१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भागबन्डा नटुंगिँदा एक्लाएक्लै प्रचार

केन्द्रमा सहमति नहुँदा गठबन्धनका दलमा अन्योल
कार्यकर्ता भेटघाट र सुझाव संकलन गर्दै प्रमुख नेता

अर्घाखाँची, रोल्पा — एमाले अर्घाखाँचीले संघीय सांसदको उम्मेदवारमा टोपबहादुर रायमाझी, प्रदेशसभा (क) मा चेतनारायण आचार्य र (ख) मा रामजीप्रसाद घिमिरेलाई एकल सिफारिस गरेपछि नेताहरू कार्यकर्ता तथा मतदाता भेटघाट गरिरहेका छन् । पालिका स्तरमा पार्टी कार्यकर्ता चुनावी भेटघाट गर्दै कसरी चुनाव जित्न सकिन्छ भन्दै सुझाव संकलनमा लागेका छन् । उनीहरूले आगामी चुनावमा विकासका एजेण्डा बनाउन गाउँका मतदातासित पनि छलफलमा जुटेका छन् । स्थानीय तहमा राम्रो परिणाम आएपछि यहाँ एमाले उत्साहित छ ।

भागबन्डा नटुंगिँदा एक्लाएक्लै प्रचार

‘हामी तीनै जना एकल सिफारिस भएका छौं,’ प्रदेशसभा (ख) का उम्मेदवारमा सिफारिस भएका घिमिरेले भने, ‘सिफारिस भएका हामीले उम्मेदवार बन्दैनौं भने मात्रै परिवर्तन हुन सक्छ, नत्र हामी तीनै जना उम्मेदवार हौं । गठबन्धनसित जित्ने गरी जनताको घरदैलोमा हिँडेका छौं ।’

२०७४ को चुनावमा वाम गठबन्धनबाट रायमाझी, आचार्य र घिमिरेले जितेका थिए । त्यतिबेला रायमाझीले माओवादी, आचार्य र घिमिरेले एमालेबाट चुनाव जितेका हुन् । माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा विभाजनपछि रायमाझी एमालेमै छन् । ६० प्रतिशत माओवादी कार्यकर्ता एमालेमा भित्रिसकेको र रायमाझीकै कारण एमाले जिल्लामा थप बलियो शक्ति भएको बुझाइ एमाले नेताहरूको छ । त्यसको परिणाम ५ दलीय गठबन्धन हुँदा पनि जिल्लाको ६ स्थानीय तहका १२ पदमध्ये ८ पदमा एमाले एक्लैले जित्नुलाई लिइएको छ । ‘स्थानीय तहको परिणामजस्तै संघ र प्रदेशमा पनि तीनै जना उम्मेदवारले चुनाव जित्छन्,’ एमाले जिल्ला सचिव तोजबहादुर रायमाझीले भने, ‘६० प्रतिशत माओवादी स्थानीय तहको चुनावअघि भित्रिसके । अब मंसिरसम्म बढ्छ, त्यसै कारण जिल्लामा एमाले एक्लै बलियो शक्ति छ ।’ चुनाव जित्ने रणनीतिका साथ गाउँमा भेटघाट, छलफmल, अन्तर्त्रिया र पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । ‘एकल उम्मेदवार सिफारिस भएकाले कुनै द्विविधा भएन,’ उनले भने, ‘अब त चुनावी रणनीति बनाउँदै अन्य पार्टीकालाई एमालेतिर भित्र्याउने, गाउँमा पुगेर मतदाता रिझाउने र आकर्षित गर्ने हो ।’

