कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुल्मीमा फेरि कम्युनिस्टबीच नै प्रतिस्पर्धा

घनश्याम गौतम

रूपन्देही — लगातार पाँचपटक संसदीय निर्वाचनमा जित हात पार्दै कम्युनिस्ट किल्लाका रूपमा रहेको गुल्मीको निर्वाचन क्षेत्र नं. २ मा यसपटक पनि कम्युनिस्टबीच नै प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसले गठबन्धनका समाजवादी र माओवादीलाई प्रतिनिधिसभा तर्फको सिट दिएर प्रदेश सभाको एक क्षेत्र लिन सहमत भएपछि दुवै पार्टीका नेता टिकट लिने प्रतिस्पर्धामा छन् । गुल्मीको यो क्षेत्रमा बहुदलपछिको एउटा चुनाव मात्र कांग्रेसले जितेको छ ।

गुल्मीमा फेरि कम्युनिस्टबीच नै प्रतिस्पर्धा

गुल्मीमा २०७४ अघिसम्म तीन निर्वाचन क्षेत्र थिए । साबिकको ३ र अहिले २ बनेको क्षेत्रमा बहुदलपछिको २०४८ सालको चुनावमा कांग्रेसका रुद्रमणी शर्मा भण्डारीले संसदीय निर्वाचन जितेका थिए । त्यसपछि २०५१ सालमा एमालेका टंक पोखरेल विजयी भए । २०५६, २०७० र २०७४ सालका निर्वाचन एमालेका गोकर्ण विष्टले जिते । २०६४ सालको संविधानसभाको निर्वाचनमा माओवादीका चन्द्रबहादुर थापाले जितेका थिए । २०६४ को निर्वाचनमा एमालेका विष्ट दोस्रो र कांग्रेसका सुरेशचन्द्र भुसाल तेस्रो भएका थिए । एक निर्वाचन बाहेक लगातार पाँचपटक चुनाव कम्युनिस्टले जितेको यो क्षेत्रमा यसपटक पनि कांग्रेसले गठबन्धनलाई छोडेपछि एमाले र माओवादी वा एकीकृत समाजवादीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

यो क्षेत्रबाट एमालेले गोकर्ण विष्टलाई नै सिफारिस गरेको छ । उनीसँगै राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम पनि सिफारिसमा परेको छ । तर, विष्टले नै चुनाव लड्ने निश्चित छ । त्यस्तै माओवादीले युवा नेता भीमकान्त भण्डारी, निमबहादुर पाण्डे र वीरबहादुर कार्कीलाई सिफारिस गरेको छ । माओवादीले गुल्मीको क्षेत्र नं. २ पाएको अवस्थामा युवा नेता भण्डारी निश्चितजस्तै छन् । कांग्रेसले डा.दामोदर भुसाल, चन्द्रबहादुर केसी र त्रैलोक्यप्रताप सेनको नाम सिफारिस गरेको छ । एकीकृत समाजवादीले रामकुमारी झाँक्रीको एकल नाम सिफारिस गरेको छ ।

कांग्रेसका जिल्ला सचिव जगदीश भट्टराईले यस क्षेत्रमा गठबन्धनबाट झाँक्री र भण्डारीमध्ये एक उम्मेदवार हुने निश्चित भएको बताए । ‘अहिलेसम्म गठबन्धनबाट समाजवादी वा माओवादीले प्रतिनिधिसभाको चुनाव लड्ने र क्षेत्र नं. १ मा कांग्रेसले चुनाव लड्ने निश्चितजस्तै छ,’ उनले भने, ‘क्षेत्र नं. २ मा कांग्रेसले प्रदेश सभाको एक क्षेत्र मात्र लिनेछ ।’ गठबन्धनबाट कांग्रेसले चुनाव नलडेपछि टिकटका लागि माओवादी र समाजवादीको तीव्र प्रतिस्पर्धा छ । माओवादीका भण्डारीले कोरोना महामारीका बेला गुल्मीका विभिन्न स्थानीय तहमार्फत स्वास्थ्य सामग्री र खोप उपलब्ध गराएर चर्चा बटुलेका थिए । जिल्ला नेतृत्वले पनि उनलाई उम्मेदवार बनाउन पार्टीमा दबाब दिएको छ ।

एकीकृत समाजवादीबाट केन्द्रीय सचिव एवं पूर्वमन्त्री झाँक्री पनि उम्मेदवारको टिकटका लागि तीव्र लबिङमा छिन् । यद्यपि, झाँक्रीको आफ्नै पार्टी जिल्लामा छिन्नभिन्न भएको छ । जिल्ला इन्चार्ज र अध्यक्षसहितको ठूलो टिम एमालेमा फर्केपछि उनी आफैं संकटमा छिन् । तैपनि, उनी निरन्तर घरदैलोमा लागेकी छन् ।

विकास आयोजना शिलान्यास र उद्घाटन पनि गरिरहेकी छन् । एमाले जिल्ला सचिव गणेश श्रीपालीले कांग्रेसले उम्मेदवार नदिएको अवस्थामा एमालेका नेता विष्टलाई जितका लागि सहज हुने दाबी गरे । विष्टले पनि आफ्नो क्षेत्रमा घरदैलो र भेटघाट अभियान चलाइरहेका छन् ।

प्रकाशित : आश्विन १२, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?