थारू समुदायले मनाए जितिया

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीका थारू समुदायले जितिया पर्व धुमधामका साथ मनाएका छन् । विशेषगरी थारू समुदायका महिलाले यो पर्व मनाउने गर्छन् । पुरुष र महिला दुवै व्रत बस्ने हुँदा यसलाई थारू समुदायको नै ठूलो सांस्कृतिक पर्वका रूपमा लिइन्छ । पर्वको अवसरमा महिलाले झाम्टा नृत्य प्रस्तुत गर्छन् । वर्षभरिको दुःखसुख साटासाट गर्ने र आफ्ना पीर–व्यथालाई गीतमार्फत पोख्ने चलन छ ।

थारू समुदायले मनाए जितिया

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा ३ दिन मनाइन्छ । दिदीबहिनीलाई घरमा बोलाएर मीठो खुवाउने र समूह बनाएर विभिन्न खेल खेल्ने प्रचलन रहिआएको छ । जित बहानको कथा सुन्ने र पूजा गर्ने हुनाले यसले सबैलाई अनुशासित र कर्मशील बनाउने धार्मिक विश्वास रहेको कावासोती–१५ का जितनारायण चौधरीले बताए ।

केही वर्षअघिसम्म तिहारमा देउसी, भैलो खेले जस्तै घरघरमा गएर झाम्टा नाच्ने र महालक्ष्मीको गरिमा गाउने प्रचलन अहिले हराएको छ । झाम्टा गीत गाउने प्रचलन संरक्षणका लागि अहिले प्रतियोगिता आयोजना गर्ने र नयाँ पुस्तालाई यसबारे बुझाउनुपर्ने अवस्था आएको कावासोती–४ की फूलकुमारी महतोले बताइन् । ‘अहिले नयाँ पुस्ताले परम्परागत संस्कृति भुल्दै गएका छन् । त्यसैले धर्म–संस्कृतिको बारेमा नयाँ पुस्तालाई बुझाउन प्रतियोगिता तथा प्रशिक्षण गर्ने गरेका छौं ।’

उनले भनिन्, ‘२०५० देखि २०६३ सालसम्म यो समयमा मुलुकको अवस्था र संस्कृति आदानप्रदान नहुँदा लोप हुने अवस्थामा पुगेको थियो । तर, अहिले थारू नाच, होमस्टे स्थापना गरेर हामी मौलिक संस्कृतिको रक्षामा लागिपरेका छौं ।’

प्रकाशित : आश्विन २, २०७९ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?