१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पाल्पामा बढे डेंगुका बिरामी

माधव अर्याल

पाल्पा — पाल्पामा एक सातामा २३ जना डेंगुका बिरामी थपिएका छन् । अघिल्ला वर्षभन्दा यस वर्ष डेंगुका बिरामी अत्यधिक बढेको अस्पतालहरुले जनाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भदौ १३ अघिसम्म २७ जना रहेकामा मंगलबार ५० जनामा डेंगु संक्रमण पुष्टि भएको हो । 

पाल्पामा बढे डेंगुका बिरामी

युनाइटेड मिसन अस्पतालमा १० र लुम्बिनी मेडिकल कलेजमा १३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा भने २७ जनामा डेंगु पुष्टि भएको थियो । २०७७/७८ मा भने जिल्लामा एक जना पनि डेंगुका बिरामी थिएनन् ।

चालु आर्थिक वर्षको दुई महिना नपुग्दै संक्रमण बढेर ४७ जना पुगेको हो । जलवायु परिवर्तनका कारण पहाडमा समेत यसको प्रकोप बढ्दै गएको ल्याब टेक्निसियन मधुसुधन भट्टराईले बताए । उनका अनुसार घर वरपर पानी जम्मा हुने स्थानलाई सफाई गरी सुरक्षित राख्नुपर्छ । तर यसका लागि आवश्यक किट भने सेवाग्राहीले नि:शुल्क पाउन सकेका छैनन् ।

सरकारी सेवा सुविधा पाइने पाल्पा र रामपुर अस्पतालमा यसको परीक्षण नै नहुँदा सेवाग्राहीले महँगो शुल्क तिरेर अन्यत्र अस्पताल पुग्नु परेको गुनासो गर्दै आएका छन् । भदौ, असोज र कात्तिक महिनामा डेंगु संक्रमण अझै बढ्न सक्छ । तर स्वास्थ्य कार्यालयमा पत्ता लगाउने किट भने अभाव छ ।

बिरामीले महंगो शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था छ । विभिन्न प्रकारका रगतसहित डेंगु र कोभिड परीक्षण गर्नुपर्दा कम्तीमा ५ हजार खर्च हुने सेवाग्राहीको गुनासो छ । बिरामीमा ज्वरो (१०२ फरेनहाइट बढी) आउने, घाँटी दुख्ने, आँखाको नानी दुख्ने, ज्यान, जोर्नी दुख्ने भएपछि अस्पतालहरुले कोभिड र डेंगु दुवै जाँच गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : भाद्र २१, २०७९ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?