नरैनापुरमा भोकमरीको चिन्ता

खडेरीले अधिकांश खेतबारी बाँझै, रोजगारीलाई भारत पस्दै युवा 
रूपा गहतराज

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिकास्थित एक फुसको झुपडीमा ६ जनाको परिवार बस्छ । घरको पिंढीमा बालबालिका मकैका ठुटासित लडीबुडी खेलिरहेका थिए । परिवारका अनुसार दिनभरि भुटेको मकै खाएर केटाकेटीहरू भोक मेट्छन् ।

नरैनापुरमा भोकमरीको चिन्ता

साँझ परेपछि मात्र भात पाक्छ । घरमूली केवल धोबी दिनभरि मजदुरीका लागि गाउँ डुल्छन् । काम नपाएको दिन रित्तै घर फर्किन्छन् । मजदुरीबिना छाक टार्न मुस्किल छ ।

नरैनापुर–५ का उनको बर्खामा छाना चुहिने पिरलो हटे पनि पानी नपर्दा खेतमा धान सुकेको छ । दुई छोरा र दुई छोरी गरी ६ जनाको परिवार सँगै बस्छन् । चार कठ्ठा जग्गामा खेती गरेर जीवन निर्वाह गर्दै आएका उनको घरमा अहिले खाने चामलको दाना छैन । सीमावर्ती गाउँबाट किनेर ल्याउँछन् । ‘दैनिक मजदुरी गरेर छाक टार्नुको विकल्प छैन । ‘गाउँमा मजदुरी गरौं भने पनि नियमित काम छैन,’ उनले भने, ‘यो सहर होइन, गाउँमा यतिबेला काम पनि पाइँदैन । काम हुँदा खाने र नहुँदा छोराछोरीलाई खुवाएर भोकै बस्नुपर्ने बाध्यता छ ।’

अहिले नरैनापुरको मटैहवा, नेवाजी गाउँ र भगवानपुर गाउँ सुक्खाले भोकमरीको चपेटामा छ । नरैनापुर–५, मटहैयाका चेतराम धोबीको ८ जनाको परिवार छ । उनीहरूको ४ कठ्ठा जमिन छ । त्यतिले नपुगेर उनीहरू अँधियाँमा खेती लगाउँछन् । तर, यसपटक सुक्खा परेपछि उत्पादन भएन । उनी अहिले चामल किनेर खाने अवस्थामा छन् । गत वर्ष भारी वर्षाले धानमा भएको क्षतिको मुआब्जा समेत पाएका छैनन् । ‘घरमा भएको रासन सकियो । धान भित्र्याउने बेला खेतभरि घाँस मात्र उम्रिएको छ,’ उनले भने, ‘राहत दिने नजिकको स्थानीय सरकार कांग्रेस, एमाले र फोरम भन्दै राहत बाँड्छन् । जनताको दुःखसुखमा साथ दिंदैनन् ।’ दसैं–तिहारपछि खाने चामल सकिने र त्यसपछि के खाने भन्ने चिन्ताले अहिलेदेखि नै सताउन थालेको उनले सुनाए ।

नरैनापुर गाउँका अधिकांश युवा कामका लागि भारत पस्दै छन् । नरैनापुर–५ नेवाजी गाउँका ६५ वर्षीय लक्ष्मणप्रसाद मौर्यको परिवार ठूलो छ । बटैयाले गुजारा चलेको थियो । नदी छेउमा रहेको जग्गा उनी बटैयामा दिन्थे । यस वर्ष सुक्खालले खेती भएन । श्रीमती बिरामी भएर बिस्तरामा ढलेकी छन् । चार छोरा छुट्टिएर बसेका छन् । छोराहरूले पालैपालो रासन दिएपछि उनी दुई छाक टार्छन् । ‘जब चुनाव आउँछ, नेताहरू घरमा पुगेर अनेकौं वाचा गर्छन् । अहिले यस्तो अवस्थामा हामीलाई हेर्ने कोही भएन,’ उनले भने, ‘नेता आए, मन्त्री आए । तर, कोही पनि हाम्रो दैलोसम्म पुगेका छैनन् । कुनै मद्दत गरौं भनेर कोही आउँदैनन् ।’

संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज स्वयंले स्थलगत निरीक्षण गरिसकेकाले सरकारबाट राहत कार्यक्रम घोषणा गर्ने आश्वासन बाँडेका थिए । तर, उनीहरूले नजिकको स्थानीय तहबाट कुनै राहत पाउन सकेका छैनन् । सुक्खाग्रस्त घोषणा भएको नरैनापुर गाउँपालिकामा भोकमरी हुन थालेको भन्दै स्थानीय राहत माग्न गाउँपालिकासम्म पुगेका थिए । खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न स्थानीय गाउँपालिका पुगेका हुन् । खडेरीका कारण खेती गर्न नपाउँदा अधिकांश किसानको खेतबारी बाँझै छ । आकाशे पानीको निर्भरता हटाउन दीर्घकालीन सिंचाइको पूर्वाधार निर्माणमा गाउँपालिका केन्द्रित छ । ६ वटा वडा रहेको नरैनापुरमा २ नम्बर वडाबाहेक अहिले सबैतिर भोकमरीको जोखिम छ ।

नरैनापुर गाउँपालिका कृषि शाखाका प्रमुख सदन भण्डारीले भने अहिल्यै भोकमरीको अवस्था आइनसकेको बताए । बाली भित्र्याउने समय नआइसकेकाले ठ्याक्कै भोकमरीको अवस्था छ भन्न नसकिने उनले सुनाए । ‘धानको उत्पादन र क्षतिको लगत संकलन गरी वास्तविक पीडितका लागि खाद्य सुरक्षाका लागि सहयोग गर्ने सोच बनाएका छौं,’ उनले भने ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले खेती गर्न नपाएका अधिकांश किसानको घरमा भोकमरीको अवस्था सुरु भइसकेको बताए । ‘भोकमरीबाट पीडित किसान अहिले ठूलो संख्यामा गाउँपालिकामा आउने गरेका छन्,’ उनले भने, ‘किसानको समस्याका सवालमा संघीय सरकारसँग हारगुहार गरिरहेका छौं ।’ नरैनापुरमा यस वर्ष कुल खेतीयोग्य जमिनको झन्डै १५ प्रतिशतमा मात्रै खेती भएको पालिकाले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७९ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?