थारू समुदायले मनाए जितिया- लुम्बिनी - कान्तिपुर समाचार

थारू समुदायले मनाए जितिया

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीका थारू समुदायले जितिया पर्व धुमधामका साथ मनाएका छन् । विशेषगरी थारू समुदायका महिलाले यो पर्व मनाउने गर्छन् । पुरुष र महिला दुवै व्रत बस्ने हुँदा यसलाई थारू समुदायको नै ठूलो सांस्कृतिक पर्वका रूपमा लिइन्छ । पर्वको अवसरमा महिलाले झाम्टा नृत्य प्रस्तुत गर्छन् । वर्षभरिको दुःखसुख साटासाट गर्ने र आफ्ना पीर–व्यथालाई गीतमार्फत पोख्ने चलन छ ।

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा ३ दिन मनाइन्छ । दिदीबहिनीलाई घरमा बोलाएर मीठो खुवाउने र समूह बनाएर विभिन्न खेल खेल्ने प्रचलन रहिआएको छ । जित बहानको कथा सुन्ने र पूजा गर्ने हुनाले यसले सबैलाई अनुशासित र कर्मशील बनाउने धार्मिक विश्वास रहेको कावासोती–१५ का जितनारायण चौधरीले बताए ।

केही वर्षअघिसम्म तिहारमा देउसी, भैलो खेले जस्तै घरघरमा गएर झाम्टा नाच्ने र महालक्ष्मीको गरिमा गाउने प्रचलन अहिले हराएको छ । झाम्टा गीत गाउने प्रचलन संरक्षणका लागि अहिले प्रतियोगिता आयोजना गर्ने र नयाँ पुस्तालाई यसबारे बुझाउनुपर्ने अवस्था आएको कावासोती–४ की फूलकुमारी महतोले बताइन् । ‘अहिले नयाँ पुस्ताले परम्परागत संस्कृति भुल्दै गएका छन् । त्यसैले धर्म–संस्कृतिको बारेमा नयाँ पुस्तालाई बुझाउन प्रतियोगिता तथा प्रशिक्षण गर्ने गरेका छौं ।’

उनले भनिन्, ‘२०५० देखि २०६३ सालसम्म यो समयमा मुलुकको अवस्था र संस्कृति आदानप्रदान नहुँदा लोप हुने अवस्थामा पुगेको थियो । तर, अहिले थारू नाच, होमस्टे स्थापना गरेर हामी मौलिक संस्कृतिको रक्षामा लागिपरेका छौं ।’

प्रकाशित : आश्विन २, २०७९ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्

पर्यटन बोर्डको बजेट बैठकमा नाराबाजी

१ अर्ब १७ करोडको आयव्ययसहितको बजेट सैद्धान्तिक रुपमा पारित
कान्तिपुर संवाददाता

काठमाडौँ — चालु वर्ष ७ लाख पर्यटक नेपाल आउने हचुवा प्रक्षेपण गरेर बजेट नल्याउन भन्दै पर्यटन बोर्डका कर्मचारीहरूले आइतबार संचालक समितिको बैठकमा पसेर नाराबाजी गरेका छन् । बोर्डका एक सदस्यका अनुसार कर्मचारीहरूले नजिकिँदै गरेको चुनावमा केही दलका नेताहरूलाई रिझाउन बजेट ल्याइएको आरोप लगाउँदै बोर्ड बैठकमै नराबाजी गरेका थिए ।

५५ जना कर्मचारीमध्ये ४० जनाले हस्ताक्षरसहित बोर्डको बैठकको अध्यक्षता गरिरहेका पर्यटन सचिव सुरेश अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । बोर्डका उपाध्यक्ष चन्द्र रिजालले चालु वर्षको बजेट सैद्धान्तिक रुपमा पारित भएको केही विषय मिलाउन मात्रै बाँकी रहेको बताए ।

