बालबालिका अपहरणको हल्लाले त्रास

ध्यान पुर्‍याउन विद्यालयहरूले अभिभावकलाई पठाए पत्र
झूटा प्रचार गर्नेलाई कारबाही गरिने बुटवल उपमहानगरको चेतावनी

लुम्बिनी‚ नेपालगन्ज — लुम्बिनी प्रदेशभर ‘बच्चा चोर’ सक्रिय रहेको हल्लापछि सर्वसाधारणमा त्रास बढेको छ । केही दिनदेखिको अफवाहले अभिभावक र आफन्त सन्तानको रेखदेखमा चनाखो बनेका छन् । विद्यालय र स्थानीय तहले सचेत रहन सूचनासमेत जारी गरेका छन् ।

बालबालिका अपहरणको हल्लाले त्रास

सामाजिक सञ्जालमा ‘बच्चा अपहरण गरेको’ भन्दै तस्बिर र विभिन्न जानकारी सार्वजनिक हुन थालेपछि डर बढेको हो । प्रहरीले यस्ता जानकारी गलत रहेको जनाउँदै भ्रममा नपर्न अनुरोध गरिरहेको छ ।

गत शुक्रबार रूपन्देहीको बुटवलका तीन बालक विद्यालय जाने क्रममा बाटोबाटै हराए । उनीहरू आइतबार भारतको मुम्बईमा फेला परे । बालकले अभिभावकसँग भएको फोन वार्तामा अचेत अवस्थामा त्यहाँ पुर्‍याइएको सुनाएका थिए । अहिले उनीहरूलाई उद्धार गरेर घरमा ल्याइएको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

तिलोत्तमा–६ की अमृता पंगेनीले केही दिनयता कबाडी समान उठाउने निहुँमा धेरै मानिस आएको जानकारी पाएको बताइन् । ‘तीजअघिसम्म कबाड संकलन गर्न यति धेरै मानिस आएको देखेकी थिइनँ । सोमबार बिहान बच्चालाई गाडी चढाउन जाँदा एक जनाले निकैबेर घरतिर घोरिएर हेरिरह्यो,’ उनले भनिन्, ‘उक्त घरमा धेरै बच्चाका चप्पल रहेछन्, उसले तिनै चप्पल नियालेको भान भयो ।’ चोरिने हल्लापछि आफूले एक मिनेट पनि बच्चालाई नजरदेखि टाढा हुन नदिएको उनले सुनाइन् ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सोमबार सूचना प्रकाशित गरेर ‘खुला सिमानाबाट भित्रिएका अपरिचित व्यक्तिले तिलोत्तमा र छिमेकी पालिकाबाट बच्चाहरू अपहरण गरेको भन्ने सामाजिक सञ्जालमा जानकारी सार्वजनिक भएकाले सचेत रहन’ अनुरोध गरेका छन् । यस्ता विषयमा कुनै जानकारी प्राप्त भएमा नगर प्रहरीलाई तुरुन्त खबर गर्न पनि उनले आग्रह गरेका छन् । सातायता बालबालिका अपहरणका विषय सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि सबैजसो विद्यालयले अभिभावकलाई पत्र पठाएर विद्यालय जाने र आउने समयमा ध्यान दिन सचेत गराएका छन् ।

तिलोत्तमा–३ स्थित बुटवल पब्लिक स्कुलका प्रधानाध्यापक हेमलाल शर्माले आफूहरूले हरेक अभिभावकलाई बच्चा लिन सम्बन्धित स्थानमा उभिएको हुनुपर्ने भनी सूचना पठाएको बताए । सवारीमा जाने बालबालिकाका अभिभावक नदेखेसम्म बच्चालाई नछोड्न गाडीका कर्मचारीलाई दुई दिन अभिमुखीकरण कक्षा नै चलाएको उनले बताए । ‘अभिभावक त्रस्त छन्,’ उनले भने, ‘पहिले सामान्य लिइरहेकाहरू पनि अहिले बच्चा लिन, छोड्न आउने गरेका छन् ।’ यस्तो अवस्थाले बाल मानसिकतामा गहिरो असर पर्न सक्ने उनको भनाइ छ ।

सिद्धार्थनगर–७ मा रहेको लिटल बुद्ध इन्टरनेसनल मन्टेश्वरी स्कुलका प्रधानाध्यापक उर्मिला सिलवाल अहिलेको अवस्थाले विद्यार्थीमा पारेको मानसिक असर देखेर चिन्ता लागेको बताउँछिन् । ‘हाम्रोमा हिँडेर धेरै बच्चा आउन्नन्,’ उनले भनिन्, ‘तर, गेटमा अहिले तीन जना कर्मचारी खटाएर बच्चालाई अभिभावकको जिम्मा लगाउने गरेका छौं ।’ प्रत्यक्ष रूपमा नदेखे पनि सञ्जालका खबरले विद्यालयमा आउने बच्चाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने स्थिति रहेको उनको भनाइ छ ।

