१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मन दुख्दा उपचार गर्न विज्ञहरुको सुझाव

दुखेको मनको समयमै उपचार गरे आत्महत्याको दर घटाउन सकिने भएकाले दुखेको मनको समयमै उपचार गर्न आग्रह
अमृता अनमोल

बुटवल — मन नदुख्ने मान्छे सायद कोही नहोला । तर, मन दुखेर उपचार गर्ने मान्छे भने हत्तपत्त भेटिँदैनन् । मानसिक रोग विशेषज्ञहरुले भने मन दुख्दा नलुकाउन र सहज रुपमा उपचार गर्न सुझाव दिएका छन् । दुखेको मन समयमै उपचार गरे मनमा गहिरो चोट नलाग्ने, मनमा गहिरो चोट नलागी मानसिक रोगी नहुने र मानसिक रोगी नहुनेले हत्तपत्त आत्महत्या नगर्ने भएकाले आत्महत्याको दर घटाउन दुखेको मनको समयमै उपचार गर्न आग्रह गरे ।

मन दुख्दा उपचार गर्न विज्ञहरुको सुझाव

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आइतबार बुटवलमा आयोजना गरेको आत्महत्याको वर्तमान अवस्था कारण रोकथाम तथा नियन्त्रणका उपायहरु विषयक सचेतना कार्यक्रममा मनोरोग विशेषज्ञ डा. असिम रेग्मीले शरीर दुख्दा सहज रुपमा उपचार गर्ने र समाधानको उपाय खोजेजस्तै मन दुखेको पनि उपचार गर्न सुझाव दिए । ‘आत्महत्या गर्ने व्यक्तिको अनुसन्धानले ९० प्रतिशत मानसिक रोगी देखिएको छ,’ उनले भने, ‘मानसिक रोगी अधिकले शारीरिक चोट पुर्‍याउने र आत्महत्याको योजना बनाउने गरेको देखिन्छ ।’ मानसिक रोग विशेषज्ञ डा. रेग्मीले मानिस स्वस्थ हुने शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रुपमा स्वस्थ हुनुपर्ने भएपनि मन स्वस्थ राख्ने र मन अस्वस्थ हुँदा उपचार नगर्ने बानीले बर्सेनी आत्महत्याको दर बढाएको बताए ।

मनोविमर्शकर्ता कोमलप्रसाद धमलाले आत्महत्या व्यक्तिले मन व्यवस्थापन गर्न नसक्दा भएको समस्याको उपज भएको बताए । उनले मन स्थिर र बशमा राख्न सके मन स्वस्थ र स्वच्छ बन्ने र आत्महत्याका घटना नहुने बताए । यसका लागि मन व्यवस्थापनबारे जनचेतना फैलाउने र आआफ्नो रीति संस्कृति अनुसार ध्यान, योग, विपश्यनालाई बढवा दिन आग्रह गरे ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्यायले अधिकांश आत्महत्या नैराश्यताबाट पैदा हुने भएकाले व्यक्तिको मनमा पीडा हुन नदिने पीडामा भएकालाई सान्त्वना दिने, सहयोग र उपचार गर्ने विधि नै अपनाउनु पर्ने देखिएको बताए । ‘१० प्रतिशत आत्महत्या मात्रै एक्कासि आउने रिस वा आवेगले हो । नत्र मनको पीडा बढ्दै जाँदा डिप्रेसन हुने र डिप्रेसनले आत्महत्याका घटना गराउने घटना छन्,’ उनले भने, ‘मनको उपचार हुनसके मात्रै आत्महत्या घटाउन सकिने देखियो ।’ प्रहरी नायब महानिरीक्षक उपाध्यायले आत्महत्या गर्ने व्यक्तिका मन दुखाइ भने फरक फरक रहेको बताए । त्यसमध्ये प्रेममा धोका, नैराश्यता, पारिवारिक कलह, व्यापार व्यवसायमा घाटा, गरिबी , धेरै ऋण, प्रियजन तथा आफन्तको मृत्यु, सामाजिक बहिष्कार, घरेलु हिंसा, मद्यपान तथा दुर्व्यसन, बेरोजगारी, आर्थिक समस्या लगायत प्रमुख हुन् । प्रहरी तथ्यांकमा लुम्बिनी प्रदेशमा गत वर्ष ५ सय १४ ले आत्महत्या गरेका थिए ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले आत्महत्या चुनौतीका रुपमा देखिएकाले यससँगै मानसिक विमर्श र मनोरोग उपचारलाई जोडेर अभियान गर्न लागेको बताए । ‘प्रहरी र नागरिक अगुवाहरुको सहकार्यमा हरेक जिल्ला र क्षेत्रमा अभियान चलाइने छ,’ उनले भने ।

प्रकाशित : आश्विन ३, २०७९ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?