बेलहिया नाकामा पर्यटकलाई स्वागत गर्दै मनाइयो पर्यटन दिवस
भैरहवा — सुनौली–भैरहवा नाका हुँदै मंगलबार नेपाल प्रवेश गर्ने पाँच जना विदेशी पर्यटकलाई स्वागत गर्दै रुपन्देहीको बेलहिया सीमा नाकामा ४३औं विश्व पर्यटन दिवस मनाइएको छ । सुनौली–भैरहवा नाका स्थलमार्ग हुँदै तेस्रो मुलुक र भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिने मुख्य नाका हो ।
यस नाकाबाट मंगलबार बिहान क्यानडेली नागरिक आरोन, जी नामकी चिनियाँ महिला, इजरायली नागरिक मौर साथै भारतीय नागरिक लालाराम र राकेश कुमार पहिलोपल्ट नेपाल प्रवेश गरेका थिए ।
उनीहरूलाई नेपाल-भारत सिमानाबाटै फूलमालाले स्वागत गर्दै सीमा नजिकै बेलहियामा लुम्बिनी प्रदेशको पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय र विश्व पर्यटन दिवस समारोह समिति रुपन्देहीद्वारा आयोजित विश्व पर्यटन दिवस समारोह स्थलमा ल्याइएको थियो ।
समारोहस्थलमा गृहमन्त्री बालकृष्ण खाँणसहित प्रदेश पर्यटनमन्त्री डिल्लीबहादुर चौधरी, विश्व पर्यटन दिवस समारोह समितिका पदाधिकारी र पर्यटन व्यवसायीले पर्यटकलाई नेपाली ढाकाटोपी, खादा, अबिर लगाएर स्वागत गरेका थिए । मंगलबार नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जाजिरा एयरलाइन्सबाट विमानस्थलमा पहिला ओर्लने यात्रुलाई पनि स्वागत गर्दै समारोह स्थलमा ल्याई सम्मान गरिएको थियो ।
स्थलमार्ग हुँदै नेपाल भित्रिएका पाँच जना पर्यटकलाई गन्तव्यस्थलसम्मको यात्राको टिकट र एक दिनका लागि बस्ने-खाने व्यवस्था निःशुल्क रुपमा उपलब्ध गराइएको विश्व पर्यटन दिवस समारोह समिति रुपन्देहीका संयोजक चन्द्रप्रकाश श्रेष्ठले बताए ।
समारोहस्थलमा गौतम बुद्धको जीवनीमा आधारित नाटक, नेपाली प्राचीन तथा मौलिक पञ्चेबाजा, थारु र मगर समुदायको नृत्य तथा संगीत प्रदर्शन गरिएको थियो ।
विश्व पर्यटन दिवस समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विविधता र सम्पदाले पर्यटकलाई आकर्षण गरिरहने भएकाले यसको संरक्षण र संवर्द्धन गरी पर्यटन क्षेत्रमा अघि बढ्ने दायित्व सरकारको भएको बताए ।
‘पर्यटनको माध्यमबाट नेपाललाई समृद्ध बनाउने आधारशीला नै नेपालका विविधता र सम्पदा हुन्,’ गृहमन्त्री खाँणले भने, ‘नेपाल आउने हरेक पर्यटकको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकार सचेत र सजग छ ।’
बेलहिया सीमानाका नेपालकै प्रमुख नाका भएकाले यस नाँका हुँदै नेपाल भित्रिने पर्यटकलाई छिटो र सरल ढंगबाट सेवा सुविधा दिन सुरक्षा, भन्सार, क्वारेन्टाइन, अध्यागमनलगायत सम्बन्धित निकायलाई अन्तर्राष्ट्रिय स्तरको बनाइन जरुरी भएको उनले बताए । केही समयमै बेलहिया नाका नेपालकै सुन्दर र व्यवस्थित नाकाको रुपमा परिणत हुने क्रममा रहेको उनले जनाए ।
भारत र अन्य मुलुकबाट नेपाल आउने पर्यटकलाई सीमा नाकामा कुनै पनि बहानामा हतोत्साहित नबनाउन उनले नेपाल प्रहरी र अन्य सुरक्षा निकायलाई निर्देशन दिए । ‘नेपाल आउने पर्यटकलाई सिमानामा हतोत्साहित नबनाउनु होला,’ मन्त्री खाँणले भने ।
प्रकाशित : आश्विन ११, २०७९ १४:५९