तरकारीबाटै आत्मनिर्भर

सातामा ४ दिन लाग्ने हाटमा करिब २ हजार क्विन्टल तरकारी बिक्री, बजारको समस्या नहुने भएपछि किसानलाई उत्पादन र बिक्रीमा भ्याइनभ्याई
काशीराम डाँगी

रोल्पा — साताको ४ दिन पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका–४ बूढागाउँस्थित सिमपानी र निगालपानीमा किसानको भीड लाग्छ । आफ्ना उत्पादन बेच्न करिब ३ सय किसानको मेला नै लाग्छ । हाट बजारमा ताजा र सस्तोमा पाइने भएपछि व्यापारी पनि उल्लेख्य हुन्छन् । 

तरकारीबाटै आत्मनिर्भर

त्रिवेणीका बूढागाउँ, सिमपानी, चक्री, घर्तीगाउँ, निगालपानी, नुवागाउँ, लिङदुङ, जुगार, जावल, छाप, छेप, गैरीगाउँ, दुम्लालगायतका गाउँबाट तरकारी बोकेर किसानहरू हाटबजारसम्म आउँछन् । निगालपानीमा आइतबार र बुधबार तथा सिमपानीमा सोमबार र बिहीबार हाटबजार लाग्छ । सामान्यतया चैतदेखि सुरु हुने तरकारी व्यापार मंसिरसम्मै चल्छ ।

सिमपानीमा रानीबजु कृषि तरकारी सहकारीले र निगालपानीमा मंगल ज्योति ताजा तरकारी संकलन केन्द्रले हाटबजार चलाउँदै आएको छ । यी दुवै हाटबजारमा गरी सातामा करिब ६ सय किसानले आफ्नो उत्पादन बेच्ने गरेका छन् ।

यहाँ उत्पादित बन्दा, काउली, धनियाँ, सिमी, खुर्सानी, मुला, केराउ, गाजर, आलु, टमाटरको बिक्री वितरण गर्न हाटबजारले सजिलो बनाएको किसानहरू बताउँछन् । २०६४ सालदेखि तरकारी खेती गर्दै आएका चक्री गाउँका ३१ वर्षका विमल घर्तीमगरले किसानले उत्पादन गरेका तरकारी र उत्पादनलाई बजारसम्म लैजान हाटबजारले निकै फाइदा पुगेको बताए । ‘तरकारी उत्पादन गर्नु मेरो मुख्य पेसा भएको छ । हरेक दिन बिहानैदेखि साँझसम्म म बारीमै रमाउँछु,’ विमलले भने, ‘छिमेकीले खेती गरेको देखेर मैले तरकारी खेती गर्न सिकेको हुँ । अब यही मेरो पेसा भयो ।’

उनका थुप्रै साथीहरू कोरिया, जापान, युरोप र खाडी मुलुकमा कमाउन पुगेका छन् तर विमललाई तरकारी बारीमै रमाइलो लाग्छ । बारीमा नभेटिएका दिन उनी हाटबजारमा भेटिन्छन् । जहाँ उनलाई तरकारी बेच्न भ्याइनभ्याई हुन्छ । गाउँका करिब ३ सय परिवारजस्तै उनी पनि तरकारी उत्पादनमै रमाएका छन् ।

सिमपानी नजिकैको घर्तीगाउँका खड्कबहादुर वलीलाई पनि तरकारी खेतीको काम गर्न सधैं हतार हुन्छ । ‘तरकारी जति उत्पादन गरे पनि बिक्री भइहाल्छ । पैसा कमाउन टाढा जानै पर्दैन,’ उनले भने । ३६ वर्षका उनी पनि हरेक पटक हाट पुग्छन् र आफ्ना उत्पादन बिक्री गर्छन् । उनले एक मौसममा २ लाखदेखि ५ लाख रुपैयाँसम्म तरकारी बिक्रीबाट कमाइरहेको बताए । ‘मिहिनेत गर्ने हो भने तरकारी खेती गर्नु उचित छ । विदेशसम्म काम खोज्दै जानु आवश्यक छैन,’ उनले भने । सुरुमा ५ रोपनीबाट सुरु गरेका उनले अहिले १० रोपनीमा तरकारी खेती गर्दै आएका छन् ।

सामाजिक अभियानमा समेत लागेका सिमपानीका वकिलबहादुर पुनले पनि तरकारी खेती गर्छन् । सामाजिक सञ्जाल र सकारात्मक प्रवचनमा सक्रियता जनाउने उनी आफ्ना उत्पादन लिएर हाटसम्म पुग्छन् । ‘किसानलाई हाटबजार आयोजना गर्नाले निकै सजिलो भएको छ । किसानलाई कसरी बढी उत्पादन गर्ने भन्ने मात्रै चिन्ता छ । उत्पादन लिन व्यापारी घरघरमै पनि आउने गरेका छन्,’ उनले भने ।

कुनै बेला अन्न उत्पादन कम हुने सिमपानी र निगालपानी आसपासका गाउँहरू यतिबेला तरकारी उत्पादनको पकेट क्षेत्र बनेका छन् । यहाँ उत्पादित तरकारी दाङ हुँदै बाँके, धनगढी, बुटवल, चितवन, कृष्णनगरसम्म पुर्‍याइन्छ । व्यापारीहरू गाडी लिएर तरकारी लैजान आइपुग्छन् । यस क्षेत्रमा २०५० सालदेखि व्यावसायिक तरकारी खेती गर्न थालिएको हो । वर्षौंअघि चक्री गाउँका भक्ति भनिने भीमबहादुर घर्तीमगरले तरकारी खेतीको सुरुआत गरेको स्थानीयको भनाइ छ । अहिले भीमबहादुरका छोरा र नातिहरूले खेतीलाई निरन्तरता दिइरहेका छन् । उनले भारतको सिम्ला र हिमाचल पुगेर तरकारी खेती गर्न सिकेको बताइन्छ ।

हाल यी गाउँका करिब ५ सय परिवार खेतीमा आश्रित रहेको अनुमान छ । त्रिवेणी गाउँपालिकाका पूर्वअध्यक्ष शान्तकुमार वलीले किसानलाई आत्मनिर्भर बनाउने नीति बनाएकाले सजिलो भएको सुनाए । साताको ४ दिन लाग्ने हाटबजारमा करिब २ हजार क्विन्टल तरकारी बिक्री हुने गरेको उनले बताए । मेला लाग्ने दिनमा त्यहाँ राखिएका ८ वटा ठूला काँटामा तरकारी तौलन पालै नपाउने वकिलले अनुभव सुनाए ।

उनका अनुसार वर्षायाममा प्रशस्त तरकारी उत्पादन हुने भए पनि सिँचाइ अभावका कारण हिउँदमा खाद्यान्न र लसुनको खेती हुँदै आएको छ । गाउँपालिकाले तरकारीमा लाग्ने रोग पत्ता लगाउन प्राविधिक सहयोग गरेमा सहज हुने विमल बताउँछन् । त्यस क्षेत्रमा स्मार्ट कृषिसम्बन्धी कार्यक्रम चले पनि आवश्यक सहयोगको अभाव रहेको उनको गुनासो छ । तरकारी खेती पर्याप्त हुने भएपछि यस क्षेत्रका किसान आत्मनिर्भर बनेका छन् । विदेश जानुपर्ने, जागिर खोज्नु पर्ने र सस्तो ज्यालामा अर्काको काम गर्नुपर्ने अवस्थाबाट उनीहरू मुक्त भएका छन् ।

प्रकाशित : भाद्र २६, २०७९ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?