३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

करोडौं मूल्यको जग्गा हडप्ने थुनामा

नेपालगन्ज — जिल्ला अदालत बाँकेले ऋण दिएको आडमा करोडौं मूल्य पर्ने जग्गा हडप्ने गिरोहका ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । नेपालगन्ज–२० मनिकापुरका ७० वर्षीय हरिहर खटिकलाई २ लाख रुपैयाँ ऋण दिई सादा कागज र बैंक चेकमा पहिल्यै ल्याप्चे लगाएर जग्गा हडप्ने गिरोहलाई एक साताअघि ठगी मुद्दामा थुनामा पठाइएको हो ।

जिल्ला न्यायाधीश धनसिंह महराको इजलासले उनीहरूलाई नेपालगन्ज कारागार पठाएको छ । अदालतका श्रेस्तेदार तीर्थराज भट्टका अनुसार मोहम्मद हनिफ हलवाई, सहाबुद्दिन बेहना, निजामुद्दिन बेहना, साबिर अलि बेहना, राजेश बर्मा र रिजवान अन्सारीलाई पुर्पक्षका लागि थुनामा पइठाएको छ । ठगी प्रकरणमा संलग्न किस्मत दर्जी भने अझै फरार छन् । उनको खोजी भइहेको प्रहरीले जनाएको छ । ‘प्रतिवादीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका छन्,’ श्रेस्तेदार भट्टले भने ।

जिल्ला प्रहरीले उनीहरूबिरुद्ध २ करोड १९ लाख रुपैयाँ बिगो र जनही ७/७ वर्षको कैद सजायको माग गर्दै ठगी मुद्दा दर्ता गरेको छ । जग्गा हड्प्न गिरोहले सबैजसो कानुनी प्रक्रिया पूरा गरेकाले सुरुमा प्रहरीले ठगी मुद्दा दर्ता गर्न अस्वीकार गरेको थियो । कान्तिपुर दैनिकले ठगीबारे पटक–पटक समाचार प्रकाशित गरेपछि बाँके प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान थालेको हो । अझै पनि मुद्दाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठगीका विषयमा पटक–पटक पीडित पक्षलाई दबाब दिंदै मिलापत्रको प्रयास गरिएको थियो । भूमाफियाहरूले ल्याप्चेको दुरुपयोग गरी करोडौं मूल्यको डेढ बिघा जग्गा आफ्नो नाममा गराएका थिए ।

बाँके प्रहरीले खटिकले दिएको उजुरीको अनुसन्धान थालेपछि ल्याप्चे दुरुपयोगबारे खुलेको हो । ल्याप्चे लगाइएको सादा कागज प्रयोग गरी जग्गा आफ्नो नाममा लैजानेदेखि लिएर बैंकमा दाखिला गरेको रकम झिकिएको प्रहरीले जनाएको छ । कतिसम्म भने अदालतमा ऋण असुलीका लागि भूमाफियाहरूले दर्ता गरेको मुद्दामा त्यही ल्याप्चे प्रयोग गरी स्वीकारी प्रतिउत्तर पेस गरिएको छ । खटिकलाई मालपोत कार्यालय बाँकेमा लेखापढी गर्ने गाउँकै दुर्गाशरण शुक्लाले २ लाख रुपैयाँ ऋण दिएको भन्दै ल्याप्चे लगाउन लगाएका थिए । प्रहरीका अनुसार जग्गा हडप्नका लागि सबै कानुनी प्रक्रिया पूरा गरिएको छ । नछुट्टिएको परिवारमा हरिहर र भाउजूका नाममा ६० कट्ठा जग्गा संयुक्त थियो । जसमध्ये हरिहरको हकको ३० कठ्ठा जग्गा भूमाफियाहरूले हड्पेका हुन् । उनकी भाउजू कमलाको जग्गा सुरक्षित छ ।