‘बजेट सैद्धान्तिक रुपमा पारित गर्‍यौं, केही रकम कलम मिलाउनुपर्ने र करेक्सनका काम बाँकी नै रहे,’ उपाध्यक्ष रिजालले भने । उनका अनुसार १ अर्ब १७ करोड रुपैयाँ आयव्ययसहितको बजेट बोर्डमा प्रस्तुत गरिएको थियो ।

बोर्डका अधिकृतहरूले भने यसपटकको बजेटमा बोर्ड सदस्य, सीइओ लगायतले आ–आफ्नो जिल्लामा बजेट केन्द्रित गरेकाले कानुनी रुपमा त्रुटि रहेको कान्तिपुरलाई बताएका छन् । उनले भने, ‘चुनावको मिति घोषणा भइसकेकाले आइतबार बजेट कानुनी आधार नमिल्ने गरी पारित भएको छ । निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेमा आइतबारको बजेट निर्णय कानुनी धरातल कमजोर छ । बजेटमा राजनितिक करण भएको देखिन्छ ।’

बोर्डका एक प्रबन्धकका अनुसार संचालक समितिले गठन गरेको बजेट उपसमितिले चालु वर्ष पर्यटकको संख्या ७ लाख पुग्ने अनुमानका आधारमा १ अर्ब १७ करोड रुपैयाँ आय/व्यय प्रक्षेपणसहितको निति तथा कार्यक्रम मस्यौदा आइतबारको बोर्ड बैठकमा पेस गरेका थिए ।

‘संघ र प्रदेशको चुनावमा आफ्नो दलका नेतालाई खुसी बनाउन बोर्डमा रहेका ती दलका प्रतिनिधिले हचुवाको भरमा पूर्वाधारमा बजेट थुपारेका छन्,’ एक वरिष्ठ अधिकृतले भने, ‘पर्यटन मन्त्रालय, पर्यटन विभाग, स्थानीय तह, प्रदेश सरकार हुँदा हुँदै बोर्डको रकम दुरुपयोग गर्ने गरी बजेट बनाएको देखियो,’ ती अधिकृतले पर्यटकबाट उठाइएको रकमको हालसम्मकै सबैभन्दा बढी दुरुपयोग भएको बताउँदै भने, ‘पर्यटन बोर्डको ऐनले जे गर्नु भनेको छ त्यो कार्यका लागि बजेट छैन यो बोर्डका संचालक समितिका सदस्यहरूले अधिकार दुरुपयोग गरे । बजेटमा गृहकार्य पुगेकै देखिँदैन ।’

कर्मचारीले संचालक समितिलाई चालु वर्षको बजेटले कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेकाले त्यसकै आधारमा बोर्डका कर्मचारीहरूको पनि तलब समायोजन गर्न माग गरेका थिए । उनीहरूलाई अध्यक्ष अधिकारीले ५ हजार रुपैयाँसम्म तलब वृद्धि गरिदिने आश्वासन दिएका थिए । चुनावको आचारसंहिता लागू हुने भएकले पर्यटन बोर्डले शुक्रबार बजेट पारित गर्न बैठक डाकेको थियो । बजेट मस्यौदा संचालक समितिको बैठकमा पेस हुनुअघि नै बाहिरिएको जनाउँदै बोर्ड सदस्यहरूले आपत्ति जनाएपछि शनिबार केही संचालक समितिका सदस्य र सीइओ धनञ्जय रेग्मीले अनौपचारिक बैठक गरेर आइतबार बोर्डमा बजेट पेस गरेका थिए ।

बोर्डले चालु वर्ष नेपालमा ७ लाख पर्यटक आउने प्रक्षेपण गर्दै त्यसबाट प्रति पर्यटक १ हजार रुपैयाँका दरले पर्यटन सेवा शुल्क ७३ करोड संकलन हुने प्रक्षेपण गरेको छ । त्यस्तै ती पर्यटक पदयात्रा जाँदा थप ९ करोड ५८ लाख उठाउने मस्यौदामा उल्लेख गरिएको छ ।

प्रकाशित : आश्विन २, २०७९ २०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×