पाल्पाका ऐतिहासिक दसैंघर र कोतघरमा  जमरा राखियो 

माधव अर्याल

पाल्पा — पाल्पाको ऐतिहासिक कोतघरमा घटस्थापनासँगै जमरा राखिएको छ । तानसेन र ग्रामीण भेगका ऐतिहासिक दसैं घरलगायत अग्ला डाँडामा रहेका कोतघरमा घटस्थापना गरिएको हो । सोमबार नै घरघरमा घटस्थापना गर्नुका साथै जमरा राखिएको छ । 

पाल्पाका ऐतिहासिक दसैंघर र कोतघरमा  जमरा राखियो 

तानसेन पाल्पा दरबार प्रशासन परिसरमा रहेको ऐतिहासिक २ सय वर्ष पुरानो दसैंघरमा घटस्थापना गरिएको छ । यहाँ सोमबारै जमरा पनि राखिएको छ । तानसेन दरबार परिसरमा रहेको राणाकालिन दसैं घरमा प्रत्येक वर्ष नवदुर्गाको पूजा हुने पुजारी हरिकृष्ण गौतमले बताए । पञ्चायतकालसम्म यहाँबाट फूलपाती गोरखा दरबार र दरबारबाट काठमाडौं लैजान प्रचलन थियो । तत्कालीन शाह, राणाकालमा समेत यही दसैंघरमा घटस्थापना गरेर जमरा राख्ने प्रचलन थियो ।

सप्तमीका दिनमा नेपाली सेनाले फुलपाती लिन आउने चलन छ । रामपुर नगरपालिका–९, जब्गादीस्थित अग्लोडाँडामा रहेको कोतघरमा पनि घटस्थापना गरिएको छ । यहाँ जमरा राखिएको पुजारी गोपाल काफ्लेले बताए । जिल्लाका अग्लाडाँडाहरुमा सयौं वर्ष पुराना कोतघर रहेका छन् ।

पाल्पाकै मुझुङको कालिका, छहरा, बन्दीपोखराको लिपिनदेवी, भैरवस्थान, निशान भगवती, भुसालडाँडा, ताँहु, वीरकोट, सिलुवा, गल्धा, मस्याम, देवीनगर, लगायतका देवीका मन्दिर, कोतघरमा घटस्थापना गरिएको छ । साथै घरघरका पूजा कोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी देवी मानिने दुर्गाको आह्वान गरिएको छ ।

नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्वक राखेर त्यसमाथि जमरा राखिएको छ ।

प्रकाशित : आश्विन १०, २०७९ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?