चुनावी खर्च विवरण नबुझाएका रुपन्देहीका १५ पालिका प्रमुखलाई जरिवाना

सन्जु पौडेल

तिलोत्तमा — समयसीमाभित्र चुनावी खर्च विवरण नबुझाएकोका बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयसहित जिल्लाका १५ पालिका प्रमुखले जरिवाना तिर्नुपर्ने भएको छ । 

निर्वाचन आयोगले समयसीमाभित्र चुनावी खर्च विवरण नबुझाएको भन्दै बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयलाई ५ लाख ५० हजार, सैनामैना नगरपालिका मेयर फणेन्द्र शर्मा, सिद्धार्थनगर नगरपालिका इश्तियाक अहमद खां, देवदह नगरपालिका मेयर धुव्रप्रसाद खरेल, लुम्बिनी सांस्कृतिक नगरपालिका सजरुद्दिन मुसलमानलाई ४ लाख ५० हजार रूपैयाँ जरिवाना तोकेको छ ।

त्यस्तै, ओमसतिया गाउँपालिका, कंचन गाउँपालिका, कोटहीमाई गाउँपालिका, गैडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका, शुद्धोधन गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिकाका अध्यक्षलाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

रुपन्देहीका ५ नगरपालिकामध्ये तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले मात्रै समयसीमा भित्रमा निर्वाचन खर्च विवरण बुझाएका थिए । खाँणका निकट प्रतिद्वन्द्वी मोहन चापागाईंलाई पनि आयोगले समयमै निर्वाचन खर्च विवरण नबुझाएको भन्दै ४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । ६ महिनाभित्र जरिवाना तिर्नुपर्ने छ र सो समयभित्र जरिवाना नतिरे उनीहरुको पद जाने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार उनीहरूसहित १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ। निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । त्यस अवधिभित्र विवरण नबुझाउनेहरूलाई आयोगले कारबाही गरेको निर्वाचन आयोगले जनाएको छ । समयसीमा भित्रमा ८ हजार ६ सय ६६ जनाले तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाएका थिए ।


प्रकाशित : आश्विन ४, २०७९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?