कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिजाइन समस्याले पुल अलपत्र

पाँच वर्ष बित्दा दुईवटा पिलर मात्रै तयार
शमशेरविक्रम जीसी

प्यूठान — पुल निर्माण थालेको पाँच वर्ष बितिसक्दा पनि झिमरुक नदीको वारिपारि दुईवटा पिलरमात्रै ठडिएका छन् । यस अवधिमा थप काम भएको छैन । ऐरावती गाउँपालिकाको झिवाङमा २०७४ मा निर्माण सुरु भएको पुलको अहिलेसम्म १० प्रतिशतमात्रै काम सकिएको हो ।
नदीमा पुल नहुँदा वर्षायाममा गाउँ सडक सञ्जालसँग विच्छेद हुने गरेको ऐरावती–५ झिवाङका रामबहादुर रोका क्षत्रीले बताए ।

‘प्राविधिक कुरा हामीलाई थाहा भएन, समस्या छ भन्ने सुनेका छौं,’ उनले भने, ‘जे समस्या भए पनि समाधान गरेर पुल समयमै सम्पन्न गर्नुपर्ने हो ।’ समयमै पुल निर्माणको काम नहुँदा आफूहरूलाई समस्या भइरहेको स्थानीय सुनाउँछन् । पुल अभावमा यातायातका साधन चल्न सकेका छैनन् । १२ करोड २४ लाख ५९ हजार ७ सय ७४ रुपैयाँमा पुलको ठेक्का सम्झौता भएको थियो । सपना जयबागेश्वरी जेभीले निर्माणको ठेक्का पाएको हो ।

११ करोड ७९ लाख ८० हजार ६ सय ४१ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको बरौला–अर्लावाङ जोड्ने पक्की पुल पनि सम्झौता भएको मितिले दुई वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । यहाँ पनि ठेकेदार कम्पनीले डिजाइन अनुसारको पुल निर्माण गर्न नसकिने बताउँदै आएको छ । सपना जयबागेश्वरी जेभीका प्रतिनिधि वीरेन्द्र शाहीले पुलको डिजाइनमै समस्या रहेको बताए । दुईवटै पुलमा पाइल फान्डेसनमार्फत निर्माण गर्ने सम्झौता भएको हो । तर, उक्त स्थानमा पाइल फाउन्डेसनमा पुल बनाउन सकिने अवस्था छैन । उनका अनुसार पुल निर्माण गर्ने स्थानमा कडा खालको चट्टान हुँदा समस्या भएको हो । ठेकेदार कम्पनीले झिवाङ र बरौलाका दुवै पुलको पुनः स्टिमेटका लागि सडक डिभिजन कार्यालयमा निवेदन दिएका छन् । ‘डिजाइन पुनरावलोकनका लागि निवेदन दिएको र भनेअनुसार काम भए पुरानै सम्झौतामा पुल निर्माण गर्न हामी तयार छौं,’ ठेकेदार कम्पनीका प्रतिनिधि शाहीले भने ।

१२ करोड १० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको रोल्पाको सुलिचौर र प्यूठानको सारी जोड्ने पुल पनि डिजाइन समस्याकै कारण अलपत्र परेको छ । माडी नदीमा पुल नहुँदा सारी गाउँसँगको सम्पर्क वर्षाको समयमा टुट्ने गरेको छ । नदीको बीचमा चट्टान भएकाले पाइल फाउन्डेसनमार्फत काम गर्न नसकिने भन्दै डिजाइन पुनरावलोकनका लागि ठेकेदार कम्पनीले सडक डिभिजन कार्यालयमा निवेदन दिएको सडक डिभिजन कार्यालय प्यूठानका सव इन्जिनियर कृष्णकेशव सुवेदीले बताए । ‘प्यूठानका तीनवटा पुलको डिजाइन पुनरावलोकनका लागि कार्यालयमा निवेदन परेको छ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेर ती निवेदन प्रदेश हुँदै केन्द्रमा पठाएका छौं ।’

प्राविधिक समस्याकै कारण पुलको निर्माण कार्य रोकिएको उनले बताए । डिजाइन बनाउने बेलामा यहाँको भूगोल सुहाउँदो डिजाइन नभएको तर्क उनले गरे । ‘ठेकेदार, कार्यालय र विभागको गल्ती भन्न मिल्दैन,’ सव इन्जिनियर सुवेदीले भने, ‘डिजाइन बनाउने कन्सल्ट्यान्टको हेलचेक्र्याइँले समस्या आएको हो ।’ डिजाइन समस्याकै कारण झिमरुक गाउँपालिकाको ढाडा तुषारा–स्याउलीघारीमा निर्माणाधीन पुल पनि लामो समय अलपत्र परेको थियो । पछि डिजाइन परिवर्तन गरेर पठाएपछि काम सम्पन्न भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

प्रकाशित : भाद्र २३, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?