कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

केन्द्रले बजेट पठाओस्, भारतबाटै मल ल्याउँछौं : प्रदेशमन्त्री रायमाझी

लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री सुमन शर्मा रायमाझीले भनिन्- ‘केन्द्रले मल आफैं खरिद गर्छ । हामीले प्रदेशमै मल किन्न बजेट पठाइदिन अनुरोध गर्दा सुनुवाइ हुँदैन’
ठाकुरसिंह थारु

नेपालगन्ज — लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री सुमन शर्मा रायमाझीले किसानलाई आवश्यक पर्ने रासायनिक मल खरिद गर्ने अधिकार केन्द्रीय सरकारले आफूसँगै राखेका कारण मल अभाव हुने गरेको बताएकी छन् ।

केन्द्रले बजेट पठाओस्, भारतबाटै मल ल्याउँछौं : प्रदेशमन्त्री रायमाझी

उनले मल खरिदका लागि प्रदेश सरकारलाई कुनै अधिकार नरहेको बताइन् । ‘केन्द्रले मल आफैं खरिद गर्छ । हामीले प्रदेशमै मल किन्न बजेट पठाइदिन अनुरोध गर्दा सुनुवाइ हुँदैन,’ शुक्रबार कृषि ज्ञान केन्द्र बाँकेको नवनिर्मित भवन उद्घाटनपछि आयोजित कार्यक्रममा उनले भनिन्,‘खेतीको सिजनमा किसानले मल पाउँदैनन् । हामीले चाहेर पनि मल उपलब्ध गराउन सकेका छैनौं ।’

मन्त्री रायमाझीले मल अभावको समस्या समाधान गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएको तर सुनुवाइ नभएको बताइन् । ‘जति आग्रह गरे पनि सुनवाइ हुन सकेको छैन,’ उनले भनिन् ।

मल अभावकै कारण किसानहरूले मल बिना नै रोपाइँ गर्नु परेको र उनीहरूले सास्ती खेप्नु परेको मन्त्री रायमाझीको भनाइ थियो । तर केन्द्र सरकारले मल किन्ने बजेट प्रदेशलाई पठाए आफूहरूले जहाँबाट पनि जसरी पनि खरिद गरेर किसानलाई वितरण गर्नसक्ने उनले बताएकी थिइन् । उनले भनिन्, ‘केन्द्रले बजेट पठाओस् हामी भारत गएर हुन्छ कि कहाँबाट हुन्छ किनेर किसानलाई उपलब्ध गराउँछौ ।’

कृषि ज्ञान केन्द्र बाँकेको नवनिर्मित भवनको करिब ५ वर्षमा निर्माण सम्पन्न भएपछि उद्घाटनका लागि उनी नेपालगन्ज आएकी थिइन् ।

प्रकाशित : भाद्र ३१, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?