३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बुटवल-नारायणगढ सडक दसैंअघि मर्मत नहुने

४ वर्षे निर्माण अवधिमा १८ प्रतिशत मात्र काम, १ वर्ष म्याद थप
नवीन पौडेल

परासी — सम्झौताअनुसार काम भएको भए अहिले ६ लेनको बुटवल–नारायणगढ सडक बनिसकेको हुने थियो । तर, ठेकेदार कम्पनीको लापरबाही र सरकारको बेवास्ताले अहिलेसम्म कालोपत्र त टाढैको कुरा, खाल्टाखुल्टी पर्ने काम पनि हुन सकेको छैन । वर्षौंदेखि यात्रुले कष्टपूर्ण यात्रा गरिरहेका छन् ।

बुटवल-नारायणगढ सडक दसैंअघि मर्मत नहुने

अघिल्लो वर्ष ठेकेदार कम्पनी चाइना स्टेट कम्पनीले चाडपर्वलाई लक्षित गरेर दाउन्ने सडक खण्डको चार किलोमिटर कालोपत्र र अन्य स्थानमा सामान्य मर्मत गरेको थियो । तर, यस वर्ष सम्झौताको म्याद सकिएको र थप भएको एक वर्षको काम दसैंपछि मात्र सुरु गर्ने भएको छ ।

रामग्राम नगरपालिका–५ परासीका नवराज पौडेल गैंडाकोटमा होटल व्यवसाय गर्छन् । कामको सिलसिलामा उनलाई परासी आउजाउ गरिरहनुपर्छ । तर, सडकको अवस्था र यात्रा गर्दा भोग्नुपर्ने कष्टका कारण यात्रा गर्न मन लाग्दैन । यात्रा गर्नु नै पर्‍यो भने पनि आफ्नो निजी सवारीसाधन प्रयोग गर्दैनन् । सडकको खाडल र धूलोले गर्दा सवारी चलाउन निकै असहज हुने उनको भोगाइ छ । ‘यति ठूलो आयोजनाको काम कछुवाको गतिमा छ । यात्रुले पाएको सास्ती कसले सुनिदिने ?,’ उनले भने, ‘दुईपटकसम्म रातभरि दाउन्नेको जंगलमा रोकिनुपरेको दिन सम्झँदा पनि दिक्क लागेर आउँछ ।’ काम छिटो गराउन जनताले आन्दोलन गर्दासमेत सरकारले ठेकेदार कम्पनीलाई दबाब दिन नसक्दा अहिलेको स्थिति आएको उनले बताए ।

कावासोती–८ का होमराज गौतम दैनिक कावासोतीदेखि अरुणखोलासम्म मोटरसाइकलमा यात्रा गर्छन् । शिक्षण पेसामा आबद्ध उनी सडक विस्तारको काम सुरु नहुँदै ३० मिनेटमा पुग्थे भने अहिले १ घण्टाभन्दा बढी समय लगाएर पुग्छन् । सधैं रेनकोट लगाएर मात्र विद्यालय जाने/आउने गरेको उनले सुनाए । धूलोका कारण घरदेखि विद्यालयसम्म पुग्दा पोसाक धुलाम्य हुने भएपछि रेनकोट लगाउन बाध्य भएको उनले बताए । ‘तीन महिनामा सर्भिसिङ गर्नुपर्ने मोटरसाइकल यही सडकका कारण महिनादिनमै गर्नुपर्छ,’ उनले भने, ‘हामी दैनिक यात्रा गर्नेको पीडा दुःखदायी छ । यही सडकका कारण जागिर सरुवा मागेको छु ।’

बुटवल–काठमाडौं रुटका यात्रुवाहक बस चालक सरोज विश्वकर्मालाई दाउन्ने र मुग्लिन सडक सम्झँदा यो रुटमा सवारी नै चलाउन छाडौंजस्तो हुन्छ । दिनहुँको जाम र धूलोको समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुर्‍याउन नसक्दा यात्रुको गाली खानु परेकाले दिक्क लाग्ने उनले बताए । ‘सडक बिग्रेपछि तुरुन्त बनाउनुपर्नेमा वर्षौंसम्म पनि मर्मत नगर्दा सवारीसाधन बिग्रने र इन्धन बढी लाग्ने गरेको छ,’ उनले भने, ‘दिनहुँ सवारी साधनमा समस्या आउँदा एकातिर साहु रिसाउने र अर्कोतर्फ यात्रुको भनाइ सुन्नुपर्छ । एम्बुलेन्समा बिरामी छट्पटाएर जाममा परेको देख्दा साह्रै दुःख लाग्छ ।’ सडक जीर्ण हुँदा र जामका कारण काठमाडौं पुग्नसमेत कहिलेकाहीं दुई दिन लाग्ने गरेको चालकको गुनासो छ ।

यो सडक मर्मत सम्भारका लागि सडक विभागले ठेकेदार कम्पनीलाई बारम्बार आग्रह गरेको भए पनि सम्झौताअनुसार काम अगाडि नबढेको बुटवल–नारायणगढ सडक खण्ड विस्तार आयोजनाका पश्चिम खण्ड प्रमुख प्रदीपराज शाक्यले बताए । ‘अहिले तत्कालै कालोपत्र हुने अवस्था छैन । दसैंपछि मात्र काम सुरु हुनाले सामान्य खाडल पुर्ने काम गर्ने भनेको छ,’ उनले भने, ‘वर्षा हुने बित्तिकै खाडल पर्ने समस्याले गर्दा सडकको अवस्था यस्तो भएको हो । दसैंअगाडि सबै स्थानमा खाडल पुर्ने काम मात्र हुनेछ ।’

बुटवल–नारायणगढ सडक विस्तार हुने क्रम जारी रहेकाले सडक विभागले यस खण्डमा सरकारी निकायको खासै चासो छैन । मर्मत सम्भारको जिम्मा पनि सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीको भएकाले सरकारी निकाय उदासिनजस्तै छ । यस राजमार्गको क्षमता मुस्किलले ३० टन हो । तर, यहाँ अधिकांश ओभरलोडका मालवाहक सवारी साधन सञ्चालन हुने गर्छन् । भैरहवाको बेलहिया नाकाबाट भित्रिने अधिकांश भारतीय ट्रक, लहरी तथा कन्टेनर ५० टनभन्दा बढी भार बोकेर कुद्ने गर्छन् । जीर्ण सडकमा ओभरलोड सवारी गुड्ने र बर्सेनि पहिरोले सडक बगाएका कारण दुर्घटनाको उच्च जोखिम यस क्षेत्रमा रहेको छ ।

चाइना स्टेट कम्पनीले हालसम्म जम्मा १८ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । थप एक वर्ष म्याद थप भएको भए पनि त्यस अवधिमा काम सम्पन्न हुनेमा सरकारी र ठेकेदार पक्ष आफैं विश्वस्त छैनन् । ०७५ माघ २४ मा सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो । सम्झौता मितिबाट ४२ महिनाभित्र निर्माण सक्नुपर्ने गरी सडक विस्तार सुरु भएको हो । सडक विस्तारको काम २०७९ साउन २२ मा सक्नुपर्ने हो ।

प्रकाशित : आश्विन ९, २०७९ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?