१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाल दिवसमा बालबालिकालाई बिछ्यौना वितरण

अमृता अनमोल

बुटवल — बालबिज्याइँमा परेका बालबालिकाहरूलाई बिछ्यौना वितरण गर्दै लुम्बिनी प्रदेश सरकारले यस वर्षको बाल दिवस मनाएको छ ।

बाल दिवसमा बालबालिकालाई बिछ्यौना वितरण

५८ औं राष्ट्रिय बाल दिवसका अवसरमा प्रदेशको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भैरहवामा रहेको बाल सुधार गृहमा बिछ्यौना हस्तान्तरण गर्दै उनीहरूलाई कपडा र खाना-खाजा दिएको थियो । बालसुधार गृहमा १५ जना राख्न मिल्ने क्षमताको हो । तर ९३ जना बालबिज्याइँ गरेका बालकहरू सकसपूर्ण तरिकाले बस्न बाध्य छन् ।

सहयोग सामग्री वितरण कार्यक्रममा बोल्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले कानुनको विवादमा परेका बालबालिकामा थोरै भए पनि सहयोग गर्न र हौसला एवं प्रेरणा भर्न आएको बताइन् । उनले बालसुधार केन्द्र प्रदेश मातहतको कार्यालय नहुँदा इच्छा भएर पनि काम गर्न नसकेको बताइन् ।

बालसुधार गृह केन्द्र मातहत भए पनि निर्देशिकामा उल्लेख भए अनुसार सुधार गृहको स्तरोन्नति तीनै तहका सरकारले गर्नुपर्ने उल्लेख छ ।

सचिव दीपक नेपालले लक्षित वर्गमा फाइदा पुगोस् भनेर विगतमा हुने र्‍याली र गोष्ठीको सट्टा सहयोग सामग्री हस्तान्तरण गरेर बाल दिवस मनाएको बताए ।

उनले कानुनले विवादमा परेका बालबालिकालाई उमेर समूह अनुसार प्रविधिमैत्री, मनोरञ्जन दिने खालका कार्यक्रमहरू गर्नुपर्ने आवश्यकता देखेको बताए । सचिव नेपालले स्थानीय सरकारसँग सहकार्य गरेर बाल सुधार गृह अन्यत्र स्थानान्तरण गर्नुपर्ने र शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, माया, अनुकूल वातावरण जस्ता नैसर्गिक अधिकारबाट उनीहरूलाई वञ्चित गर्न नहुने बताए ।

वि.सं. २०७५ सालमा स्थापना भएको सुधार गृह दुई कठ्ठा क्षेत्रफलमा मात्र छ । घरभित्रै गुम्सिएर बस्नुपर्दा धेरैमा स्वास्थ्य समस्या देखिएको बाल संरक्षण अधिकृत सुभद्रा गौतमले बताइन् ।

प्रकाशित : भाद्र २९, २०७९ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?