कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्यालय पुग्दा लखतरान

शमशेरविक्रम जीसी

प्यूठान — प्यूठान नगरपालिका–१० छेपानेका रविन रोकालाई विद्यालय आउन र जान दैनिक ६ घण्टा पैदल हिँड्नुपर्छ । गाउँबाट विद्यालय आउन साह्रै समस्या रहेको उनले बताए । बिहान खाना खाएर हिँड्यो भने विद्यालय आइपुग्दा भोक लाग्ने उनले सुनाए ।

विद्यालय पुग्दा लखतरान

‘तीन घण्टा पनि बीच बाटोमा थकाइ नमारी हिँड्दा विद्यालय पुगिन्छ,’ उनले भने, ‘नत्र त समयमा पुग्नै सकिंदैन ।’ लामो दूरी तय गरेर आएपछि पढाइमा ध्यान दिन नसकिएको उनले सुनाए । ‘काम गरेर थाकेजस्तै हुन्छ, विद्यालय पुग्दा,’ उनले भने, ‘त्यसैले न विद्यालय आएर पढ्न सकिन्छ, न त साँझ घर फर्केर नै किताब हेर्न म लाग्छ’ छोटा दिनमा त घर पुग्दा लाइट बालेर जानुपर्ने बाध्यता रहेको उनले सुनाए । कहिले घरकालाई पनि आधा बाटोसम्म लिन बोलाउने गरेको उनले बताए ।

‘घरमा गएर गृहकार्य गर्ने, धेरथोर पढ्ने चाहना त हुन्छ तर थकाइले लखतरान पर्दा पढाइमा ध्यान दिन सकिएको छैन,’ उनले भने, ‘यस्तै समस्या छ ।’ उनीसँगै महेन्द्र माविमा अध्ययन गर्ने एक सय बढी विद्यार्थी दैनिक चार घण्टादेखि ६ घण्टासम्म पैदल हिँडेर विद्यालय आउजाउ गर्नुपर्ने बाध्यता छ । जिल्ला सदरमुकामसँगै जोडिएका गाउँहरू मल्लरानी गाउँपालिकाको सरङकोट, राम्चे, रिठेखर्क, रामपानी, पलासे, जोरपोखरी, गिरीचौर, प्यूठान नगरपालिकाको छेपाने, बुकेनी, ऐरावती गाउँपालिकाको सिन्दुरेडाँडाबाट विद्यार्थीहरू महेन्द्र मावि खलंगामा अध्ययन गर्न आउँछन् ।

यी क्षेत्रमा नजिकमा विद्यालय छैनन् । केही स्थानमा कक्षा ३ र केही क्षेत्रमा कक्षा ५ सम्म पढाइ भए पनि त्यसपछि पढ्न आउने भनेकै खलंगामा हो । विद्यालय अध्ययन गर्नेमध्ये अधिकांश ग्रामीण क्षेत्रका छन् । धेरैको आर्थिक अवस्था कमजोर छ । विद्यालयले पनि विद्यार्थीको समस्या समाधानमा केही गर्न नसकेको विद्यालयका प्रधानाध्यापक पीताम्बर पौडेलले सुनाए । पढाइमा राम्रो गरिरहेका विद्यार्थी पनि विद्यालय टाढा हुँदा समस्यामा परेको उनले बताए । ‘थकाइले पढाइमा ध्यान दिन सक्दैनन्,’ उनले भने, ‘बस सञ्चालन गर्न पनि विद्यालयको आर्थिक स्रोत छैन ।’

छरिएका ससाना बस्तीमा सडकको राम्रो व्यवस्था नभएकाले पनि विद्यार्थी थप समस्यामा परेको बताइन्छ । ‘बिहान सबेरै उठ्यो, हातमुख धोयो, यताउता गर्दा ७ बजिहाल्छ, ७ बजेपछि विद्यालय हिँड्नुपर्छ । नत्र त १० बजे पुगिँदैन,’ कक्षा १० मा अध्ययनरत मल्लरानी गाउँपालिका–५ सरङकोटका मिलन सुनारको भनाइ हो यो । ‘गाउँका सबै विद्यार्थी बिहान सबेरै विद्यालय गएर साँझ अबेर मात्रै फर्कन्छौ, विद्यालय पुग्न थोरैमा तीन घण्टा लाग्छ,’ उनले भने ।

सदरमुकाम खलंगामा रहेको महेन्द्र माविमा पुग्न उनलाई तीन घण्टा समय लाग्छ । अझ बर्खाको समयमा झनै समस्या हुने गरेको उनले सुनाए । ‘झाँक्रीस्थान खोलामा पुल छैन, खोलामा भेल आउँदा पार गर्न नसक्दा विद्यालय पुग्नै सकिँदैन,’ उनले भने । घण्टौं लगाएर विद्यालय आउँदा विद्यार्थीहरू पसिनाले भिजेर नुहाएजस्तै हुने गर्छन् । विद्यार्थीहरू नियमित विद्यालय पनि आउँदैनन् । यसले समग्र शैक्षिक उपलब्धिमा असर गरिरहेको विद्यालयको गुनासो छ । बीचमै विद्यालय छाड्ने समस्या पनि बढिरहेको छ ।

प्रकाशित : आश्विन १२, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?