नाकामा पर्यटकलाई स्वागत

कान्तिपुर संवाददाता

भैरहवा — स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने रूपन्देहीको बेलहिया नाकामा मंगलबार पर्यटकलाई स्वागत गर्दै ४३ औं विश्व पर्यटन दिवस मनाइएको छ । सुनौली–भैरहवा नाका हुँदै मंगलबार बिहानै नेपाल प्रवेश गर्ने क्यानाडा, चीन, इजरायल र भारतका पाँच पर्यटकलाई स्वागत र सम्मान गरिएको हो ।

उनीहरूलाई नाकाबाटै फूलमाला लगाएर बेलहियामा पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश र विश्व पर्यटन दिवस समारोह समिति रूपन्देहीद्वारा आयोजित विश्व पर्यटन दिवस समारोह स्थलमा ल्याइएको थियो । गृहमन्त्री बालकृष्ण खाँणसहित प्रदेश पर्यटन मन्त्री डिल्लीबहादुर चौधरी, विश्व पर्यटन दिवस समारोह समितिका पदाधिकारी र पर्यटन व्यवसायीले नेपाली ढाका टोपी, खादा, अबिर लगाएर उनीहरूको स्वागत गरेका थिए । पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोशीले स्थल मार्ग हुँदै नेपाल आउने कुल विदेशी पर्यटकमध्ये ९२ प्रतिशत बेलहिया–भैरहवा नाका हुँदै आउने गरेकाले यो नाकालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले विश्व पर्यटन दिवस समारोहको आयोजना गरेको बताए ।

मंगलबार नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सबाट विमानस्थलमा पहिला ओर्लिने यात्रुलाई पनि स्वागत गर्दै समारोह स्थलमा ल्याई सम्मान गरिएको थियो । गृहमन्त्री खाँणले नेपालको विविधता र सम्पदाले पर्यटकलाई आकर्षण गरिरहने भएकाले यसको संरक्षण र सम्बर्द्धन गरी पर्यटन क्षेत्रमा अघि बढाउने दायित्व सरकारको भएको बताए । ‘पर्यटनको माध्यमबाट नेपाललाई समृद्ध बनाउने आधारशीला नै नेपालको विविधता र सम्पदा हुन्,’ उनले भने, ‘नेपाल आउने हरेक पर्यटकको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकार सचेत र सजग छ ।’

होटल र रेस्टुरेन्टमा पर्यटक हुँदाहुँदै र खानपिन गर्दागर्दै जति राती भए पनि होटल रेस्टुरेन्ट बन्द गर्न नपाइने गरी कार्यविधि बन्दै गरेको खाँणले बताए । विदेशबाट पर्यटक नेपाल आइरहँदा र नेपालभरि घुमिरहँदाको अवस्थामा राती अबेर भएमा होटल एवं रेस्टुरेन्ट बन्द गरिनुले उनीहरू समस्यामा पर्ने भनाइ खाँणको थियो । ‘रेष्टुरेन्टमा रहेका पर्यटकलाई राती अबेर भए पनि गन्तव्यसम्म (बसेको ठाउँसम्म) सुरक्षितसाथ पुर्‍याइदिने दायित्व होटल तथा रेस्टुरेन्ट व्यवसायीको हो,’ गृहमन्त्री खाँणले भने, ‘पर्यटक हुँदासम्म होटल र रेस्टुरेन्ट बन्द नगर्ने दायित्व सुरक्षाकर्मीको हो ।’

स्थलमार्ग हुँदै नेपाल भित्रिएका पाँच जना पर्यटकलाई सिद्धार्थ होटल एसोसिएसन रूपन्देहीले पुग्नुपर्ने गन्तव्यस्थलसम्मको यात्राको टिकट र एक दिनका लागि बस्ने खाने व्यवस्था निःशुल्क रूपमा व्यवस्था गरेको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष तथा विश्व पर्यटन दिवस समारोह समिति रूपन्देहीका संयोजक चन्द्रप्रकाश श्रेष्ठले बताए । पर्यटकलाई सीमा नाकामा कोभिडको एन्टिजेन परीक्षणका नाममा दुःख दिने, पर्यटन सूचना केन्द्रको बेहाल र वर्षौंअघि निर्माण भैसक्नु पर्ने बेलहियाको सडक नबनेर अलपत्रमा अवस्थामा रहेकाले पर्यटकले सास्ती पाउने गरेको गुनासो आएको श्रेष्ठले बताए ।

प्रकाशित : आश्विन १२, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?