विभूषणको लर्को प्रदेशमा पनि, लुम्बिनीबाट ६१ जनालाई पदक

बुटवल — बुटवल संघीय सरकारले झैं प्रदेश सरकारले पनि विभूषण र पदक दिने व्यक्तिको लर्को लगाउन थालेको छ । संविधान दिवसको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले मात्रै ६१ जनालाई पदकबाट विभूषित गरेको घोषणा गरेको छ ।

बुटवलमा आयोजित संविधान दिवस विशेष समारोहमा प्रदेश पदकबाट विभूषित गरिएका व्यक्तिहरुको नामावली घोषणा गरिएको थियो । रुपन्देहीका जनार्दन यादव मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापाले संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै प्रदेश प्रमुख तृतीय जनसेवा पदक पाएका छन् ।
बाँकेका डा. मोहिउद्दीन किदवाई र चितवनका डा. राजन पाण्डेले मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीया पाउनेछन् । प्रदेश सेवा समर्पण पदक प्रथम प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटालाई दिइएको छ ।
प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका अनुसार प्रदेश सेवा समर्पण पदक द्वितीया नौ जनालाई, प्रदेश सेवा समर्पण पदक तृतीय एक जनालाई, उजिरसिंह दीप पदक द्वितीया चार जनालाई र उजिरसिंह दीप पदक तृतीय चार जनालाई प्रदान गरेको छ ।
समाजसेवा श्री पदक द्वितीयाबाट ६ जना र समाजसेवा श्री पदक तृतीयबाट एक जनालाई विभूषित गरेको छ । प्रदेश रत्न पदक प्रथम दुई जनालाई, प्रदेश रत्न पदक द्वितीया १२ जनालाई, प्रदेश रत्न पदक तृतीय ६ जनालाई प्रदान गरेको छ ।
प्रजापति गौतमी पदक द्वितीया र तृतीयबाट एक/ एक जना, दंगीशरण बलिहाङ पदक द्वितीयाबाट एक जना तथा दंगीशरण बलिहाङ पदक तृतीयबाट चार जनालाई विभूषित गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयतामा सबै समूहको योगदानको कदर र अपनत्व महसुस गर्दै प्रोत्साहन र सम्मानका लागि पदकहरु राख्ने र दिने गरिएको बताए ।
प्रकाशित : आश्विन ३, २०७९ १६:०७