ग्राहकलाई स्वदेशमै रोक्न व्यापारी पुगे नाकामा - लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्राहकलाई स्वदेशमै रोक्न व्यापारी पुगे नाकामा 

रुपा गहतराज

नेपालगन्ज — दसैंको मुखमा रुपैडिहा किनमेल गर्न जानेको भीड बढिरहेको बेला नेपालगन्जका व्यापारीले नाकामा पुगेर नेपाली ग्राहकहरूलाई स्वदेशमै सामान खरिद गर्न आग्रह गरेका छन् । 

व्यापारीहरूले शनिबार नाकामा पुगेर ‘स्वदेशमै सामान खरिद गरौं’ भन्ने पर्चा वितरण गरे। नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा व्यापारीको टोली जमुनाहा नाकामा पुगेर स्वदेशमै खरिद गर्न आग्रह गरेका हुन् ।

बैंकको चर्को ब्याजदर वृद्धि र कारोबारको २०/२५ प्रतिशतमात्र लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको संघले विरोध गरिरहेको छ। संघले शुक्रबार राष्ट्र बैंक अगाडि धर्ना दिएको थियो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सीमावारि नै बजार बढाउन स्वदेशमै किनमेल गर्न अनुरोध गरे । उनले स्वदेशमै किनमेल गर्दा राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।

संघका महासचिव चिरञ्जीवी ओलीले सस्तोको नाममा रुपैडिहा पुगेका नेपाली ग्राहक ठगिँदै आएको जिकिर गरे ।

प्रकाशित : आश्विन ८, २०७९ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्

'फिल्म सम्पादन पनि कला हो' [भिडियो]

रीना मोक्तान

काठमाडौँ — 'च्यालेन्ज' भन्ने फिल्ममा पहिलो पटक दीर्घ खड्काले सम्पादनको जिम्मा पाएका थिए । एक वर्ष लगाएर खुबै मिहेनतले फिल्मको काँटछाँट गरे । सम्पादनमा हात बसाउन गज्जबको अभ्यास भयो । तर, सबै काँटछाँटपछि फिल्म प्रदर्शनको टुङ्गो लागेन । त्यसैबीच फिल्मका निर्देशक श्याम भट्टराई विदेश लागे, अभिनेता पनि विदेशिए । डेब्यू फिल्म नै डब्बा ! पहिलो गाँसमै दीर्घलाई ढुङ्गा पर्‍यो ।

फर्केर हेर्दा, पहिलो काम देखाउन नपाएकोमा दीर्घलाई अहिले थकथकी छैन । हिट फिल्मबाट डेब्यू हुन जुरेको थियो सायद, 'चपलीहाइट'ले उनैलाई पर्खे झैं भयो । व्यवसायिक हिट 'चपलीहाइट'ले नै दीर्घलाई सम्पादनमा शानदार डेब्यू गरायो ।

खासमा 'च्यालेन्ज'को सम्पादन फिल्मकर्मी सिमोस सुनारको अफिसमा भएको थियो । त्यहीँ उनले भर्खरै फिल्म क्षेत्रमा पाइला चाल्दै गरेका दीपेन्द्र के खनाललाई भेटे । निर्माता अर्जुन कुमारसँग पनि त्यहीँ भेट भयो । एकअर्कामा पारिवारिक माहोल बन्दै गयो । पहिलो फिल्म प्रदर्शन नआए पनि त्यहीक्रममा सिमोस सुनारको सहायक बनेर 'चपलीहाइट'मा काम गर्ने कुरा भयो । दीर्घले फिल्मको लाइनअप काट्ने, अन्तिममा सिमोसले फाइनल गर्ने पक्कापक्की भयो । पछि निर्देशक/निर्माताले दीर्घकै सम्पादन रुचाइदिए । सिमोसले सम्पादनमा खासै समय दिन पनि पाएनन् । यौन मनोविज्ञानमा आधारित फिल्मको पोस्टर र ट्रेलरले छुट्टै चर्चा कमाइसकेको थियो। फिल्म हिट पनि भयो ।

