अर्घाखाँचीमा पुरुषद्वारा पत्नीको हत्या

वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँचीको शितगंगा नगरपालिका–३ ठाडामा ५३ वर्षीय एक पुरुष आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । ठाडाका पिताम्बर भुसालले ५० वर्षीय श्रीमती मनकला भुसालको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

शुक्रबार साँझ घरमा श्रीमान–श्रीमतीबीच झगडा हुँदा पिताम्बरले अचार पिस्ने लोहोरो (ढुंगा) ले मनकलाको टाउकोमा हानेपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताए ।

श्रीमतीलाई हानेर हत्या गरेपछि पिताम्बर प्रहरी कार्यालयमा पुगेर आफूले श्रीमतीको हत्या गरेर आएको बयान दिएको रेग्मीले जानकारी दिए । अहिले पिताम्बर प्रहरी नियन्त्रणमा रहेका छन् । मृतक मनकलाको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ ।

स्थानीयहरूका अनुसार केही वर्षदेखि भुसाल दम्पत्तिबीच नियमित झगडा हुने गरेको थियो । उनीहरूले एउटै घरमा छुट्टाछुट्टै भान्सामा पकाएर खाने गरेको पनि छिमेकीहरूले बताए । उनीहरूका दुई छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित : आश्विन ७, २०७९ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?