बच्चा चोरको हल्ला अफवाह मात्रै भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । ‘हामीले सूचना नै जारी गरेर यो हल्ला भएको जानकारी गराएका छौं,’ उनले भने, ‘साँच्चै त्यसो भएको भए हामीकहाँ उजुरी, निवेदन आउनुपर्थ्यो ।’ कतै शंकास्पद गतिविधि भएको देखे वा पाइएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरी जानकारी गराउन अनुरोध गरिएको उनले बताए । मिर्गौला बेच्ने उद्देश्यसहित बच्चा चोर्ने गिरोह सक्रिय रहेको खबर बजारमा चले पनि यसमा कुनै सत्यता नरहेको प्रवक्ता अर्यालको भनाइ छ । बाँकेको नेपालगन्ज–४ गणेशपुरकी सुमित्रा पन्थीले बच्चा चोरिएको हल्लाले छोरालाई बाहिर जान नदिएको बताइन् । उनका १० वर्षीय छोरा अहिले ५ कक्षामा पढ्छन् ।

स्कुलबाट फर्किएर दिनभरिजसो बाहिर खेल्न जाने छोरालाई केही दिनदेखि बाहिर खेल्न नपठाएको उनले बताइन् । सातायता पश्चिमको बाँके र बर्दियाका साथै दाङ र रूपन्देही क्षेत्रमा बालबालिका अपहरणका विषय सामाजिक सञ्जालमा आएपछि विद्यार्थी र अभिभावकमा तनाव बढेको हो । ‘आइतबार मात्र छोरा हरायो भन्दै अभिभावक आत्तिएर स्कुल पुग्नुभएको थियो । छोरा त कक्षाकोठामा पढिरहेका थिए,’ नेपालगन्ज उपमहानगरपालिकास्थित धम्बोजी माविका प्रधानाध्यापक डम्बर सुवेदीले भने, ‘हल्लैहल्लाले सबैलाई तनाव बढाएको छ ।’

सामाजिक सञ्जालमा बच्चाहरूको सजिलै पहुँच हुने भएकाले पनि बच्चा र अभिभावकमा डरको मनोविज्ञानले ठाउँ लिएको अधिकारकर्मी ऋचा लुइँटेलले बताइन् । ‘हल्लाको पछि लाग्नुभन्दा सतर्कताका लागि आफ्ना बच्चालाई सचेत गराउन आवश्यक छ,’ उनले भनिन्, ‘आफ्ना छोराछोरीलाई डर देखाउनुभन्दा सचेत बनाउनुहोस् ।’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जिल्लामा अहिलेसम्म कुनै पनि बच्चा हराएको सूचना नआएको बताए ।

उपमहानगरको ध्यानाकर्षण

बुटवल उपमहानगरले केही दिनदेखि बालबालिका अपहरणका घटना भन्दै सामाजिक सञ्जालमा फैलिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । उपमहानगरले मंगलबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा फैलिएका कुरा अफवाह भएको बताउँदै झूटा प्रचार गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ ।

‘सामाजिक सञ्जालमा व्यापक रूपमा फैलाइएको विद्यार्थी अपहरणसम्बन्धी दिग्भ्रमित गराउने खालका झूटा प्रचारलाई आधार मानी यस बुटवल उपमहानगरपालिकाअन्तर्गतका केही विद्यालयले समेत सूचना प्रकाशित गरेको हुँदा यसप्रति उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा जनाइएको छ । उपमहानगरले कुनै घटना जानकारीमा नआएको हुँदा त्यस्ता भ्रामक सूचना, तस्बिर र भिडियोका पछाडि नलाग्नसमेत अनुरोध छ । यदि, त्यस्ता अपराधसम्बन्धी कुनै सूचना प्राप्त भएमा प्रशासन, प्रहरी कार्यालय र पालिकामा जानकारी गराउन अनुरोध गरेको छ ।

विज्ञप्तिमा उपमहानगरअन्तर्गतका विद्यालयले स्पष्ट आधार, प्रमाण र अनुमतिबिना अभिभावक तथा विद्यार्थीलाई दिग्भ्रमित गराउने सूचना सम्प्रेषण गरेको भन्दै त्यस्ता विद्यालयलाई प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत जानकारी गराएको छ ।

प्रकाशित : भाद्र २९, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?