग्रेस र गठबन्धन उम्मेदवारलाई चुनाव जिताउने गरी तयारीमा रहन कार्यकर्तालाई प्रशिक्षण दिएका छौं ।’

प्रकाशित : आश्विन १५, २०७९ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?