कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगीले लिँदै ज्यान

दाङपछि रूपन्देहीमा डेंगी संक्रमित अत्यधिक, भेरी अस्पतालमा मात्रै १५ दिनयता ४ बिरामीको मृत्यु
सन्जु पौडेल

लुम्बिनी — दुई साताअघि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको मृत्यु भयो । घोराही–१४ की ४० वर्षीया उनको अस्पताल पुर्‍याएको २ घण्टाभित्रैमा मृत्यु भएको थियो । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि उनलाई परिवारले अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याउँदा नै कम रक्तचाप र अक्सिजन अभावले छटपटिएकी उनको उपचारका क्रममा डेंगी पोजिटिभ देखिएको हो ।

डेंगीले लिँदै ज्यान

नेपालगन्जस्थित भेरी अस्पतालमा पछिल्लो १५ दिनमा ४ जना डेंगी संक्रमितको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । मृत्यु हुनेमा बाँके, बर्दिया र कैलालीका बिराम् ीरहेका थिए । ज्वरो आएपछि औषधि खाएर घरमै बसेका उनीहरू गम्भीर अवस्थामा अस्पताल आएका थिए । उपचारकै क्रममा उनीहरूको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये एक वृद्ध, एक बच्चा, एक सिकलसेल एनेमिया भएका बिरामी र एक दमरोगी रहेको बताइएको छ ।

लुम्बिनी प्रदेशमा वर्षा सुरु भएसँगै तराईका जिल्लामा फैलिने डेंगी प्रदेशका पहाडी जिल्लामा समेत बढ्दै गएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको तथ्यांकमा उल्लेख छ । प्रदेशमा हालसम्म २ हजार ६ सय ८३ डेंगीका बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले बताए । ‘संख्या बढ्दै गएको छ,’ उनले भने, ‘प्रतिदिन १ सयको हाराहारीमा प्रदेशमा संक्रमित बढेका छन् ।’ प्रदेशमा डेंगी नियन्त्रणको अभ्याससमेत जारी रहेको उनले बताए । ‘हरेक जिल्लामा डेंगी फैलाउने लामखुट्टेको बासस्थान खोज र अण्डा/लार्भा नष्ट गर भन्ने अभियान चलिरहेको छ,’ उनले भने, ‘पानी पर्न कम भएपछि विस्तारै संख्या पनि घट्दै जान्छ ।’ डेंगी नौलो रोग नभएको र यसबाट बच्न अपनाउनुपर्ने उपायबारे सबैमा चेतना भएकाले सोहीअनुसार जोगिन आग्रहसमेत गरिएको उनले बताए ।

पछिल्लो २४ घण्टामा मात्र प्रदेशमा ४० जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये दाङका ३१ जना रहेका छन् । प्रदेशभरि डेंगीका बिरामी बढ्दै गएको जिल्लामा दाङ पहिलो नम्बरमा छ । त्यस्तै, अर्घाखाँचीमा ७ जना फेला परेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । पाल्पा र रुकुम पूर्वमा १/१ जना थप भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले स्थानीय तहसँग समन्वय गरी डेंगीविरुद्ध विभिन्न काम गरिरहेको बताए । ‘हाम्रो जिल्लामा पहिले संक्रमित थिएनन्,’ उनले भने, ‘नारायणगढ हुँदै रूपन्देही आएको यो रोग जिल्लामा यात्रा गरेर आएका संक्रमितबाट फैलिएको हुन सक्छ ।’ आफूहरूले सबैभन्दा पहिले घोराहीको अटोभिलेज एरियाबाट संक्रमित फेला पारेपछि त्यस क्षेत्रमा स्प्रे गर्ने, पुराना पानी जम्ने भाँडा सफा गरेको जनाए । साथै १८ वटा पालिकामा सम्पर्क गरी जनचेतना, स्प्रे छर्ने तथा ३ सय वटा डेंगी जाँच किटसमेत प्रदान गरिएको उनले बताए । उनका अनुसार गरिब तथा अति विपन्नलाई डेंगीसम्बन्धी जाँच, औषधि खरिद निःशुल्कसमेत गर्ने व्यवस्था गरिएको छ ।

हालसम्म लुम्बिनी प्रदेशको दाङमा सबैभन्दा धेरै १ हजार १ सय ८० संक्रमित फेला परेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले अस्पतालका १ सय ७५ वटै बेड बिरामीले भरिएको बताए । ‘तीमध्ये ५० प्रतिशत ज्वरोका बिरामी रहेका छन्,’ उनले भने, ‘डेंगीसँग लक्षण मिल्छ, गम्भीर नभएका मात्र हुन् ।’ निको हुने दर पनि राम्रो रहेको उनले बताए । अस्पतालका पाँचवटै क्याबिन पनि भरिएपछि अब बिरामी बढ्ने निको हुने दर कम भए बेड अभाव हुन सक्ने उनको भनाइ छ ।

दाङपछि रूपन्देहीमा डेंगीका संक्रमित बढी रहेको तथ्यांकमा उल्लेख छ । रूपन्देहीमा ६ सय ७९ डेंगी संक्रमित फेला परेका छन् । त्यस्तै, पहाडी जिल्ला गुल्मीमा २ सय ९२ जना, अर्घाखाँचीमा १ सय ३८, पाल्पामा ९७, बर्दियामा ८६ जना डेंगी संक्रमित फेला परेका छन् । त्यस्तै, पश्चिम नवलपरासीमा ६०, बाँकेमा ४४, प्यूठानमा ३६, कपिलवस्तुमा ४९ जनामा डेंगी संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । रुकुम पूर्वमा १६ जना डेंगी संक्रमित छन् भने रोल्पामा ६ जनामा डेंगी संक्रमण देखिएको छ ।

मौसम परिवर्तन र बढ्दो सहरीकरणले डेंगी फैलने गरेको भेरी अस्पताल नेपालगन्जका प्रमुख फिजिसियन कन्सल्टेन्ट डा. राजन पाण्डेले बताए । उनले दैनिक २० जनासम्म ज्वरोका बिरामी अस्पतालमा आउने गरेकामा धेरैमा डेंगी संक्रमण देखिने गरेको बताए । ‘अहिले पनि ८ जना भर्ना भएका छन्,’ उनले भने, ‘यो बर्सेनि देखिने रोग हो, यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।’ बर्सेनि बिरामी संख्या बढ्दै जाने उनले बताए । ‘अबको दुई वर्षमा अहिलेको भन्दा थप संख्या बढ्ने अध्ययनमै देखिन्छ,’ उनले भने, ‘अहिले एकपटक टोकेर डेंगी भएका बिरामीलाई अर्कोपटक थप गम्भीर बनाउने लामखुट्टेले टोक्छ, त्यसले बिरामी सिरियस हुने र अन्यमा फैलंदा संख्या बढ्ने हुँदै जान्छ ।’ जुनदेखि डिसेम्बरसम्म देखिने डेंगी संक्रमण त्यसपछि बिस्तारै हराउने उनले बताए । बालबालिकालाई पूरा बाउला भएका लुगा लगाइदिने, पानी जम्ने कुनै पनि स्थानको खोजी गरेर त्यहाँ औषधि छर्कने, लार्भा नष्ट गर्ने अभियान डेंगी रोकथामको उपाय भएको उनले बताए ।

प्रकाशित : आश्विन ६, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?