ट्यांकी बन्यो, पानी आएन- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्यांकी बन्यो, पानी आएन

बजेट सुनिश्चित नहुँदै मन्त्री र नेताको दबाबमा योजना थपिँदा पैसा खर्च भए पनि खानेपानीको अभाव
बाँकेमा ८५ प्रतिशत घरधुरी अहिले पनि ह्यान्डपाइप, कुवा र इनारको पानी खान बाध्य
जे पाण्डे, रूपा गहतराज

नेपालगन्ज — सीमावर्ती जयसपुर मन्त्री मोहम्मद इस्तियाक राईको गाउँ हो । तर, गाउँमा थालिएका खानेपानी योजना अलपत्र हुँदा स्थानीय लामो समयदेखि शुद्ध खानेपानीबाट वञ्चित छन् । ‘ट्यांकी निर्माण गरियो, पाइलाइन विस्तार भइसकेको छैन । नेताहरू नै योजनाका बाधक बनेका छन्,’ जयसपुर खानेपानी सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष बाकर अली राईले भने, ‘मन्त्रीकै गाउँमा २ सय घरधुरीका बासिन्दाले पानी खान पाएका छैनन् । यो त ठूलो विडम्बना हो ।’

मन्त्री राईकै निर्वाचन क्षेत्र नरैनापुर गाउँपालिकामा खानेपानीका नौ वटा योजना छन् । तर सबै अधुरा छन् । ११ वर्षदेखि निर्माण थालिएका योजनासमेत अलपत्र छन् । वडा–वडामा ठड्याइएका खानेपानीका ट्यांकी रित्ता छन् । ‘१ करोड ४३ लाख रुपैयाँ खर्च भइसक्यो । उपभोक्ताले एक थोपा पानी पाएका छैनन्,’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जका प्रमुख तिलक न्यौपानेले भने, ‘ती अधुरा योजना पूरा गर्न २१ करोड रुपैयाँभन्दा बढी रकम चाहिन्छ तर बजेट छैन ।’

यस्तै अवस्था छ, राप्तीसोनारी गाउँपालिकामा पनि । बाँकेकै सबैभन्दा धेरै २० वटा खानेपानीका योजना छन् । ४ करोड ४९ लाख रुपैयाँ खर्च भइसकेको छ । तर, स्थानीयले पानी वितरण गर्न निर्माण गरिएका ट्यांकी हेरर चित्त बुझाउँदै आएका छन् । यी केही उदाहरण मात्रै हुन् । ‘संघीय र प्रदेश सरकारबाट सञ्चालित ७५ देखि ८० योजनाको अवस्था पनि उस्तै छ,’ डिभिजन प्रमुख न्यौपानेले भने । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले नेता र मन्त्रीको दबाबमा सञ्चालन गरिएका योजनामा गत वर्ष २४ करोड रुपैयाँ खर्च गरेको थियो । तर, कुनै योजना सम्पन्न भएका छैनन् । बजेट सुनिश्चित नहुँदै मन्त्री र नेताको दबाबमा योजना थपिँदा पैसा खर्च हुने तर स्थानीयले शुद्ध खानेपानी नपाउने अवस्था देखिएको हो ।

बाँकेमा ८५ प्रतिशत घरधुरी अहिले पनि ह्यान्डपाइप, कुवा र इनारको पानी खाइरहेका छन् । १४ दशमलव ९० प्रतिशतले भने शुद्ध पानी खान्छन् । १४ हजार १ सय ३० घरमा पाइप प्रणालीको धारा जडान भएको छ । जबकि, सन् २०३० सम्ममा सबै घरमा स्वच्छ खानेपानी पुर्‍याउने दिगो विकास लक्ष्य छ । अहिलेकै गतिले काम हुने हो भने सन् २०५० सम्म पनि लक्ष्य पूरा नहुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । सरकारले यस वर्ष बाँकेमा खानेपानीका लागि १६ करोड रुपैयाँ विनियोजन गरेको छ । गत वर्षको तुलनामा ३३ प्रतिशत बजेट घटेर आएको हो । यस्तो अवस्थामा मन्त्री र सांसदले भोटको राजनीति गर्न कनिका छरेझैं भद्रगोल ढंगले निर्माण गर्न दबाब दिँदा खानेपानीका योजना अधुरा रहने निश्चित छ । तर पनि यस वर्ष १० वटा खानेपानीका आयोजना सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको सरसफाइ डिभिजन कार्यालयको दाबी छ ।