उनले ५ दलीय गठबन्धनसित सजिलै चुनाव जित्ने र गाउँमा गठबन्धनभित्रका कार्यकर्ता पनि एमालेतिर आकर्षित भएको उनले दावी गरे । ५ दलीय गठबन्धनमा संघ र प्रदेशमा कसलाई भागवण्डा पर्छ भन्ने अझै टुंगो छैन । केन्द्रमा दैनिकजसो छलफल चलिरहे पनि टुंगो लगाउन नसक्दा जिल्लामा अलमल छ । कांग्रेस, माओवादीले उम्मेदवार सिफारिस गरिसकेका छन् । कांग्रेसले प्रतिनिधिसभाको उम्मेदवारमा उपसभामुख पुष्पा भुसाल गौतम, नेताहरू डा. रामबहादुर वीसी, रेवतीप्रसाद भुसाल, डा. मुक्तिराम श्रेष्ठ र लेखनाथ पोखरेलको नाम सिफारिस गरेको छ । कांग्रेसले संघ र प्रदेशमा समानुपातिक र प्रत्यक्ष गरी ३६ जनाको नाम सिफारिस गरेको छ ।

माओवादीले केन्द्रीय सचिवद्वय डिलाराम आचार्य र चक्रपाणि खनाललाई सिफारिस गरेको छ । भागबण्डामा कुन स्थान कसलाई पर्छ भन्ने टुंगो नलागे पनि उपसभामुख भुसाल जिल्लाका ६ वटै पालिकाका गाउँमा पुगेर मतदाता र कार्यकर्ताको कुरा सुनेर काठमाडौं फर्किएकी छन् । ‘गाउँमा पुग्ने बित्तिकै चुनावमा जितको शुभकामना मलाई पहिल्यै दिए,’ उनले भनिन्, ‘कार्यकर्ता र स्थानीय निकै उत्साहित छन् । टिकट ल्याएर आउँछु, यसपालि चुनाव जितेर सांसद बनेर अर्घाखाँचीको विकास र जनताको सेवा गर्ने हो ।’

प्रतिनिधिसभा सदस्यका उम्मेदवारका बलियो आकांक्षी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कान बाहिरिएका छन् । उनी समानुपातिकमा सिफारिस भए । शीर्ष महिला नेतृ, दुईपटक समानुपातिकतर्फबाट सांसद भएकी, समावेशी हिसाबले र उपसभामुख भएकाले भुसाल अघि सरे अरूले टिकट नपाउने धेरैको भनाइ छ । ‘उहाँ उम्मेदवार हुन्छु भनेपछि अरूले टिकट पाउँदैनन्,’ मुस्कानले भने, ‘म त प्रत्यक्षतर्फको उम्मेदवारको दौडबाटै बाहिरिएँ । यसपालि जसरी पनि गठबन्धन उम्मेदवारले जित्ने गरी लाग्न गाउँमा कार्यकर्ताको भावना बुझ्दै छु ।’ कांग्रेसले सन्धिखर्कमा केही दिनअघि तीन दिनसम्म वडा समितिका पदाधिकारी, सदस्यदेखि जिल्ला पार्टी र महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था, निर्वाचित जनप्रतिनिधि र पराजित उम्मेदवारलाई सँगै राखेर कांग्रेससहित गठबन्धनको अवस्था र चुनाव जित्ने आधार खोज्दै बैठक गरेको थियो । त्यहाँ एमालेको धरातलबारे पनि छलफल भएको थियो । त्यसपछि गाउँमा थप चुनावी रणनीति बनाएर प्रचारात्मक अभियान सञ्चालन गरिने कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले बताए ।

सत्तारूढ गठबन्धनका दलहरू कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन गर्नेबारे अन्तिम सहमति भइनसके पनि यी दलले रोल्पामा एक्लाएक्लै गतिविधि अघि बढाएका छन् । स्थानीय तहको निर्वाचनमा समेत रोल्पामा गठबन्धन गर्न नसकेका यी दुई दलका कार्यकर्ता आगामी निर्वाचनमा एकसाथ हुनेमा ढुक्क छैनन् । निर्वाचनका लागि गठबन्धन हुने वा नहुनेबारे अहिलेसम्म निश्चित निर्देशन आइनसकेको कांग्रेस नेता एवं पूर्वसांसद लेखनाथ आचार्यले बताए । ‘केन्द्रका नेताले चाहेमा गठबन्धन हुन पनि सक्छ । नत्र स्थानीय तहको जस्तै आ–आफ्नै तरिकाले निर्वाचनमा भाग लिने अवस्था पनि आउन सक्छ,’ उनले भने, ‘नेताका स्वार्थ मिल्न गए भने रातारात गठबन्धन गर भनेर निर्देशन आउन बेर हुन्न ।’

