कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पाल्पामा २९ मतदानस्थल अति संवेदनशील 

माधव अर्याल

पाल्पा — जिल्ला सुरक्षा समिति पाल्पाले सुरक्षा संवेदनशीलताको आधारमा मतदान केन्द्रको वर्गीकरण गरेको छ  । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा  निर्वाचन प्रयोजनका लागि  सुरक्षा समितिले मतदान केन्द्रको वर्गीकरण गरेको हो ।

पाल्पामा २९ मतदानस्थल अति संवेदनशील 

समितिले २९ वटा मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशिल सूचिमा रहेको जनाएको छ । यस्तै ५० वटालाई सम्वेदनशील र ३९ वटालाई सामान्यमा राखेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

दुई प्रतिनिधि र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा कुल १ सय १८ मतदान केन्द्र रहेका छन् भने २ सय ४६ मतदानस्थल रहेको छ । भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी, सुरक्षा केन्द्रसम्मको पहुँचलाई विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो ।

सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइने समितिले जनाएको छ । पाल्पामा अघिल्ला निर्वाचनमा भन्दा केही मतदान केन्द्रमा हेरफेरसमेत गरिएको छ । कतिपय स्थान परिवर्तनसमेत भएका छन् । हुमिन, बौघापोखराथोक लगायत विभिन्न स्थानमा सडकमै मतदान केन्द्र रहेका थिए । केही स्थानमा सडकमै राखिएको थियो । कतिपयमा नाम र ठाउँ नै फरकसमेत थिए । ती सबै मिलाउने काम भएको प्रजिअ पन्तले बताए ।

जिल्लाको निस्दी, माथागढी, रैनादेवीछहरा, तिनाउ, रामपुरलगायतका स्थानमा रहेका अधिकांश मतदान केन्द्र संवेदनशील रहेका छन् । नगरभित्रकै पनि कतिपय स्थानमा रहेका मतदान केन्द्र सुरक्षाका दृष्टिले संवेदनशिल रहेको सुरक्षा समितिले जनाएको छ ।

तानसेनमा दुई मतदान केन्द्र थपिएको छ भने रैनादेवी छहरा, रामपुर, निस्दीमा एक एक केन्द्र घटाइएको छ । माथागढीमा एक घटाएर अर्को एक बढाइएको छ । पाल्पामा १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ पुरुष गरी २ लाख १ हजार ३ सय २६ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए ।

प्रकाशित : आश्विन ११, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?