आमनिर्वाचन २०७९

उम्मेदवार नटुंगिँदै राई र राणा प्रचारप्रसारमा

मतदातालाई आफ्नो पक्षमा आकर्षण गर्न शिलान्यास, उद्घाटनदेखि घरदैलोसम्म गर्दै
ठाकुरसिंह थारु

नेपालगन्ज — उम्मेदवारको टुंगो नलाग्दै बाँकेको निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनावी प्रचारमा होमिएका छन् । जसपाका लुम्बिनी प्रदेश संयोजक तथा भौतिक योजना तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरका निवर्तमान प्रमुख धवलशमशेर राणा उम्मेदवारको टुंगो नलाग्दै निर्वाचनमा होमिएका हुन् ।

उम्मेदवार नटुंगिँदै राई र राणा प्रचारप्रसारमा

मंसिर ४ मा हुने संघीय निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं. २ मा राई र राणाले आफू उम्मेदवार बन्ने दाबी गरिरहेका छन् । सोही अनुरूप उनीहरू आफ्नो पक्षमा निर्वाचन परिणाम ल्याउन मैदानमा उत्रिइसकेका हुन् । विभिन्न दलका असन्तुष्ट कार्यकर्तालाई फूलमाला लगाएर पार्टी प्रवेश गराइरहेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा उनीहरूले टोलटोलका कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।

सत्तारुढ गठबन्धन दलमध्येको कांग्रेसले पनि उक्त निर्वाचन क्षेत्रबाट कांग्रेस बाँकेकी पूर्वसभापति किरण कोइरालालगायतको नाम सिफारिस गरेको छ । तर, मन्त्री राई भने गठबन्धनबाट आफूले उम्मेदवारी पाउनेमा ढुक्क छन् । मन्त्री राईले चुनावमा मतदाता आकर्षित गर्न अहिले सडक, पुललगायतका भौतिक संरचना निर्माण गर्ने भन्दै धमाधम विकास योजनाका कामहरू शिलान्यास गरिरहेका छन् । सोमबार मात्रै उनले डुडुवा गाउँपालिकामा ६ वटा साना पुलको शिलान्यास गरे । त्यसअघि, राप्ती नदीमा नयाँ पुल निर्माण, आकासे पुल, चारलेन सडक स्तरोन्नतिको शिलान्यास गरिसकेका छन् । उनले नेपालगन्जस्थित भेरी अस्पतालको परिसरमा रहेको रेडक्रसका लागि नयाँ भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने वचन पनि दिएका छन् ।

‘मेरो उद्देश्य भनेकै बाँकेको विकासमा लक्षित छ । तर, चुनाव आएपछि धर्मको मुद्दा उठाइएको छ,’ उनले भने, ‘निर्वाचनमा धर्मको मुद्दा होइन, विकासको मुद्दालाई प्राथमिकता दिनुपर्छ ।’ मन्त्री राई टोलटोलमै पुगेर मतदातालाई भेट्दै आफूले गरेको विकासका कामहरूबारे जानकारी दिइरहेका छन् । उनले सामूहिक रूपमा मात्रै नभई व्यक्तिगत ढंगले घरघरमै पुगेर पनि मतदातासँग मत मागिरहेका छन् ।

उता राणा पनि टोलटोलमा हुने कार्यक्रममा सहभागी हुँदै मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् । उनले बुधबार एकै दिन आधा दर्जनभन्दा बढी कार्यक्रममा सहभागिता जनाए । राणा बुधबार दिउँसो डुडुवा गाउँपालिका–४ पुगेर मतदातासँग छलफल गरिरहेका थिए । त्यसको केही समयअघि उनले नेपाल शिवसेना बाँकेका अध्यक्ष मदनराज शर्मालाई पार्टी प्रवेश गराएका थिए । टोल भेला र केही समूहलाई पनि सम्बोधन गरे । पारदर्शिताको छबि बनाएका राणालाई मतदाताले सहयोगी नेताका रूपमा चिन्छन् । उनी नगर प्रमुख हुँदा आफूले पाउने पारिश्रमिक र भत्ता विपन्न व्यक्ति तथा विभिन्न संघसंस्थालाई सहयोग गरेका थिए । ‘म भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिन्ना । आजको आवश्यकता भनेको मुलुकलाई भ्रष्टाचारबाट जोगाउनु हो,’ उनले भने, ‘मुलुकमा सुशासन छैन । भ्रष्टाचार बढेको छ । त्यसलाई नियन्त्रण गर्न जनताले सही व्यक्तिलाई भोट दिनुपर्छ ।’

उक्त निर्वाचन क्षेत्रबाट मन्त्री राई २०६४ र २०७० को निर्वाचनमा दुईपल्ट संघीय सांसदमा विजयी भइसकेका छन् । त्यस्तै, राणा २०४८ र २०७४ को स्थानीय तह निर्वाचनमा नेपालगन्जको प्रमुख भइसकेका छन् । २०७४ कै प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नं. २ मा मधेसी जनअधिकार फोरमबाट मन्त्री राईले २१ हजार ५ सय ७५ मत ल्याएर विजयी भएका थिए । एमालेका पशुपतिदयाल मिश्रले १५ हजार ९ सय ५१ र राप्रपाका ओमप्रकाश आजादले ११ हजार ६ सय २२ मत पाएका थिए ।


प्रकाशित : भाद्र २३, २०७९ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?