२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कलिलैमा सुत्केरी हुने घटेनन्

माधव अर्याल

पाल्पा — सरकारले मातृशिशु मृत्युदर घटाउन हरेक वर्ष नयाँनयाँ कार्यक्रम ल्याउने गर्छ । गर्भवती भएदेखि सुत्केरीसम्मको स्याहारमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीबाट निगरानीको सुविधा दिँदै आएको छ । जिल्लामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको संख्या अझै पनि उच्च छ । स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा २० वर्ष उमेर नपुगेका ६ सय ९९ जनाले गर्भ जाँच गराएका थिए । त्यसमध्ये १ सय २३ जनाले गर्भपतन गराएको तथ्यांक छ ।

कलिलैमा सुत्केरी हुने घटेनन्

आर्थिक वर्ष २०७७/७८ मा पनि २० वर्ष उमेर नपुगेका ७ सय २४ जनाले गर्भ जाँच गराएका छन् । २० वर्ष नपुगी गर्भपतन गराउनेको संख्या ९५ छ । १८ वर्ष नपुग्दै विवाह गर्ने र २० वर्षअघि नै बच्चा जन्माउने किशोरीले गर्भ जाँचसमेत गराउन लाज मान्ने गरेको स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले बताए । उनका अनुसार ग्रामीण भेगका किशोरीमा अझै पनि जनचेतनाको खाँचो छ । जिल्लाका स्थानीय तहले ‘वर्थिङ सेन्टर’ को सुविधा धेरै स्वास्थ्य चौकीमा उपलब्ध गराएका छन् । गर्भ रहेको चार, छ, आठ र नौ महिनामा परीक्षण गर्नुपर्छ । ‘छिटो विवाह गर्ने भएकाले लाज मानेर स्वास्थ्य चौकीसम्म नपुग्ने समस्या छ,’ स्वास्थ्य कार्यालयका प्रजनन स्वास्थ्य कार्यक्रमका फोकल पर्सन टीकाराम अधिकारीले भने, ‘अझै पनि परिवार योजना बनाउनुपर्छ भन्ने चेतना नभएका धेरै देखिएका छन् ।’ उनका अनुसार जिल्लाको ग्रामीण भेगमा यस्तो समस्या अझै पनि अधिक छ ।

सरकारको नीति कार्यक्रम अनुसार आर्थिक वर्ष २०६५/६६ बाट आमा सुरक्षा कार्यक्रम लागू भएको हो । गर्भवती तथा प्रसूति सेवा निःशुल्क प्रदान गरिन्छ । नेपाल परिवार नियोजन संघका जिल्ला शाखा प्रबन्धक सोवाकान्त न्यौपानेका अनुसार निस्दी, माथागढी, पूर्वखोलालगायतका स्थानीय तहमा बढी समस्या देखिएको छ । ‘कलिलो उमेरमै विवाह गर्ने र कतिपयले गर्भपतन गराउने पनि गर्छन्,’ उनले भने, ‘चेतनाको अभाव भएको ग्रामीण परिवेश अझ धेरै ठाउँमा छ ।’

किशोरीहरू सानो उमेरमै आमा बन्दा स्वास्थ्य संस्था आउन र स्वयंसेविकालाई भन्न लाज मान्छन् । स्वास्थ्य कार्यालयका अनुसार परिवार योजना कार्यक्रम अनुसार परिवार नियोजन सेवाको नयाँ सेवाग्राही दर १३ दशमल २ प्रतिशत मात्र छ । अघिल्लो आर्थिक वर्षमा १२ दशमलव २ प्रतिशत मात्र थियो । यसमा प्रजनन उमेरका महिलाहरू मात्र हुन्छन् ।

प्रतिवेदन प्रणालीमा आबद्ध नभएका क्लिनिकहरूको प्रतिवेदन प्रणालीमा प्रतिवेदन नहुँदा समस्या देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । केही मुख्य परिवार नियोजन सेवा प्रदानमा भौगोलिकता अनुसार दक्ष तालिम प्राप्त स्वास्थ्यकर्मी आवश्यककताअनुसार कमी भएको जिल्ला समन्वय प्रमुख टंकनाथ खनालले बताए ।

प्रकाशित : आश्विन ४, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?