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट उम्मेदवारहरूको नाम सिफारिस गर्नुअघिसम्म दुई दलबीच चुनावी गठबन्धन हुन सक्ने सम्भावनाबारे व्यापक छलफलसमेत भएन । गठबन्धन हुने अवस्था भए त्यसै अनुसार उम्मेदवार सिफारिस गर्ने दुई दलका नेताको भद्र बुझाइ सार्वजनिक नभएको पनि होइन । तर, पार्टीको सर्वोच्च नेतृत्वबीच यसबारे अन्तिम सहमति नभएकाले जिल्ला तहमा दुई दलका नेताबीच पनि छलफलको विषय बनेन । पूर्व जिल्ला अध्यक्षसमेत रहेका माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र घर्तीमगरका अनुसार कांग्रेससँग चुनावी गठबन्धन हुने सम्भावना कमै देखिन्छ । ‘जिल्ला तहमा यसबारे छलफल नै गर्न तयार नहुने तर माथिल्लो तहको निर्देशनले मात्रै गठबन्धन कसरी सम्भव हुन सक्छ ?’ उनको तर्क छ ।

प्रदेशसभा र प्रतिनिधिसभाका लागि जिल्लामा उम्मेदवार बनाउन दुवै दलले प्रभावशाली नेताको नाम सिफारिस गरेका छन् । कांग्रेसले प्रतिनिधिसभाका लागि उम्मेदवार बनाउन प्रदेश सभापति अमरसिंह पुन मगरको नाम सिफारिस गरेको छ । प्रदेशसभाका लागि पनि उनकै नाम सिफारिस गरिएको छ । पूर्वमन्त्री पुन मगरको नाम एक निर्वाचन क्षेत्र रहेको रोल्पाबाट प्रतिनिधिसभा र प्रदेशसभामा ‘ख’ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको पार्टीका जिल्ला सभापति किशोर आचार्यले बताए । माओवादी केन्द्रसँग चुनावी गठबन्धन भए पनि र नभए पनि पुन मगरले रोल्पाबाट प्रदेशसभा वा प्रतिनिधिसभाका लागि निर्वाचित हुने उच्च आकांक्षा राखेका छन् । उनको दल कांग्रेसले पनि त्यही अनुसार योजना अघि सारेको छ ।

जबकि, माओवादी केन्द्रले पनि प्रतिनिधिसभाका लागि उम्मेदवार बनाउन शीर्ष नेतृत्वको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको उम्मेदवार बनाउन उक्त पार्टीले पूर्वउप–प्रधानमन्त्री कृष्णबहादुर महरासहित पटक–पटक सत्तामा पुगेका प्रभावशाली नेताहरू वर्षमान पुन, जयपुरी घर्तीमगर, कुलप्रसाद केसी, ओनसरी घर्ती र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको हो । रोल्पालाई मुख्य थलो बनाई लामो समयदेखि सशस्त्र द्वन्द्वमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरू थुप्रै भएका र उनीहरूलाई प्राथमिकता दिनुपर्दा माओवादी केन्द्रले अघिल्लो पुस्ताकै नेताको नाम सिफारिस गरेको जनाएको छ । पार्टी नेतृत्वमा प्रत्यक्ष प्रभाव राख्न सक्ने तथा पदाधिकारी तहमा रहेका नेतालाई समेत निर्वाचित गर्नुपर्ने बाध्यताका बीच सत्तारुढ दल कांग्रेससँग चुनावी गठबन्धन गर्नुपर्ने अर्को बाध्यता पनि माओवादी केन्द्रमाथि आइपरेको छ ।

प्रकाशित : आश्विन ४, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?