२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पाल्पा कांग्रेस नेता विजयराज घिमिरेको निधन 

माधव अर्याल

पाल्पा — नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा बिहीबार बेलुकी निधन भएको हो । 

पाल्पा कांग्रेस नेता विजयराज घिमिरेको निधन 

२०५६ मा पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार भएका घिमिरे ०७४ सालको निर्वाचनमा उम्मेदवार थिए । कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले घिमिरेको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । घिमिरे युवा अवस्थामै विद्यार्थी र पछि कांग्रेसको राजनीतिमा सक्रिय घिमिरे चार्टड एकाउन्टेन्ट थिए । २०५६ सालमा प्रतिनिधिसभाका उम्मेदवार टंकनाथ काफ्लेको निधन भएपछि घिमिरेले टिकट पाएका थिए ।

रामपुर नगरपालिका–७, भम्बकमा जन्मिएका घिमिरे पछिल्लो समयमा काठमाडौं बस्दै आएका थिए । २०२५ सालमा जन्मिएका घिमिरे ०३६ सालबाट राजनीतिमा सक्रिय थिए । २०३७ सालमा नेविसंघ रामतुल्सी माध्यमिक विद्यालय रामपुर कमिटिमा सचिव थिए । काठमाडौंस्थित अमृत साइन्स क्याम्पसको स्ववियू सदस्य पदमा निर्वाचित भएका थिए ।

२०४४ सालमा कांग्रेस पाल्पाको जिल्ला सदस्य थिए भने २०४६ सालमा नेविसंघको जिल्ला सचिवको जिम्मेवारी लिएका थिए । २०४६ सालमा भएको आन्दोलनको जिल्लाको पूर्वी पाल्पाको कमान्ड गर्दै अग्रमोर्चामा खटिएका थिए । २०४६ सालको जनआन्दोलनमै उनका दाइ सूर्य घिमिरे सहिद भएका थिए । घिमिरे २०४८/०४९ मा कांग्रेसको जिल्ला सचिव, नेविसंघको जिल्ला सचिव र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियू सचिव भएर काम गरेका हुन् । २०५० सालमा चाटर्ड एकाउन्टेन्ट अध्ययन गर्न भारत गएका घिमिरे पढाई सकेर नेपाल फर्केलगत्तै पुनः राजनीतिमा होमिएका हुन् ।

प्रकाशित : भाद्र ३०, २०७९ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?