यही फिल्मपछि फिल्मकै लागि दीर्घले निर्देशक/निर्माताको अघिपछि लाग्नु परेन । सन् २०१२ मा 'चपलीहाइट' प्रदर्शन हुने बित्तिकै लगातार फिल्महरूको अफर आउन थाल्यो । थुप्रै फिल्ममा आफ्नो सम्पादन कला देखाइसकेका दीर्घ आफ्नो डेब्यू फिल्मको चर्चा कहिल्यै बिर्सँदैनन् । 'त्यतिबेला निर्माता अर्जुन कुमारको होर्डिङ बोर्डको व्यापार थियो । उनले जताततै फिल्मको पोस्टर टाँसेका थिए । पोस्टरमा अभिनेत्रीको ब्याकको टपलेस तस्बिरले निकै चर्चा पायो । उक्त पोस्टर विवादमा आएपछि टपलेस तस्बिरलाई परिवर्तनसम्म पनि गर्नुपरेको थियो,' दीर्घ सुनाउँछन्, 'लुट र 'चपलीहाइट' सँगसँगै प्रदर्शनमा आएका थिए । त्यतिबेलासम्म पूरानै फिल्मकर्मी फिल्म क्षेत्रमा हाबी थिए । तर, लुट र चपलीहाइट गेमचेन्जर बने । यी फिल्ममा पूराना फिल्मको भन्दा फरक स्वाद थियो ।' दीर्घले 'लुट'को ट्रेलरमा पनि काम गरेका थिए ।

'छड्के'पछि 'नाइ नभन्नु ल २', 'होस्टेल रिटर्न्स', 'पशुपति प्रसाद', 'चपलीहाइट २', 'धनपति', 'ऐश्वर्य', 'फाटेको जुत्ता', 'पञ्चेबाजा', 'चंगा चेट', 'द म्यान फ्रम काठमाडौं', 'ए मेरो हजुर ३', 'क्याप्टेन', 'आमा', 'परदेशी', 'चिसो मान्छे'देखि 'के घर के डेरा'सम्म आइपुग्दा लगभग ४० बढी फिल्ममा दीर्घले सम्पादनको अनुभव बटुलिसके । त्यही अनुभवले अहिले दृश्यमार्फत कथालाई कसरी प्रस्तुत गर्ने भन्ने कुरामा निर्देशकलाई कन्भिन्स गर्न सक्नेसम्मका भएका छन् । सुरुवाती दिनमा त निर्देशकले भने झैं काँटछाँट गर्ने अपरेटर मात्र थिए । तर, अहिले निर्देशकले देखेको फिल्मभित्रको संसारलाई उनी सम्पादनमार्फत जीवन्त बनाइदिन्छन् । 'स्क्रिप्ट राइटरले एउटा मुडमा बसेर फिल्म लेखेको हुन्छ । त्यही अनुरुप फिल्म खिचिन्छ । तर, भिजुअल्ली हेर्दा ती कुराहरू मिलेको हुँदैन । अनि त्यस्तो मिलेकोजस्तो लागेन भने इडिटिङमा मिलाउँछु । फिल्म खिच्दा कति समय लगाएर दृश्यहरू खिचिएका हुन्छन् । अब सबै कुरा जोडेर पनि फिल्म बन्ने होइन । ती दृश्यहरूले भन्न खोजेको कुराको मर्म मर्न नदिइ इडिट गर्नुपर्छ,'दीर्घले भने,'पहिलो फिल्म गर्दा मलाई यति नै खतरा हो भन्ने लाग्थ्यो । तर जब गर्दै आएँ, अझै सिक्न बाँकी छ यात्रा अझै लामो छ भन्ने भयो ।'

स्कुलबाट भागेर फिल्म

अहिले दीर्घ जहाँ आइपुगेका छन्, कतै न कतै बाल्यकालकै फिल्म मोहले तानिएका हुन् । बाल्यकालदेखि नै फिल्ममा झुकाव बढी । दीर्घ रामेछापमा हुर्के, स्कुले जीवन त्यतै बिताए । फिल्म दुनियाले उनलाई यत्ति तानेको थियो कि उनी स्कुल बंक गरेरै भिडियो देखाउने ठाउँमा फिल्म हेर्न पुगिहाल्थे । फिल्म हेर्ने ठाउँसम्म पुग्न स्कुलदेखि हिँडेर लाग्थ्यो - साढे २ घण्टा । पहिलो कक्षामा हाजीर गराई फिल्म हेर्न कुदिहाल्थे उनी। स्कुल छुट्ने बेलामा अन्य विद्यार्थीसँगै घर फर्कने दैनिकी लामो समय चल्यो । झुट बोलेको कुरा समातिँदा घरमा कति पिटाइ खाए कति ! उनीसँग हिसाब छैन । पिटाइले फिल्मप्रतिको मोह घटाएन । राजेश हमालको 'देउता'देखि हिन्दी फिल्म 'दिल', 'साजन', 'सडक'लगायत फिल्महरू त्यही समयमा उनले हेरे । फिल्ममा कहिले कुन दृश्य त कहिले कुन देखाँदा उनी सोच्थे, 'यो कताको सिन कता आएर कसरी जोडेको हो । पक्कै यसरी नै फिल्म खिचिन्छ होला !'

