नरैनापुरमा विपद् सूचना व्यवस्थापन प्रणाली लागू गरिने

रुपा गहतराज

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ । गाउँपालिकासँगको सहकार्यमा वडास्तरबाट तथ्यांक संकलन गरी दुई महिनाभित्रै पोर्टल सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

नरैनापुर गाउँपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा एसडीएफले आयोजना गरेको पोर्टल स्थानीयकरणसम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टलमार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्कता, जोखिमसम्बन्धी जानकारीका साथै क्षमता र संशोधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने भएकाले उक्त पोर्टल सञ्चालनका लागि गाउँपालिका तत्पर रहेको बताए ।

कार्यशालालाई सहजीकरण गर्दै आईएचआरआरका टिम लिडर सुरज गौतमले विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि चाहिने पूर्वतयारी, पूर्वचेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्नुका साथै यसले विपद् जोखिमको सञ्चार र विपद्पछिको घटनामा समन्वय गर्न; तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न तथा स्थानीयस्तरमा निर्णय लिन र नीति बनाउनसमेत मद्दत पुर्‍याउने बताए ।

कार्यशालामा सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक शेर रौलेले विपद् पोर्टलले जल विज्ञान र मौसमसम्बन्धी जोखिमहरू भारी वर्षा‚ बाढी, वातावरणीय जोखिम‚ जलवायु प्रदूषण र भूकम्पजस्ता भूगर्भीय जोखिमसम्बन्धी सूचना दिनुका साथै चेतावनी वा खतरा सीमा पार गर्दा विपद् पोर्टलमा चेतावनी सूचना प्रदर्शित हुने बताए ।

पोर्टल सञ्चालनमा ल्याउनका लागि एसडीएफलाई प्राविधिक सहयोग गर्दै आएको नक्साका सुमिता मानन्धर र रोजिना ढकालले प्रकोपसम्बन्धी कागजात, स्थानीय, वडा र समुदायस्तरमा प्रकोप व्यवस्थापन समितिका सदस्यको सम्पर्क जानकारी, स्थानीय सरकारले प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परियोजनासम्बन्धी डेटा र जानकारी एकीकृत गर्न पोर्टल सञ्चालनमा ल्याउन जरुरी रहेको बताउँदै पोर्टल सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित : आश्विन ६, २०७९ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?