विमानस्थल पुनः सञ्चालनको आश्वासन मात्रै

काशीराम डाँगी

बडाचौर, रोल्पा — रोल्पाको बडाचौरस्थित विमानस्थलमा केही अवधि जहाज उडेपछि बन्द भएको ३३ वर्ष भयो । जिल्लाको एकमात्र विमानस्थल पुनः सञ्चालन गर्नु त परैको कुरा, संरक्षणसमेत हुन सकेको छैन ।

प्रदेश र संघीय तहमा पहुँच भएका नेताबाट पहल नहुँदा विमानस्थल सञ्चालन गर्ने र जहाज चढ्ने सपना पूरा नभएको सुलिचौरका पुराना नेता अमरबहादुर थापाले बताए । ‘त्यतिबेलाको सरकारले विमानस्थल बनाइदिएको हो,’ राप्रपाका जिल्ला अध्यक्षसमेत रहेका उनले भने, ‘बहुदल आएपछि संरक्षणसमेत भएन । पुनः सञ्चालनका लागि माग गर्दा गर्दै थाकिसक्यौं ।’ पूर्वी रोल्पाको लुंग्री गाउँपालिकाको बडाचौरमा रहेको उक्त विमानस्थल हुँदै गामसम्म सडक निर्माण जारी छ । विमानस्थलको संरचना ध्वस्त भए पनि चौरमा गाई चराउने, खेल खेल्ने र मेला–जात्रा लगाउने जारी छ । स्थानीयले सार्वजनिक भेला र बैठकका लागि उक्त मैदानलाई प्रयोग गर्दै आएका छन् । माओवादी द्वन्द्वकालमा लडाकुले तालिम केन्द्रसमेत बनाएका थिए । त्यतिबेला बनाइएका बंकर अहिले पनि देख्न सकिन्छ ।

विनास्थलको पुनः सञ्चालन र मर्मत गर्न स्थानीयले पर्यटन मन्त्रालयसँग पटक–पटक आग्रह गरेका छन् । हरेक निर्वाचनमा हरेक दलका घोषणापत्रमा विमानस्थल सञ्चालन गर्न पहल गर्ने बुँदा समेटिए पनि जितेर सत्तामा पुगेपछि उनीहरूले काम गरेका छैनन् । विमानस्थल २०३३ मा निर्माण भएको थियो । पञ्चायतकालमा बालाराम घर्तीमगर यातायात मन्त्री भएका बेला उनकै विशेष पहलमा उक्त विमानस्थल निर्माण गरिएको हो । विमानस्थल करिब १० वर्षसम्म सञ्चालनमा भयो । पछि कहिले यात्रु नपाउने, कहिले जहाजको पालो नपाउने कारणले २०४६ पछि पूर्ण रूपमा बन्द गरिएको थियो ।

‘त्यसबेला दैनिक र साप्ताहिक रूपमा साना खालका विमान आवतजावत गर्थे,’ विमानस्थल सञ्चालन हुँदाताकाका सहायक एयरपोर्ट इन्चार्ज रत्न सुवेदीले भने, ‘विमानस्थलको लम्बाइ १ हजार १ सय मिटर छ भने चौडाइ ९० देखि २ सय १० मिटर छ ।’ विमानस्थल संरक्षणमा जुटेका स्थानीय तहका जनप्रतिनिधिले विमानस्थलको पुनः सुरुको अनुमति नपाएकाले हच्किएका छन् । विमानस्थलको पुनः मर्मत र संरक्षण गर्दा दुवैतर्फको क्षेत्रफल वृद्धि गर्न सकिने भौगोलिक अवस्थासमेत छ । नेता बालारामले अहिले पनि विमानस्थल पुनः सञ्चालन गर्न पहल गर्दै आएका छन् । ‘बहुदल आएपछि बन्द भएको विमानस्थललाई जोगाउन अझै प्रयास गर्दै छु,’ उनले भने । त्यतिबेला हवाई क्षेत्र हेर्ने छुट्टै पर्यटन मन्त्रालय थिएन, यातायात मन्त्रीले नेतृत्व गर्थे ।

राप्रपाका जिल्ला अध्यक्ष थापाका अनुसार विमानस्थल मर्मत र सञ्चालन गर्ने भनेर केही वर्षअघि सरकारले बजेट छुट्याएकामा नेताले चासो नदेखाउँदा काम अघि बढ्न सकेन । विमानस्थल पुनः सञ्चालन गरेर रोल्पा–भैरहवा–काठमाडौं रुट बनाउनु पर्ने र दैनिक रूपमै सञ्चालन हुन सक्ने सम्भावना छ । शान्ति प्रक्रियापछिको सरकारमा कांग्रेस नेतृ भीमकुमारी बुढामगर पर्यटन सहायक मन्त्री भएका बेला उनकै अगुवाइमा लिबाङको सातदोबाटो छेउको डाँडा, बडाचौर विमानस्थल, रेउघामा एयरपोर्ट निर्माण गर्नेबारे सम्भाव्यता अध्ययनसमेत गरिएको थियो । यस्तै खुंग्री र माडीचौरमा नयाँ विमानस्थल बनाउने चर्चासमेत चलाइएको थियो । जेलबाङका युवा उद्यमी बल्कुराम पुनले विमानस्थल पुनः सञ्चालनबाट जिल्लावासीलाई फाइदा पुग्ने बताए । ‘विमानस्थल चलाउन सकेमा पूरै रोल्पाको पर्यटन क्षेत्रको विकास सम्भव छ,’ उनले भने ।

प्रकाशित : आश्विन १२, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?