डेंगीविरुद्ध लुम्बिनीका सबै जिल्लामा अभियान- लुम्बिनी - कान्तिपुर समाचार

डेंगीविरुद्ध लुम्बिनीका सबै जिल्लामा अभियान

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा डेंगीको प्रकोप देखिएको छ । प्रकोप फैलिएपछि प्रदेशअन्तर्गतका सबै जिल्लाका स्वास्थ्य कार्यालयले डेंगीविरुद्ध अभियान सुरु गरेका छन् ।

स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले डेंगीको थप जटिलता रोक्नका लागि स्वास्थ्य कार्यालय र स्थानीय तहमार्फत नियन्त्रण र चेतना अभियान चलाएको बताए । स्वास्थ्य कार्यालयले हरेक जिल्लाका स्थानीय तहमा डेंगी नियन्त्रणको प्रभावकारी उपाय मानिने लामखुट्टे र त्यसको लार्भा खोज्ने र नष्ट गर्ने काम थालेको हो ।

‘डेंगी नियन्त्रणको प्रभावकारी उपाय लामखुट्टे र त्यसको लाभ्रा खोजेर र नष्ट गर्नु रहेछ । यस्तो अभियानमा जोडिन नागरिक संघसंस्था र साझेदार निकायलाई पनि आग्रह गरेका छौं,’ लुम्बिनी प्रदेशमा डेंगी रोग प्रकोपको अवस्थाबारे बिहीबार बुटवलमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा मन्त्री चौधरीले भने ।

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा अहिलेसम्म २ हजार ७ सय ८ जना संक्रमीत भएका छन् । हाल डेंगी संक्रमित १३ जना सिकिस्त बिरामी अस्पतालमा उपचाररत छन् । मन्त्रालयका सचिव विकास देवकोटाले संक्रमण जताततै देखिएकाले सरकारी तथ्यांक थोरै भए पनि त्यसको दोब्बर बिरामी रहेको बताए । लक्षण भए पनि जाँच नगर्ने र भए पनि निजी अस्पतालमा गर्ने भएकाले तथ्यांकमा थोरै बिरामी देखिएको उनले बताए ।

लुम्बिनीमा २० वटा सेन्टरमा डेंगीको परीक्षण हुन्छ । यद्यपि किट अभावले बेला बेलामा परीक्षणमा अवरोध हुने गरेको छ । मन्त्रालयका सचिव देवकोटाले डेंगीको छुट्टै उपचार नहुने भएकाले किट नपाइने वा परीक्षण सम्भव नहुने बिरामीको प्लेटलेट्स हेरेर उपचार गरिरहेको बताए । मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले संक्रमित लामखुट्टेका सबैजसो अन्डा सक्रिय हुने भएकाले नष्ट गर्ने अभियानलाई घरघरमा पुर्‍याउन आवश्यक रहेको बताए ।

प्रकाशित : आश्विन ६, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्

विभूषणको लर्को प्रदेशमा पनि, लुम्बिनीबाट ६१ जनालाई पदक

अमृता अनमोल

बुटवल — बुटवल ­ संघीय सरकारले झैं प्रदेश सरकारले पनि विभूषण र पदक दिने व्यक्तिको लर्को लगाउन थालेको छ । संविधान दिवसको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले मात्रै ६१ जनालाई पदकबाट विभूषित गरेको घोषणा गरेको छ ।

बुटवलमा आयोजित संविधान दिवस विशेष समारोहमा प्रदेश पदकबाट विभूषित गरिएका व्यक्तिहरुको नामावली घोषणा गरिएको थियो । रुपन्देहीका जनार्दन यादव मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापाले संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्‍याएको भन्दै प्रदेश प्रमुख तृतीय जनसेवा पदक पाएका छन् ।

बाँकेका डा. मोहिउद्दीन किदवाई र चितवनका डा. राजन पाण्डेले मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीया पाउनेछन् । प्रदेश सेवा समर्पण पदक प्रथम प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटालाई दिइएको छ ।

प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका अनुसार प्रदेश सेवा समर्पण पदक द्वितीया नौ जनालाई, प्रदेश सेवा समर्पण पदक तृतीय एक जनालाई, उजिरसिंह दीप पदक द्वितीया चार जनालाई र उजिरसिंह दीप पदक तृतीय चार जनालाई प्रदान गरेको छ ।

समाजसेवा श्री पदक द्वितीयाबाट ६ जना र समाजसेवा श्री पदक तृतीयबाट एक जनालाई विभूषित गरेको छ । प्रदेश रत्न पदक प्रथम दुई जनालाई, प्रदेश रत्न पदक द्वितीया १२ जनालाई, प्रदेश रत्न पदक तृतीय ६ जनालाई प्रदान गरेको छ ।

प्रजापति गौतमी पदक द्वितीया र तृतीयबाट एक/ एक जना, दंगीशरण बलिहाङ पदक द्वितीयाबाट एक जना तथा दंगीशरण बलिहाङ पदक तृतीयबाट चार जनालाई विभूषित गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयतामा सबै समूहको योगदानको कदर र अपनत्व महसुस गर्दै प्रोत्साहन र सम्मानका लागि पदकहरु राख्ने र दिने गरिएको बताए ।

प्रकाशित : आश्विन ३, २०७९ १६:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×