कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेपालगन्जमा भाइरल ज्वरोको प्रकोप

ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका वडा नं २० नयाँबस्ती र थपुवा गाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँका अधिकांश मानिसहरूमा खोकी लाग्ने र ज्वरो आउने समस्या देखिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

वडाध्यक्ष कौशल धोबीका अनुसार घरघरमा भाइरल ज्वरोको बिरामी रहेका छन् । उनले भाइरल ज्वरोको बिरामी बढेको भन्दै स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखासँग सहयोग मागेको बताए ।

‘वडा नं २० का गाउँमा भाइरल ज्वरो फैलिएको छ । नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूको सहयोग मागेको छौं,’ उनले भने ।

भाइरल ज्वरो फैलिएपछि स्वास्थ्य कार्यालय, बाँके र नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले बुधबार गाउँमा स्वास्थ्य शिविर राखेको छ ।

स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले नयाँबस्ती र थपुवा गाउँका अधिकांश सर्वसाधारणमा ज्वरो, खोकी लागेको बताए । ‘हामी चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण गरेपछि औषधि दिइरहेका छौं,’ उनले भने, ‘प्रकोप फैलिन नदिन नियन्त्रणका लागि प्रयास गरिरहेका छौं ।’

स्वास्थ्य कार्यालय बाँकेकी डेंगु रोग स्रोत व्यक्ति दुर्गा गौतमले ज्वरो लागेका बिरामीहरू स्वास्थ्य परीक्षणका लागि शिविरमा आउने क्रम बढिरहेको बताइन् । उनले स्वास्थ्य परीक्षण गर्ने क्रम जारी रहेको जनाइन् ।

पछिल्लो समय विभिन्न सहरमा डेंगु संक्रमण फैलिन थालेपछि सतर्क रहन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।

प्रकाशित : भाद्र २९, २०७९ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?