२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भारतबाट मूर्ति ल्याउँदा नेपाली मूर्तिकारहरू निरुत्साहित

रुपा गहतराज

नेपालगन्ज — दसैं लगायत चाडवाडमा मूर्ति बनाएर जीवीका चलाउँदै आएका बाँकेका मूर्तिकारहरू मूर्ति बिक्री नहुँदा निराश भएका छन् । नेपालमै तयार पारिएका मूर्ति किन्नुको सट्टा भारतबाट आयात गरिँदा उनीहरू निरुत्साहित बनेको बताउँछन् ।

भारतबाट मूर्ति ल्याउँदा नेपाली मूर्तिकारहरू निरुत्साहित

नेपालगन्ज उपमहानगरपालिका १० सरस्वती स्कुल टोलका अंकित मिश्र नेपालगन्जको त्रिवेणी मोडमा भाडा लिएर दसैंका लागि दुर्गाको मूर्ति बनाइरहेका छन् । तर नेपालीहरुले भारतीय बजारबाट मूर्ति ल्याउन थालेपछि आफूहरुले बनाएको मूर्ति बिक्री नभएको गुनासो गर्छन् मिश्र।

यस वर्ष मूर्तिको माग आधा घटेको पनि उनको भनाइ छ । मिश्र दसैंका लागि ३० सेट मूर्ति तयार पार्दैछन् । तर अहिलेसम्म २० वटामात्र बिक्री भएको सुनाउँछन् उनी । साथै दसैं नजिकिँदा पनि एक हप्तादेखि अर्डर आउन छाडेको उनले बताए ।

‘लकडाउनका बेला बरु मूर्तिको माग बढेको थियो,’उनले भने,‘तर अहिले नेपालीहरु भारतबाट मूर्ति ल्याइरहेका छन्।’तयार पारेको दुर्गा मूर्ति बिक्री नभएपछि नेपालगन्जका विनय मूर्तिकार पनि चिन्तित देखिन्छन् ।

बेच्नका लागि तयार पारेको मूर्ति बिक्री नभएकाले चिन्ता लागेको उनको गुनासो छ । अघिल्लो दुई वर्षको दसैंमा ५० सेट दुर्गा मूर्ति बिक्री गरेका विनयले यस पटक आधा पनि बिक्री गर्न पाएका छैनन् ।

भारतबाट दुर्गा मूर्ति ल्याउन नेपालगन्ज भन्सार कार्यालयले छुट दिने गरेको छ भने नेपालगन्जका मूर्तिकारले मूर्ति बनाउन प्रयोग हुने सामग्रीमा भन्सारले कर उठाउँदै आएको छ । जसकारण भारतको भन्दा नेपालमा थोरै महंगो हुने गरेको विनय बताउँछन् ।

दसैंको घटस्थापनामा नेपालगन्ज नगरमा मात्रै एक सयभन्दा बढी दुर्गा मूर्तिहरु स्थापना गरिन्छ । बाँकेको बजार तथा गाउँ र सहरका चोकमा मात्र होइन टोलटोलमा दुर्गा मूर्ति स्थापना गर्ने परम्परा छ ।

औधी सांस्कृतिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष साहित्यकार विष्णुलाल कुम्हालले नेपाली कलाकारको सम्मानका लागि पनि प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए । ‘स्वदेशमै मूर्ति बनाउने कलाकार हुँदा भारतबाट आयातमा कडाइ गर्नुपर्छ, ’उनले भने,‘हामीकहाँ धेरै कलाकार छन् । सस्तोको नाममा भारतबाट मूर्ति ल्याउँदा नेपाली मूर्तिकारहरू निरुत्साहित भएका छन् । उनीहरुको रोजीरोटी खोसिएको छ ।’

प्रकाशित : आश्विन ९, २०७९ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?