२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जमुनाहा नाकाबाट दैनिक ५ हजार नेपाली घर फर्किंदै

ठाकुरसिंह थारु

नेपालगन्ज — रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा रहेका नेपाली नागरिक चाडपर्व नजिकिएसँगै घर फर्किन थालेका छन् । पछिल्लो समय बाँकेको जमुनाहा नाकाबाट घर फर्किनेको संख्या पनि बढिरहेको छ । 

जमुनाहा नाकाबाट दैनिक ५ हजार नेपाली घर फर्किंदै

इलाका प्रहरी कार्यालय, जमुनाहाका अनुसार भारतबाट अहिले दैनिक रूपमा झन्डै ५ हजार नेपाली घर फर्किन थालेका छन् ।

सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई माधव रिजालले हरेक बिहान घर फर्किने नेपालीको सीमामा भडि लाग्ने गरेको बताउँछन् । ‘झन्डै ५/६ हजार नेपाली घर फर्किरहेका छन् । उनीहरुलाई व्यस्थित गर्न हम्मे पार्ने गरेको छ,’ उनले भने,‘तैपनि घर फर्किने नेपालीहरूलाई दु:ख नहोस् भनेर नाकामा सहज वातावरण मिलाउने प्रयास गरिरहेका छौँ ।’

भारतबाट फर्किने नेपालीहरुको स्वास्थ्य परीक्षणका लागि सीमामा हेल्थ डेस्क राखिएको छ । ‘शंका लागेकाहरूको कोरोना परीक्षण गरिने गरिएको छ । तर, सबैको स्वास्थ्य परीक्षण सम्भव देखिँदैन,’ सई रिजालले भने ।

कर्णाली प्रदेशको सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, रुकुम, रोल्पा, सल्यान, जाजरकोटलगायतका जिल्लाबाट हजारौँ युवाहरु काम खोज्न भारत पस्ने र चाडपर्वका समयमा घर फर्किने गरेका हुन् । घर फर्किएका अधिकांश युवाहरूले चाडपर्व मनाएर फेरि पनि भारतमै काम गर्न जाने बताउँछन् ।

खेतीपाती र चाडपर्वका बेला उनीहरु घर फर्किने र फेरि भारत फर्किन्छन् । ‘चार/पाँच महिना घर बसिन्छ । होइन भने फुर्सद भएपछि काम गर्न भारत गइहाल्छौँ,’ डोल्पाका विनय भन्छन् ।

प्रकाशित : आश्विन ४, २०७९ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?