१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

वडाध्यक्षलाई पालिकाको जिम्मा

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा उपाध्यक्षलाई बेवास्ता गर्दै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ३ सातायता पालिका अध्यक्ष बैजुप्रसाद गुप्ता कार्यालयमा उपस्थित भएका छैनन् ।

वडाध्यक्षलाई पालिकाको जिम्मा

उनको अनुपस्थितिमा कार्यपालिका बैठकमा उपस्थित बहुमत सदस्यले वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भने गाउँपालिका अध्यक्ष लगातार एक सातासम्म कार्यालय उपस्थित नभए उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने उल्लेख छ ।

लागूऔषध मुद्दामा २ भारतीयलाई नियतवश फसाएको आरोपमा अनुसन्धानका लागि गुप्तालाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनी सम्पर्कविहीन छन् । पालिका अध्यक्ष उपस्थित नभएपछि कार्यपालिका बैठकको बहुमतले वडा–१ का अध्यक्ष चुल्हाईप्रसाद यादवलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । उक्त निर्णयमा उपाध्यक्ष फातुमा खातुन अन्सारीले फरक मत राखेकी छन् ।

‘उपाध्यक्षलाई कार्यवाहक नदिएर वडाध्यक्षलाई दिइएको छ । यो जालसाजीपूर्ण काम हो । स्थानीय तहमा प्रतिपक्ष नहुने भन्ने संवैधानिक मान्यताविरुद्ध यस्तो काम गरिएको छ,’ उनले भनिन् ।

प्रमुख प्रशासकीय अधिकृत श्री गौतमले कार्यपालिकाले गरेको निर्णय मन्त्रालयमा पठाइएको र मन्त्रालयले भनेअनुसार नै आगामी कार्यसम्पादन गर्ने बताए । ‘कार्यपालिकाको बहुमतले निर्णय गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा पनि स्पष्ट उल्लेख नभएको हुँदा मन्त्रालयमा लेखेर पठाएका हौं,’ उनले भने, ‘आगामी दिनमा मन्त्रालयले पठाउने निर्देशनअनुसार नै काम हुनेछ ।’

प्रकाशित : भाद्र २६, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?