दीर्घले अहिले बुझिसके त्यसरी पटकथाहरूलाई जोडिदिने, कथाअनुसार फिल्मलाई बगाइदिने भूमिका सम्पादकको हुँदो रहेछ । एसएलसी सकेर ०५७ तिर काठमाडौं आउँदा फिल्म दीर्घको हृदयको कुनै कुनामा लुकेको थियो । त्यतिबेलासम्म उनी विदेशमै आफ्नो भविष्य देख्थे । विदेश जाने तयारीबीच ३ वर्ष बार टेन्डर बनेर काम गरे । २०६२/६३ को आन्दोलनले विदेशिने प्रक्रिया ढिला भयो । त्यतिबेलातिर कुपण्डोलमा रहेको एक इन्स्टिच्युटमा भिडियो इडिटिङको तालिम लिइसकेका थिए । फरक-फरक भिडियो जोड्ने, त्यसमा नामहरू राख्ने, सम्पादनको स्वादले तान्न थालिसकेको थियो । त्यही इन्स्टिच्युटमै इडिटिङ सिकाउन थाल्दाथाल्दै च्यानल नेपालमा जोडिए । फिल्मकर्मी सिमोस सुनारसँग त्यहीँ चिनाजान भयो । अनि फिल्मतिर यात्रा मोडियो ।

फिल्ममा आवद्ध भएर काम गर्दा सुरुवाती समयमा खासै कमाइ नहुने । घरका जेठा छोरा दीर्घ, काठमाडौंमै बसेर पनि खर्च पठाउन सक्थेनन् । 'फलानाका छोरा विदेश गएर यति कमायो, जग्गा किन्यो' भनेर सुनाउँथे परिवार । त्यस्तै कुरा सुन्नुपर्ने डरले परिवारको अगाडि पर्दैनथे उनी । तर, विस्तारै फिल्मको कामहरूले दाम धेरै नदिए पनि नाम दिन थाल्यो । परिवारले छोरा सही दिशामा छ भन्ने कुरामा ढुक्क हुन थाले । अहिले फिल्मकै कामले परिवारको खर्च उठाउन सक्ने भएका छन् । व्यवसायिक हिट फिल्ममा मात्रै उनले सम्पादन गरेका छैनन् । फरक धारका फिल्म 'पशुपति प्रसाद', 'आमा', 'चिसो मान्छे'जस्ता फिल्महरूमा पनि आफ्नो सम्पादन खुबी पस्किसके । सुरुवातदेखि नै गम्भीर फिल्मकर्मीसँगको संगतले आफूलाई गम्भीर फिल्महरूमा काम गर्ने मौका जुरेको उनी बताउँछन् । दीर्घको बुझाइ छ, 'सामाजिक विषयवस्तु हुनेबित्तिकै समीक्षकले फिल्ममा चासो राख्दा रहेछन् । अहिले त यस्तै फिल्महरूको लहर छ । मलाई लाग्छ, हामीले हाम्रो कथाहरू फिल्ममा भन्न जरुरी छ ।'

फिल्म सम्पादन, पोस्ट प्रोडक्सनको काम हो । छायांकनपछि फिल्म सम्पादन टेबलमा आइपुग्छ । तर, हामीकहाँ प्रदर्शनको केही समय अगाडि मात्रै सम्पादनमा फिल्म आइपुग्छ । छोटो समयमा काम गर्नु पोस्ट प्रोडक्सनमा काम गर्नेहरूको नियती नै बनेको छ । हतारमा काम गर्नुपर्दा सम्पादनमा पनि फिल्म बिग्रने गरेको दीर्घ सुनाउँछन् । 'कतिपय समयमा फिल्मको कथा थाहा नहुँदा, प्रोजेक्टमा उचित समय दिन नपाउँदा अनि निर्देशकसँग राम्रो छलफल नगर्दा पनि फिल्म बिग्रिरहेको हुन्छ । कति कुरा त पारिश्रमिकमा आएर पनि बिग्रेको हुन्छ,' हाँस्दै सुनाए, 'खासमा काम गर्ने उचित समय हुँदाहुँदै पनि प्रदर्शन मिति नजिकिँएसँगै नेपाली फिल्मकर्मी तात्न थाल्छन् । अनि हतारमा काम गर्नुपर्छ । प्रदर्शन मिति पहिल्यै तोकिन्छ अनि फिल्मको पटकथा लेख्न बस्छन् यहाँ । फिल्म छायांकनमा लामो समय लागिसक्छ अनि हतारमा पोस्ट प्रोडक्सनमा फिल्म आइपुग्छ ।'

