कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तानसेनका १८ सय परिवारलाई न्यूनतम विद्युत् महशुल नि:शुल्क

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिकाले नगरभित्रका सबै वडाका १ हजार ८ सय १५ विपन्न नागरिकलाई न्युनतम् विद्युत् महशुल नि:शुल्क प्रदान गर्ने सम्झौता गरेको छ । तानसेन नगरपालिकाको ११ औं नगरसभाको नीति तथा कार्यक्रम अनुसार कार्यविधि बनाएर विपन्न परिवारलाई २० युनिटसम्मको विद्युत् महशुल नगरपालिकाले तिर्ने भएको हो ।

तानसेनका १८ सय परिवारलाई न्यूनतम विद्युत् महशुल नि:शुल्क

तानसेनमा बुधबार नगरपालिका र नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रबीच सम्झौता भएको छ । सम्झौतामा तानसेन नगरपालिकाकी नगर उपप्रमुख प्रतीक्षा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली र नेपाल विद्युत् प्राधिकरणको तर्फबाट प्रमुख इन्जिनियर विवेक अधिकारीले हस्ताक्षर गरेका छन् । यसबाट प्रति परिवार ३ सय ६० नगरपालिकाको खर्च हुन्छ । नगरपालिकाले वार्षिक ६ लाख ५३ हजार ४ सय तिर्नुपर्छ ।

कार्यविधि अनुसार पाँच एम्पिएर क्षमताको मीटर जडान भएकाहरुको नि:शुल्क हुनेछ । उनीहरुले मासिक न्यूनतम् २० युनिटसम्म विद्युत् खपत गर्नेहरुले यो छुट पाउने नगरउपप्रमुख सिंजालीले बताइन् । ‘विपन्न परिवारले २० युनिटभित्र नभई २२, २५ युनिटसम्म पनि बत्ती बालेछन् भने पनि नगरपालिकाले तिरिदिनेछ,’ उनले भनिन् । कार्यक्रमबाट सबैभन्दा धेरै तानसेन–११, बन्दीपोखराबाट ४ सय ८२ घरपरिवारले सुविधा पाउने छन् । तानसेन–८, मदनपोखराका ३ सय ४५, १२ को बौघापोखराथोकका ३ सय २६, ९ को दमकडाका १ सय ६३ परिवारले यो सुविधा पाउने नगरप्रवक्ता यादवसिंह कार्कीले बताए ।

यसैगरी तानसेन–१३, बौघागुम्हाका १ सय २५, ५ का १ सय ६५, १० का ६८, ६ का ६०, ७ का ४१, १४ का २१, १ का नौ, ४ का पाँच, ३ का चार र २ का एक परिवारले सुविधाका लागि निवेदन दिएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । निवेदन दिएका सबै उपभोक्ताको न्यूनतम विद्युत् महशुल नगरपालिकाले विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रसँग सम्झौता गरेर रकम बुझाउने छ । ‘नगरसभाको नीति तथा कार्यक्रम अन्तर्गत सहुलियत प्रदान गर्न लागेको हो,’ नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गा थापाले भने ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार २० युनिटसम्म ३० रुपैयाँ लाग्नेगर्छ । प्राधिकरणले विपन्न नागरिकलाई न्यूतम खपत युनिटमा ६० रुपैयाँ मासिक छुट दिएको छ । जिल्लाभर २० युनिटसम्म विद्युत् खपत गर्ने २५ हजार रहेको पाल्पा वितरण केन्द्रका प्रमुख अधिकारीले बताए । जिल्लामा ३७ हजार विद्युत्का ग्राहक छन् । तानसेन नगरपालिकासँग भएको सम्झौताले विपन्न नागरिकको विद्युत् महशुल मात्र नभई महशुल बुझाउन आउने/जाने खर्च, समय बचत हुने उनले बताए ।

प्रकाशित : आश्विन ६, २०७९ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?