२०७८ वैशाख ६ गते संयुक्त नामको जग्गा छुट्याए । तर, करोडौंको जग्गा गुमाएका हरिहर खटिकले २०७८ पुस ११ गते मात्र जग्गा गुमेको थाहा पाएका थिए । उनले २०७७ चैत ५ गतेदेखि मालपोतमा रहेको कागज माग गरे पनि नपाएका कारण जाहेरी दर्ता हुन सकेको थिएन । कानुन व्यवसायीहरूको पहलमा २०७८ माघ १६ गते ठगी कसुर जाहेरी दर्ता गरेपछि प्रहरीले अनुसन्धान थालेको हो । बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले तत्काल प्राप्त प्रमाणका आधारमा अदालतले ठगीमा संलग्न व्यक्तिहरूलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको बताए । उनले अझै मुद्दाको थप अनुसन्धान जारी रहेको जानकारी दिए ।

‘थप प्रमाणहरूको खोजी र मुद्दाको अनुसन्धान भइरहेको छ,’ उनले भने । प्रहरी अनुसन्धानका क्रममा भूमाफियाहरूले नेपालगन्जस्थित एनएमबी बैंकमा हरिहरको नाममा ०१४०१५२३९३९०००१२ नम्बरको खाता खोलेको भेटिएको छ । जसमा रिजवान अलि अन्सारीको नामको चेकबाट २५ लाख दाखिला गरेको देखिन्छ । तर, उक्त रकम हरिहर खटिकको नामबाट निकालिएको बैंक स्टेटमेन्टबाट देखिएको प्रहरीले जनाएको छ । उक्त बैंकमा २०७७ फागुन ९ गते रकम जम्मा गरेको र त्यसको एक दिनपछि दृष्टिबन्धक कागज गराइएको छ । ४९ लाख रुपैयाँ दृष्टिबन्धक लिखतमा लेखापढी दुर्गाशरण शुक्लाले कागज लेखेको र साक्षीमा हरिहरका छोरा इन्द्रदेव खटिक, जानकी गाउँपालिका–६ का किस्मतअलि शेष साक्षी बसेका छन् । ९० लाख रुपैयाँको राजीनामा गराएर साबुद्दिन बेहना, साबिरअलि बेहना, सिजवान अन्सारी र राजेशकुमार वर्माले जग्गा किनेको देखिन्छ । जसमा साक्षी किस्मत अलि शेष रहेका छन् । त्यस्तै मोहम्मद हनिफ हलवासँगको ८० लाख रुपैयाँको कारोबारमा साक्षी किस्मत नै बसेका छन् ।

‘मैले २ लाख रुपैयाँ ऋण लिएको सही हो । त्यसभन्दा बढी मैले पैसा लिएको छैन । बैंकमा मेरो खाता भएको पनि जानकारी छैन,’ पीडित हरिहरले भने, ‘लेखपढ थर्न जान्दिनँ । टाप लगाए । जग्गा खाए । अदालतले उनीहरूलाई जेल पठाउँदा न्याय पाउँछु कि भन्ने आश जागेको छ ।’ गिरोहले जग्गा बिक्री गर्ने भन्दै हरिहरकै नाममा नेपालगन्जको नमस्ते सेभिङ क्रेडिट सहकारी संस्था लिमिटेडमा खाता खोलेको र २०७७ साउन महिनामा तीन दिनमा नेपालगन्जका मोहम्मद हसन हल्वाइले ५० लाखको चेक काटेर जम्मा गरेको देखिन्छ । त्यसपछि हरिहर खटिककै नामबाट ९ लाखका दरले पाँचपटकसम्म ४५ लाख र एकपटक पाँच लाख निकालेको बैंक स्टेटमेन्ट प्रहरीले फेला पारेको छ । ‘एकै दिन पाएको ५० लाख रुपैयाँ एकाएक कता हरायो,’ प्रहरी अनुसन्धान अधिकारीले भने, ‘लाख र हजारको के कुरा, अहिले ती वृद्धसँग सिटामोल खाने पैसा छैन ।’

प्रकाशित : आश्विन ३, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?