हतारमा काम गर्दा टिमका एक जनाले गल्ती गरिदिँदा काम बिग्रने गरेको अनुभव उनीसँग रहेछ । 'कतिपय समयमा मैले रातदिन मेहनत गरेको फिल्मको साउन्ड, कलर बिग्रिरहेको हुन्छ । फिल्ममा इडिटिङ, कलर अनि सम्पादनको काम कस्तो भयो भनेर फाइनल प्रोजेक्ट हेर्न पनि भ्याइरहेका हुँदैनौं । खासमा फिल्म त टिमवर्कमा बन्ने हो,' उनले भने, 'यसरी टिममा बसेर आ-आफ्नो कामको प्रतिक्रिया लिन पनि पाइरहेका हुँदैनौं हामी । त्यो दु:ख लाग्दो कुरा हो । प्रोसेसमा काम गर्ने सिस्टम बसिसकेको छैन । कतिपय समय आफूले राम्रो काम गरिन्छ । तर साउन्ड, भिएफएक्समा काम बिग्रँदा हाम्रो काम छायाँमा परिदिन्छ ।'

पटकथा लेखनदेखि नै सम्पादकलाई फिल्ममा आवद्ध गराए कामको नतिजा राम्रो आउनेमा उनी ढुक्क छन् । तर, नेपालमा त्यसरी काम पनि हुँदैन । पोस्टमा फिल्म आइपुग्दा पनि पटकथा दीर्घको हातमा परेको हुँदैन । नेपाली फिल्मको प्रमुख समस्या नै पटकथा लेखन रहेको दीर्घ बताउँछन् । 'खासमा हाम्रो फिल्म मेकिङमा पटकथा लेखनमै कमजोरी देख्छु । सर्वप्रथम त पटकथा नै राम्रो हुनुपर्‍यो । कलाकारले त्यसरी नै राम्रो काम गरेको हुनुपर्‍यो । सबै कुरा राम्रो छ भने हामीमा पनि छुट्टै उर्जा थपिन्छ, राम्रो काम गर्ने, 'उनले भने,' कहिले त यो दृश्यको लिंक दृश्य कुन हो भन्दा त्यसको जवाफ निर्देशकसँग हुँदैन । हामीले त एउटै प्रोजेक्टमा लामो समय दिनुपर्छ । त्यसरी उचित समय दिँदा नयाँ-नयाँ आइडिया थपिने भयो । तर यहाँ त हतारमै फिल्म गर्नुपर्ने बाध्यता हुन्छ । फेरि छोटो समयमा गरेको काम नराम्रो नै हुन्छ भन्ने पनि होइन ।'

आफ्नो टेबलमा आइपुगेको फिल्मको पहिलो दर्शक हुन् दीर्घ । त्यसैले कथाको भाव र मर्ममा डुबेर आफूहरूले फिल्मको अन्तिम रुप दिने जिम्मेवारी पाएको दीर्घ सुनाउँछन् । 'कथाको भावमा डुब्दै, त्यसलाई अनुभव गर्दै फिल्म इडिटिङ गरिन्छ । फुटेजलाई काट्ने त हुन्छ तर कथाको भावनालाई अनुभव गरेरै हामीले फिल्म इडिटिङ गरिरहेका हुन्छौं,' दीर्घले भने, 'खासमा सम्पादन पनि कला नै हो । हेर्दा त भिडियोहरू जोडेको मात्रै देखिन्छ । तर, कथाको मर्म अनुसार हामीले सम्पादनको कलात्मकता त्यसमा देखाउनुपर्छ ।'

दीर्घ पारिश्रमिकमा सवालमा प्राविधिकहरू अझै पछाडि परेको बताउँछन् । 'नेपालमा २-३ करोडमा फिल्म बन्छ । पोस्ट-प्रोडक्सनमा १०/१२ लाख दिइन्छ । खासमा नेपालमा त प्राविधिक नै सस्तो छ नि । निर्देशक, कलाकारसँग हामी सम्पादकको पारिश्रमिक हेर्ने हो भने आलुप्याज र खसीको मासुको भाउ हुन्छ,' उनले भने । कलाकार, निर्देशक र निर्माता दर्शकबीच चिनिए पनि यसरी फिल्ममा आफ्नो अहम भूमिका खेल्ने दीर्घहरू चर्चामा हुँदैनन् । दीर्घ भने आफूले गरेका सफल कामहरूबाटै चिनिएका छन्।

प्रकाशित : आश्विन ८, २०७९ १६:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×