२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

लुम्बिनी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

लुम्बिनी प्रदेशका ९० हजार २ वर्ष मूनिका बालबालिकामध्ये ६६ हजार ४ सय ६४ जनाले पूर्ण खोप लगाए
अमृता अनमोल

बुटवल — लुम्बिनी पूर्ण खोप सुनिश्चित प्रदेश बनेको छ । ९० प्रतिशतभन्दा धेरै बालबालिकाले पूर्ण खोप लगाएपछि लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिशिचत घोषणा गरिएको हो ।

लुम्बिनी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

शुक्रबार विशेष कार्यक्रम गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता गरिएको हो ।

स्थायी राजधानी दाङको देउखुरीको राप्ती गाउँपालिकामा आयोजित कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चिता घोषणा गरेका हुन् । घोषणासभामा बोल्दै उनले अब सरकारले छुटेका बालबालिकालाई तल्काल पूर्ण खोपको दायरामा ल्याउन र दिगोपनामा काम गर्न सुझाव दिए ।

स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले बालबालिकालाई सरुवा रोगको संक्रमणबाट बचाएर स्वस्थ र निरोगी बनाउन रातदिन अभियानमा खटेर पूर्ण खोप घोषणा गर्न सफल भएको बताए । पूर्ण खोप पाउनु बालअधिकार र खोप दिनु राज्यको दायित्व भएको बताउँदै उनले लुम्बिनी प्रदेशले आफ्नो दायित्व पूरा गरेको उनले जनाए ।

राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभन्दा तलका बालबालिकालाई १३ वटा सरुवा रोगबाट बचाउन विभिन्न खोपहरु लगाउने गरिन्छ । नियमअनुसार ९० प्रतिशतभन्दा धेरै बालबालिकाले खोप लगाएपछि पूर्ण खोप घोषणा गरिन्छ । लुम्बिनी प्रदेशमा करिब ९० हजार २ वर्ष मूनिका बालबालिका छन् । त्यसमध्ये ६६ हजार ४ सय ६४ जनाले पूर्ण खोप लगाएका छन् । ६४ हजारले नियमित खोप केन्द्रबाट खोप लगाएका हुन् भने २ हजार ४ सय ६४ जना बालबालिकालाई विशेष अभियानमार्फत घरदैलो गरेर पूर्ण खोप लगाइएको थियो ।

प्रदेशमा २ हजार ८ सय २२ वटा खोप केन्द्र छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले छुटेका सबै बालबालिकाहरु विशेष अभियानमार्फत वैशाखभित्र खोपको दायरामा ल्याउने बताए । प्रदेशले यसअघि १२ वटै जिल्लालाई पूर्ण खोप घोषणा गरेको थियो । २०७० सालमा देशमै पहिलो पटक पाल्पा र नवलपरासी पश्चिम पूर्ण खोप सुनिश्चित भएका थिए ।

गत वर्ष बर्दिया, कपिलवस्तु र रुकुमपूर्व पूर्ण खोप जिल्ला बनेपछि यस वर्ष प्रदेश घोषणा गरिएको हो । स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले विपन्न, श्रमिक र विकटका बालबालिकालाई पूर्ण खोपको दायरामा ल्याउन स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र अभियानकर्ताहरुले विशेष भूमिकाका कारण पूर्ण खोप सुनिश्चितता गर्न सफल भएको बताए । यसअघि गण्डकी प्रदेश पूर्ण खोप सुनिश्चित भएको छ ।

निर्देशिका अनुसार प्रदेशले गरेको काम र तथ्यांकको अनुगमन गरी पूर्ण खोप सुनिश्चितताका लागि संघीय सरकारले प्रमाणिकरण गर्नुपर्छ । शुक्रबार संघीय स्वास्थ्य विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले प्रमाणिकरण प्रमाणपत्र दिएका थिए ।

घोषणासभामा पूर्ण खोपमा सहयोग गर्ने साझेदार निकाय, १२ वटै जिल्ला समन्वय समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायतलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

प्रकाशित : भाद्र ३१, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?