कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कार्यालय उद्घाटन, सञ्चालनको टुंगो छैन

जे पाण्डे

नेपालगन्ज, बाँके — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, मन्त्रालयका सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागका महानिर्देशक नै आएर उद्घाटन गरेको नापी र मालपोत कार्यालय पूर्वाधार र कर्मचारी अभावमा सञ्चालन हुन सकेका छैनन् । निर्वाचन केन्द्रित भएर भौतिक पूर्वाधार र जनशक्तिबिनै कार्यालय उद्घाटन गरिएकाले सञ्चालन हुन नसकेका हुन् ।

कार्यालय उद्घाटन, सञ्चालनको टुंगो छैन

केही दिनअघि कार्यालय खोज्दै पुगेका सेवाग्राही रित्तो र जीर्ण भवन देखेपछि आश्चर्य मान्दै फर्किए । ‘दुईवटा साइनबोर्ड झुन्ड्याइएको थियो । दुईवटा कोठा पनि रित्तै थिए । कतै कर्मचारी भेटिएनन् । कोठामा बस्ने कुर्सी पनि थिएनन्,’ राप्तीसोनारीका मनीराम यादवले भने, ‘त्यहाँ त टेबल र दराजको त कुरै नगरौं, ओत लाग्ने उपयुक्त ठाउँसमेत देखिएन ।’

भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्री शशी श्रेष्ठ दुईवटा साइनबोर्ड राख्न काठमाडौंबाट जहाजमा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नापी र भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देश प्रकाश जोशी र पीताम्बर घिमिरेसहित दलबलका साथ आइतबार बाँकेको कोहलपुर आइपुगेकी थिइन् ।

उपसचिव स्तरका प्रमुख रहने नापीमा र मालपोतमा ५५ जना कर्मचारीको दरबन्दी तोकिएको छ । नापी र मालपोतलाई कोहलपुर नगरपालिका, राप्तीसोनारी र वैजनाथसहित तीन पालिकाको क्षेत्राधिकार तोकिएको छ । उद्घाटनमा पुगेका मन्त्री, सांसद, सचिव र महानिर्देशकले सेवा सञ्चालन गर्ने दिन निश्चित गरेका छैनन् । सबैको एउटै भनाइ थियो, ‘यथाशीघ्र सञ्चालन गरिनेछ ।’ उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले जनतालाई कसरी सहज तरिकाले सेवा दिन सकिन्छ भन्नेबारे सरकार लागिपरेको बताइन् ।

उद्घाटनमा पुगेका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मालपोत र नापी कार्यालय देखाउनका लागि मात्रै नभई काम गर्न उद्घाटन गरिएको दाबी गरे । ‘उद्घाटन गर्नु भनेको सञ्चालन गर्नु हो,’ उनले भने, ‘यसका लागि विभागीय मन्त्रीले सबै चाँजोपाँजो मिलाउनुहुन्छ ।’ कोहलपुरका नगरप्रमुख पूर्ण आचार्यले भने दुवै कार्यालयमा बजेट र जनशक्ति अभाव हुन नदिन आग्रह गरे । नापी कार्यालय, बाँकेका प्रमुख सहदेव सुवेदीले बजेटसँगै दरबन्दी सुनिश्चितको प्रक्रियामा रहेको बताए । उद्घाटन कार्यक्रममा मालपोत कार्यालय प्रमुख छविलाल नेपालीले स्रोत, साधन र जनशक्तिको तत्काल व्यवस्था गरिदिन आग्रह गरे ।

प्रकाशित : भाद्र २१, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?