सिकलसेल अस्पताल निर्माण सुरु

नेपालगन्ज — पश्चिम तराईका थारु समुदायमा महामारीका रूपमा देखिएको सिकलसेल (एनेमिया) रोगको उपचारका लागि अगुवाहरूले बाँकेको जानकी गाउँपालिकामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण अभियान थालेका छन् । बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुरका अगुवाहरूले आर्थिक संकलन गरी केन्द्र स्थापनामा जुटेका हुन् ।

एनेमियापीडित बिरामीको उपचारका लागि घरखेत बिक्री गर्नुपर्ने बाध्यता हटाउन र सहज रूपले उपचार गर्न केन्द्रको स्थापना गर्न थालिएको हो । एनेमिया पीडितहरूको उपचार हाल नेपालगन्जस्थित भेरी अस्पतालमा हुने गरेको छ । तर, उनीहरूले सहज रूपमा सेवा पाउन सकेका छैनन् । दाङको थारु स्वास्थ्यकर्मी संघको अगुवाइमा ६ जिल्लाका अगुवाहरूलाई एकजुट पारेर अभियान सुरु गरिएको हो । केन्द्र स्थापनाका लागि नेपालगन्जसँग जोडिएको जानकी गाउँपालिका–३ मा जग्गा खरिद गरी केन्द्रको बिहीबार शिलान्यास गरिएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफ अनुसन्धान प्रयोगशालाले पछिल्लोपल्ट गरेको अनुसन्धानमा समयमै सावधानी नअपनाए मुलुकले ठूलो क्षति बेहोर्नु पर्ने चेतावनी दिएको छ । उसले पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटेरोजाइगोस ट्रेट पाइएको जनाएको छ । उक्त अनुसन्धानले ०६८ को थारु समुदायको जनसंख्यालाई आधार मान्दै ३ लाख बढी व्यक्तिमा सिकलसेल रोगको गुण पाइएको जनाएको हो । त्यस्तै, समयमै डीएनए परीक्षण गरी जेनेटिक परामर्शको व्यवस्था नगर्ने हो भने मुलुकले ठूलो क्षति बेहोर्नु पर्ने उसले चेतावनी दिएको छ ।

प्रकाशित : भाद्र २८, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?