२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

उम्मेदवार सिफारिस गर्न अलमलमा ठूला दल

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिसका लागि ठूला दल अलमलमा परेका छन् । साना दल र मधेश केन्द्रित दलहरु बैठक बसेर आपसी छलफलमा व्यस्त भएपनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले शीर्ष नेताबीच गठबन्धनमा भागबण्डा नमिलेको भन्दै केन्द्रको भागबण्डा कुरेर बसेका छन् ।

उम्मेदवार सिफारिस गर्न अलमलमा ठूला दल

नेपाली कांग्रेस आपसी गुटको झगडामा अलमलिएको छ । केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य विक्रम खनालबीचको गुटको चर्को खिचातानीले एक अर्कालाई कारबाही गर्ने काममा व्यस्त छन् । नेपाली कांग्रेस पश्चिम नवलपरासीको प्रतिनिधिसभा–२ का सभापति माधवप्रसाद पाण्डेलाई पार्टीको हित विपरीत काम गरेको भन्दै जिल्ला सभापति अर्जुनकुमार पोखरेलले निलम्बन गरेर यामप्रसाद भुषाललाई कार्यवाहक सभापतिको पत्र दिएपछि देवेन्द्रराज पक्ष असन्तुष्ट बनेको हो ।

पोखरेलको विज्ञप्ति आएको भोलिपल्ट नै भदौ १६ गते कँडेल पक्षका प्रदेश समितिका पदाधिकारीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै पार्टी सभापतिले गुटगत काम गरेको र चुनावको मुखमा पार्टीको गतिविधि विवादित बनाएको भन्दै विरोध गरेका थिए । ‘चुनावको समयमा पार्टीलाई चलायमान बनाउनुपर्नेमा पार्टीकै हित विपरीत काम गरेकाले पाण्डेलाई निलम्बन गरिएको हो । यसमा कुनै गुट र व्यक्तिको कुरा होइन', जिल्ला सभापति पोखरेलले भने, ‘अब आगामी चुनावमा उम्मेदवार हुन चाहनेले पार्टीको क्षेत्रीय समितिमा नाम टिपाउने र त्यसलाई प्राथमिकताको आधारमा प्रदेश र केन्द्रमा सिफारिस गर्ने काम गर्ने छौं ।’

जिल्ला सभापतिले निलम्बित गरेका क्षेत्रीय सभापति माधवप्रसाद पाण्डेले संघ र प्रदेशको चुनावमा देवेन्द्रराज कँडेल पक्षका उम्मेदवार सिफारिस नगर्ने प्रपञ्च रचेर विधान विपरीत जिल्ला सभापतिले आफूलाई कारबाही गरेको दाबी गरे । ‘स्थानीय तहको चुनावमा आफू पक्षीय कार्यकर्ताले टिकट नपाएको भन्दै अहिले चुनावको मुखमा कारबाहीको नाटक गरिएको छ’, पाण्डेले भने, ‘यसले आगमी चुनावमा पनि असर गर्ने निश्चित छ ।’

नेकपा एमालले पश्चिम नवलपरासीले आन्तरिक छलफलमा रहेको र केही दिनमा नै उम्मेदवार सिफारिस गर्ने जनाएको छ । संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरेर आगामी २० गते जिल्ला कमीटीको बैठक राखेको सचिव धिरज शर्मा बस्यालले बताए । सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले उम्मेद्वारको नाम सिफारिस गरेको अध्यक्ष धरेन्द्र यादवले बताए । जिल्ला कमिटीको बैठकको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट मुन्नालाल गुप्ता र नगेन्द्र गिरिको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट रामबच्चन यादव र वीरेन्द्र चौधरीको नाम सिफारिस गरिएको छ । प्रदेशतर्फ पनि दुई–दुई जनाको नाम पार्टीको प्रदेश समितिमा सिफारिस गरेको छ ।

प्रकाशित : भाद्र १९, २०७९ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?