कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भरुवा बन्दुकसहित रोल्पामा एक युवा पक्राउ

काशीराम डाँगी

रोल्पा — रोल्पामा प्रहरीले हतियारसहित एक युवालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार त्रिवेणी गाउँपालिकाबाट घरमा बनाइएको अवैध भरुवा बन्दुकसहित त्रिवेणी गाउँपालिका २‚ घोगेबाट २८ वर्षीय विक्रम बोहरालाई पक्राउ गरेको जनाएको हो । 

भरुवा बन्दुकसहित रोल्पामा एक युवा पक्राउ

घोगेमा अवैध भरुवा बन्दुक बोकेर हिँडिरहेको खबर पाएपछि होलेरीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई गाउँबाटै पक्राउ गरेका थिए । प्रहरी निरीक्षक मधुसूदन विश्वकर्माको नेतृत्वमा पुगेको प्रहरीले सार्वजनिकस्थलमा अवैध हतियार बोकेको आरोपमा बोहरालाई नियन्त्रणमा लिएको थियो । बोहरा बिहान साढे १० बजे खुला रुपमा गाउँमा हतियार बोकेर हिँडिरहेका थिए ।

बोहराका साथबाट भरुवा बन्दुक, त्यसमा लाग्ने दुईवटा फलामे रडका टुक्रा र दुईवटा छर्रासमेत बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए । उनका अनुसार नियन्त्रणमा लिइएका बोहराविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा लगाउने तयारी गरिएको हो । बोहरालाई रोल्पा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले अवैध हतियार बुझाउन पटक पटक सूचना जारी गर्दै आएको छ । तर कतिपयले अझै पनि गाउँमा अवैध हतियारको प्रयोग गर्दै आएको र प्रशासनको सूचनाप्रति अटेर गरेको पाइएकाले थप प्रहरी परिचालन गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । गाउँमा थुप्रै अवैध हतियार भएको हुन सक्ने प्रहरीको आशंका छ । शान्ति प्रक्रियापछि प्रहरीले हजारौं अवैध हतियार नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित : आश्विन १२, २०७९ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?