१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

समाजवादीका २ केन्द्रीय सदस्यसहितका नेताहरू एमालेमा प्रवेश

गगनशिला खड्का

गुल्मी — गुल्मीमा नेकपा एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यसहितको नेतृत्व नेकपा (एमाले) मा प्रवेश गरेका छन् । सोमबार सदरमुकाम तम्घासस्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एकता घोषणा गर्दै समाजवादीका केन्द्रीय सदस्य गणेश खनाल र नरेश भण्डारीसहितका नेताहरू एमालेमा प्रवेश गरेका हुन् ।

समाजवादीका २ केन्द्रीय सदस्यसहितका नेताहरू एमालेमा प्रवेश

खनाल समाजवादीको गुल्मी जिल्ला इन्चार्ज थिए भने भण्डारी अध्यक्ष थिए । त्यस्तै समाजवादीका प्रदेश कमिटी सदस्य हिमाल थापा, जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य मदनदीप घिमिरे, हरि कुंवर, विष्णुप्रसाद भण्डारी, छत्रकोट गाउँ कमिटी अध्यक्ष यमबहादुर खत्री, युवा संघका गुल्मीका अध्यक्ष रामुजंग कँडेल, विद्यार्थीका गुल्मी अध्यक्ष निलकण्ठ पाण्डे लगायत पनि प्रवेश गरेको भण्डारीले जानकारी गराएका थिए ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दिनेश पन्थी र अध्यक्ष बालसिंह काउछा तथा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीले पार्टी एकताको घोषणासहित संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

कार्यक्रममा खनालले नेकपा एमालेसहितको सरकार बन्यो भने मात्रै राष्ट्रिय स्वाधीनताका पक्षमा काम हुन्छ भन्ने लागेर आफूहरूले एकताको घोषाणा गरेको बताए । ‘हामीले हिजो एमाले सिध्याउन विद्रोह गरेका थिएनौं’, उनले भने, ‘आगामी मंसिर ४ गते हुने चुनावलाई केन्द्रमा राखेर अर्को विद्रोह गर्‍यौं र राष्ट्रिय स्वाधीनताका लागि हामीले पार्टी एकता गर्‍यौं ।’

त्यस्तै भण्डारीले गत स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारहरू पराजित हुँदा आफू रोएको स्मरण गरे । उनले आफ्नो नेतृत्वले नेपाली कांग्रेसलाई शक्तिमा लैजाने गम्भीर गल्ती गरेकोले आफूहरू पुनः एमालेमा फर्किएको बताए ।

तर, नेकपा एकीकृत समाजवादी गुल्मीले भने विज्ञप्ति निकालेर खनाल र भण्डारीलाई कारबाहीको घोषणा गरेको छ । केन्द्रीय सदस्य तथा जिल्ला सह–ईन्चार्ज गणेश विश्वकर्मा, उपाध्यक्षहरू चन्द्र सुनार र राममल्ल ठकुरीले विज्ञप्ति जारी गरी ती दुई व्यक्ति बाहेक सिंगो पार्टी एकताबद्ध रहेको जनाएका छन् ।

‘दुई जना व्यक्तिलाई र्टीका लगाएर एमाले पार्टी प्रवेश गरेको विषयलाई एकताको घोषणा जस्तो नाटक गरिनु खेदजनक छ’, विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित : भाद्र २०, २०७९ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?