प्रकाशित : आश्विन ६, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

२५ वर्षपछि राराको गहिराइ नापिँदै

राजबहादुर शाही

मुगु — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्ने गरी झन्डै २५ वर्षपछि सर्वेक्षण थालिएको छ । २०५४ मा पहिलोपल्ट राराको क्षेत्रफल र गहिराइ नापिएको थियो । राराको गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता तथा खोलानालाबाट तालमा मिसिने पानीको ल्याब टेस्ट गर्ने गरी रारातालको सर्भेक्षण सुरु गरिएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

‘क्षेत्रफलसँगै तालको पानीको पनि विभिन्न तरिकाले परीक्षण गर्न लागिएको छ,’ निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले भने, ‘जसले राराको नयाँ तथ्यांक बाहिर ल्याउनेछ ।’

जल तथा मौसम विज्ञान विभागको सहयोगमा कार्ड/इटु सर्भिस/जेड जेभीले भदौ दोस्रो सातादेखि सर्वेक्षणको काम सुरु गरेको हो । सर्भेक्षणका लागि विभागबाट २ जना र कम्पनीबाट ८ गरी १० जनाको टोली खटिएको छ । तालको भूभाग र क्षेत्रफल मापनका लागि टोपोग्राफिक र गहिराइ नाप्ने यन्त्र प्रयोग भइरहेको जेभीका इन्जिनियर राम श्रेष्ठले बताए । उनका अनुसार रारामा प्रयोग गरिएको यो प्रविधि कर्णालीमै नयाँ हो । उनले ढिलोमा १ महिनाभित्र सर्भेक्षण पूरा गरिसकेपछि प्रतिवेदन जल तथा मौसम विज्ञान विभागलाई बुझाउने जानकारी दिए ।

२०५४ मा गरिएको सर्वेक्षणअनुसार रारा तालको गहिराई १ सय ६७ मिटर, लम्बाइ ५ किलोमिटर र चौडाइ ३ किलोमिटर छ । राराताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको संरक्षण अधिकृत दाहालले बताइए । समुद्र सतहदेखि २ हजार ९ सय २९ मिटर उचाइमा अवस्थित रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा मुगुको छायानाथरारा नगरपालिकासहित सोरु, खत्याड गाउँपालिका र जुम्लाको कनकासुन्दरी गाउँपालिकको भूभाग पर्छ ।

भदौ लागेसँगै रारा आउने पर्यटक बढिरहेको दाहालले बताए । उनका अनुसार दैनिक ५० जनासम्म पर्यटक रारा घुम्न आइरहेका छन् । उनले भदौमा १० जना विदेशी पर्यटक पनि रारा आएको जानकारी दिए । ‘भदौदेखि मंसिरसम्मको समय रारा घुम्न आउने उपयुक्त मौसम हो,’ उनले भने, ‘दसैं बिदामा थप पर्यटक बढ्ने अपेक्षा छ ।’ उनले कोरोना महामारीका कारण झन्डै ३ वर्षसम्म थला परेको पर्यटन व्यवसाय बिस्तारै तंग्रिन थालेको बताए । उनका अनुसार पर्यटक बढ्न थालेपछि होटल व्यवसायी, घोडा व्यवसायी, ढुंगाचालक र भरियाहरू व्यस्त बन्न थालेका छन् । रारा क्षेत्रमा पर्यटकलाई आसपासका गाउँमा घुमाउन झन्डै १ सय ५० घोडा तयारी अवस्थामा राखिएको स्थानीय गोर्ख रोकायाले बताए ।

प्रकाशित : आश्विन ६, २०७९ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×