कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

७ वर्षदेखि सडक अलपत्र

दुईपटक म्याद थप्दा पनि लिबाङ–जलजला सडकको ८० प्रतिशत मात्रै काम सम्पन्न
काशीराम डाँगी

रोल्पा — समयमै ठेकेदारले काम नसक्दा रोल्पा सदरमुकाम लिबाङबाट धबाङ हुँदै प्रसिद्ध धार्मिक स्थल जलजला जोड्ने सडक लामो समयदेखि अलपत्र छ । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई काम जिम्मा लगाउँदा तोकिएको समयमा उक्त सडकको काम सम्पन्न हुन नसकेको हो । आर्थिक वर्ष २०७३/७४ मा सम्झौता भई निर्माण थालिएको उक्त सडकको हालसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको प्राविधिकको मूल्यांकन छ । 

७ वर्षदेखि सडक अलपत्र

कोरोना अवधिमा ठेकेदारले काम गर्न नमान्दा दुईपटक म्याद थप्नु परेको हो । त्यसो गर्दा पनि सडकको निर्माण कार्य पूरा नगर्दा पनि सरकारले ठेकेदारलाई कारबाही गर्न सकेको छैन । तीन वर्षको अवधिमा निर्माण नसकेपछि सरकारले दुईपटक म्याद थपेको हो । करिब ३७ किलोमिटर लामो उक्त सडक निर्माण गर्न ७ वर्षअघि काठमाडौंस्थित रौताह/हरिहरि जेभी निर्माण कम्पनीले ठेक्का लिएको थियो । करिब २९ करोडमा सम्झौता भएको उक्त सडक निर्माण कार्य सम्झौता अवधि सकिएपछि पनि म्याद थपिएको हो । ठेकेदारले उक्त योजना ४० प्रतिशत घटेर पाएका थिए । प्यूठानस्थित सडक कार्यालयले आउँदो २०८० असारसम्म पुनः म्याद थप्ने गरी फाइल केन्द्रमा पठाएको छ ।

योजनाको सुरु सम्झौता कार्य प्यूठानस्थित सडक डिभिजन कार्यालयले गरेको थियो भने हाल उक्त योजना रोल्पास्थित सडक पूर्वाधार योजना कार्यालयमार्फत सम्पादन गर्ने गरी जिम्मेवारी बाँडिएको हो । ‘अब उक्त योजनाको कार्यसम्पादन रोल्पाको कार्यालयले हेर्नेछ,’ सडक योजनाबारे प्यूठानस्थित कार्यालयका इन्जिनियर पुरन रोकाले भने, ‘बजेट र आवश्यक कागजात त्यता पठाएका छौं ।’ रोल्पास्थित सडक पूर्वाधार कार्यालयका इन्जिनियर हेमन्त रोकाले अब यसै कार्यालयले उक्त सडकको निर्माण कार्य अवलोकन गर्ने बताए । उनले यसअघि ठेकेदारलाई पटक–पटक ताकेता गरिएको समेत बताए । उक्त सडक निर्माण कार्य समयमै नसकिएकाले नगरको विकास योजनासमेत प्रभावित भएको रोल्पा नगरपालिकाले जनाएको छ । रोल्पा–१० का वडाध्यक्ष मतिलाल डाँगीले ठेकेदारले लापरबाही गर्दा सडक उपभोगबाट वडाबासी वञ्चित भएको दाबी गरे । ‘पाएको जिम्मेवारी समयमै नसक्दा नगरबासी र खासगरी वडाबासी मर्कामा परेका छन्,’ उनले भने, ‘सरकारले सडक निर्माण कार्यलाई समयमै सम्पन्न गराउन ठेकेदारसँग समन्वय गर्नु आवश्यक छ ।’

सडकको निर्माण गर्न सम्झौता गरेको ठेकेदार कम्पनी रौताह/हरिहरि जेभीका मुख्य ठेकेदार निर्माण स्थलमा नआएको बताइन्छ । ठेकेदारले प्रतिनिधि र पेटीमा अन्य साना ठेकेदारलाई काम गर्ने जिम्मेवारी दिएकाले काममा ढिलाइ भएको स्थानीयको आरोप छ । उक्त सडक निर्माण भएमा जलजलासम्म नियमित सवारी साधन चल्न सक्नेछन् भने यहाँको पर्यटकीय गन्तव्यप्रति स्थानीय र बाहिरका आगन्तुकको पहुँच स्थापित हुनेछ । जलजलामा वर्षको तीनपटक पूजाआजा हुनुका साथै यहाँ विभिन्न प्रकारका जनावर र जडीबुटी पाइन्छन् ।

सुरुमा उक्त सडक योजनाको काम गर्न ठेकेदार कम्पनीले रोल्पाकै तीन जना ठेकेदारलाई पेटीमा काम दिएको थियो । ‘हामीले रोल्पाकै ठेकेदारहरू डम्बर बाँठा, लालबहादुर घर्तीमगर र तुलबहादुर खड्कालाई काम दिएका थियौं,’ ठेकेदार कम्पनीका ठेकेदारमध्ये हरिहरि निर्माण सेवाका हरि राउतले कान्तिपुरसँग भने, ‘काम उनीहरूले नै गर्ने हो ।’ तर, पेटीमा काम पाएका ठेकेदारले मुख्य ठेकेदारबाट पैसा नपाएको उल्टै उजुरी गरेको दाबी गर्छन् । उनीहरूमध्ये पेटीमा काम लिएका ठेकेदार खड्कबहादुर खत्रीले सम्झौता अनुसार काम गरे पनि आफूहरूलाई मुख्य ठेकेदार र कम्पनीले करोडौं रकम दिन बाँकी रहेको सुनाउँछन् । मुख्य ठेकेदारसँगको सहमति अनुसार २८ किलोमिटर ४ सय मिटर लामो सडक निर्माण गरिएको उनीहरूको दाबी छ ।

सडकको निर्माण कार्यबारे पटक–पटक छलफल र निरीक्षणसमेत गरेका निर्माण व्यवसायी रोल्पाका अध्यक्ष मानबहादुर खत्रीले डिजाइन अनुसार सडक निर्माण नगरिएको दाबी गर्छन् । ‘सम्झौता अुनसार ग्राभेल, ग्याभिन, चौडा र जाली राख्नु पर्नेमा त्यसो गरिएको छैन,’ उनले भने, ‘डिजाइन एकातिर छ, सडक अर्कै तरिकाले निर्माण गरिएको छ ।’ स्थानीय ठेकेदारले सडक निर्माण गर्दा ‘क्वालिटीभन्दा क्वान्टिटी’ पूरा गर्नेतिर मात्रै ध्यान केन्द्रित गरेको बताउँछन् । सडक निर्माण गर्नुअघि वातावरणीय प्रभावबारे अध्ययन गर्ने चलन छैन । उक्त सडक निर्माण गर्दा पनि वातावरणीय पक्षमाथि ध्यान दिइएको छैन । रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सडक निर्माणबारे विवाद उत्पन्न भएको र त्यसपश्चात् चासो दिइएको बताए । स्थानीयले उजुरी गरेपछि रोल्पास्थित वन डिभिजन कार्यालयले उक्त सडक निर्माणमा रोक लगाए पनि अन्तिम फैसला भएको छैन ।

प्रकाशित : आश्विन ५, २०७९ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?